Comments Add Comment

आक्कल झुक्कल देखिने ठुडे गिद्धको कथा

Photo Credit : अंकित बिलास जोशी र केवलप्रसाद चौधरी

नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्ध नेपालमै गुँड बनाएर बच्चा कोरल्ने रैथाने प्रजाति हुन् । राज गिद्ध हिउँदे आगन्तुक, खैरो गिद्ध हिउँदे बटुवा र लामो ठुडे गिद्ध नेपालको लागि फिरन्ते प्रजाति हुन् ।

मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाई प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ । करिब डेढ दशक अघिसम्म तपाई हाम्रो गाउँ टोलमा पनि सयौंको संख्यामा सिनोमा लुछाचुँडी गरिरहेका गिद्ध सहजै भेटिन्थे । तर आज ती दृश्य दुर्लभ भएका छन् र यत्रतत्र सर्वत्र पाइने गिद्धहरु जीवन अस्तित्व समाप्तिको किनारामा छन् ।

सन् १९९० को दशकमा दक्षिण एशियामा करोडौं र नेपालमा लाखौको संख्यामा पाइने गिद्ध ९५ प्रतिशत भन्दा बढीले घट्नुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो । यसप्रकारको अकल्पनीय र अप्राकृतिक विनाशका कारण सानो खैरो, डंगर, लामो ठुडे र सुन गिद्ध अति सङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका छन् । अति सङ्ककटापन्न प्रजाती आउने १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत हुन्छ ।

सन् २०११ मा नेपालमै पहिलो पटक नवलपरासीको कावासोती पिठौलीमा रहेको विश्वकै नमुना समुदायस्तरको जटायु (गिद्ध) रेष्टुरेन्ट क्षेत्रमा देखिएको फिरन्ते लामो ठुडे गिद्धको प्रजाती करिब आठ वर्षपछि पुन उक्त क्षेत्रमा दोस्रोपटक देखिएको छ । गत जनवरी महिनाको २५ तारेख (२०७५ माघ ११) का दिन नेपाल पन्छी संरक्षण संघको गिद्ध संरक्षण कार्यक्रमको टिम मलगायत अंकित बिलास जोशी, देउबहादुर राना, ईश्वरीप्रसाद चौधरी र केवलप्रसाद चौधरी त्यस क्षेत्रमा गिद्धको अनुगमन गरिरहेका थियौं ।

सानो खैरो गिद्धजस्तै देखिने यस लामो ठुडे गिद्धलाई सुरुमा त हामीहरुले त्यही नै ठान्यौं तर ध्यानपूर्वक केही समय यसको अवलोकन गरेपछि फरक खुट्याउन सक्यौं । नेपालमा पाइने नौ प्रजातिका गिद्ध मध्ये आठ प्रजातिका गिद्ध एकै दिन एकै ठाउँमा अवलोकन गरेको त्यो दिन मेरो जीवन र गिद्ध अनुसन्धान र संरक्षणमा क्रियाशील विगत दश वर्षकै अविस्मरणीय दिन हो । अर्को दिन चराविद डीबी चौधरीसँग पनि यसको अवलोकन गर्‍यौं ।

मुलत भारतमा प्रजनन गर्ने यस लामो ठुडे गिद्धको पिठौलीबाट सबैभन्दा नजिकको बासस्थान करिब ५७० किमी टाढा मध्यप्रदेश, भारतमा पर्दछ । लामो ठुडे गिद्ध मध्य प्रदेश र उत्तर प्रदेशमा अवस्थित यसको नजिकका बासस्थान क्षेत्रबाट यहाँ आएको अनुमान गरिएको छ ।

त्यसयताको करिब एक महिनाको अवधीमा लामो ठुडे गिद्ध नौ पटक यस क्षेत्रमा अन्य प्रजातिका गिद्धसँग सिनोमा लुछाचुडी गरिरहेको भेटियो जसको अनुगमन तथा अन्य प्रजातिसँगको अन्तरसम्बन्ध अध्ययन गरिएको छ । आशा छ, आक्कल झुक्कल देखिने यो विश्वमै दुर्लभ लामो ठुडे गिद्ध आगामी दिनमा पनि देखिने छ र तपाई हामी सबैको साझा प्रयासले गिद्ध संरक्षणमा सफलता हासील गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment