Comments Add Comment

पहिलो विशेष आर्थिक क्षेत्रमा खुल्न थाले उद्योग

८ कात्तिक, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकास्थित नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना हुने क्रम शुरु भएको छ ।

उद्योग स्थापनाका लागि उद्योगीहरुले भू–बहाल शुल्क बुझाएसँगै उद्योग स्थापनाका लागि उद्योगीहरु भौतिक पूर्वाधार निर्माणमा जुटेका हुन् । विशेष आर्थिक क्षेत्र प्राधिकरणले उद्योग सञ्चालनका लागि अनुमति लिएका २४ मध्ये १८ उद्योगले सञ्चालनका लागि काम शुरु गरेका छन् ।

भू–बहाल शुल्क बुझाएका उद्योगमध्ये केही पूर्वाधार निर्माणमै जुटेका छन् । अन्यले तत्कालै काम सुरु गर्ने प्राधिकरणका प्रवक्ता सुन्दर थापाले जानकारी दिए ।

उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण गर्दै गरेको शक्ति मिनरल्स उद्योग ३ महिनाभित्र सञ्चालनमा आउने थापाले बताए । आगामी दुई वर्षभित्र सेज भित्रका सम्पूर्ण उद्योग सञ्चालनमा आउने उनको दावी छ ।

सम्झौता गरेका उद्योगहरुले पूर्वाधार निर्माणको डिजाइन गर्न शुरु गरेको थापाले बताए । सेजमा उद्योगको पूर्वाधार निर्माणका लागि आवश्यक विद्युतसमेत प्रबन्ध मिलाइएकाले पूर्वाधार निर्माणमा ढिलाइ नहुने उनको भनाइ छ ।

सेजमा पूर्वाधार निर्माणको लागि एक मेगावट विद्युत् आवश्यक रहे पनि हाल ६ मेगावाट विद्युत् उपलब्ध रहेको थापाले जानकारी दिए । सेजमा स्थापना हुने उद्योगका लागि आवश्यक पर्ने विद्युत तथा सरकारी तवरबाट बनाउनुपर्ने संरचना निर्माण तत्काल शुरु गर्नुपर्ने सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष कुलप्रसाद न्यौपानेको आग्रह छ ।

सरकारी पक्षले सेजमा निर्माण गर्नुपर्ने कर प्रशासन, विद्यालय, बाल उद्यानलगायतका संरचना निर्माण थाले उद्योगी व्यवसायीले पनि उद्योगका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने न्यौपानेले बताए ।

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १ बगाहामा ५२ विगाहा क्षेत्रफलमा फैलिएको सेजमा १४ सय देखि ३७ सय वर्गमिटर सम्मका ६९ वटा प्लट छन् । विशेष आर्थिक क्षेत्र नेपाल सरकारले देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका सामानहरु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्नको लागि ल्याएको नीतिअन्र्तगत गरिएको व्यवस्था हो ।

यस क्षेत्रमा स्थापना हुने उद्योगहरुको लागि प्रारम्भिक आधारभूत विकास निर्माण काम नेपाल सरकारले नै निर्माण गर्छ । यो क्षेत्रमा स्थापना भएका जुनसुकै उद्योगले आफ्नो उत्पादनका ७५ प्रतिशत सामान विदेश निर्यात गर्नुपर्छ । सेजमा विशेष गरी खाद्य तथा कृषि जन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोशाक, गलैंचा तथा ऊनी सामान, रेशम, हाते कागजका वस्तु गरी १७ किसिमका उद्योगहरु रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment