
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनपछि बन्द रहेका देशभरका १६४ फिल्म हल सोमबारदेखि स्थानीय सुरक्षा निकायलाई जानकारी दिएर सर्तसहित संचालनमा आउने भएका छन्।
- चलचित्र संघले हल संचालनमा दर्शक र हलको सुरक्षामा ध्यान दिँदै राती १० बजेभित्र हल बन्द गर्ने निर्णय गरेको छ।
- हल संचालनमा आएपछि रिमै, बागी ४, कोशेढुंगा, मोहर लगायतका फिल्म प्रदर्शन हुनेछन् र केही विदेशी फिल्म रिलिजको तयारी छ।
काठमाडौं । जेनजी आन्दोलनको कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि संचालनमा आउने भएका छन् ।
आइतबार बसेको चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सिनेमा घर संचालनमा ल्याउने निर्णय गरेको हो ।
तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरस्थित क्यूएफएक्सको हलबाहेकका अन्य १६४ वटै हल संचालनमा आउनेछन् ।
केही सर्तसहित हल खोल्न लागिएको संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले जनाए । उनका अनुसार स्थानीय सुरक्षा निकायलाई जानकारी दिएर हल संचालन हुनेछन् ।
रात्रीकालिन शोलाई समेत कडाइ गरिने भएको छ । राती १० बजेभित्र हल बन्द गर्ने गरि हल संचालन गर्न लागिएको समेत प्रवक्ता थापाले जनाए ।
हल संचालनमा आएसँगै यसअघिदेखि नै प्रदर्शनरत फिल्महरू रिमै, बागी ४, कोशेढुंगा, मोहर लगायतका फिल्म प्रदर्शन हुनेछन् । यसबाहेक केही विदेशी फिल्म समेत रिलिजको तयारी छ ।
सोमबारदेखि हल खुल्ने भएपछि हल संचालक सरसफाइमा जुटेका छन् । चलचित्र संघका अनुसार २४ भदौमा बिराटनगरस्थित क्यूएफएक्स, बुटवलस्थित क्यूएफएक्स, गोंगबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्यूएफएक्साम क्षति पुगेको छ ।
भ्रष्टाचार र बेथितीविरुद्ध जेनजीले २३ भदौमा देशभर प्रदर्शन सुरु गरेका थिए । थुप्रै हताहत हुने गरी सरकारले दमन गरेपछि भोलिपल्ट समेत प्रदर्शन भयो । उक्त प्रदर्शनमा सरकारी र व्यवसायिक संरचनामा आगजानी र तोडफोड गरिएको थियो ।
प्रतिक्रिया 4