Comments Add Comment

फोरमले सम्हालेका दुवै मन्त्रालयका सचिव तानिए

७ कात्तिक, काठमाडौं । संघीय समाजवादी फोरमले सम्हालेका दुवै मन्त्रालयका सचिव प्रधानमन्त्री कार्यालयमा तानिएका छन् ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा.पुष्पा चौधरी र शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएका हुन् ।

स्रोतका अनुसार स्वास्थ्यमन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री इस्तियाक राईकै आग्रहमा दुवै सचिवलाई सरुवा गरिएको हो । मन्त्रिपरिषद बैठक नबसी उनीहरुलाई कारवाहीको शैलीमा प्रधानमन्त्री कार्यालयमा तानिएको आरोप लगाइएको छ ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले सचिव चौधरीलाई हटाउन लामो समयदेखि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । आफू पनि मधेसी मूलकै सचिव भएकाले मन्त्रीले हटाउन नसक्ने भन्दै चौधरीले बलमिच्याईं गरेको यादव निकट स्रोतले जनाएको छ ।

चौधरीको ठाउँमा स्वास्थ्य मन्त्रालयकै १२ औं तहका चिकित्सक सुशीलनाथ प्याकुरेललाई सचिवको जिम्मेवारी दिइएको छ । शहरी विकास मन्त्रालयको सचिवमा रमेश सिंह सरुवा भएका छन् । नेपाल ट्रष्टको कार्यालयमा सचिव रहेका सिंह शहरी विकास विज्ञ मानिन्छन् । दुबै सचिवले बुधबारदेखि जिम्मेवारी सम्हालेका छन् ।

प्रधानमन्त्री कार्यालयमा तानिएका शर्मा र चौधरीलाई भने कुनै जिम्मेवारी दिइएको छैन । चौधरीमाथि ठेक्का पट्टामा अनियमित ढंगले निर्णय गरेको आरोपसमेत लागेकाले छानविन हुने भएको छ । शर्मा भने आर्थिक मामिलामा विवादमा नपरेका प्रशासक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment