९ कात्तिक, नयाँदिल्ली । भारतमा सरकारविरुद्ध गरेको प्रदर्शनीमा कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् ।
सीबीआईका प्रमुख आलोक बर्मालाई हटाउने सरकारको निर्णयको विरोधमा सीबीआईको मुख्यालय अगाडि धर्नामा बसेका राहुललाई प्रहरीले पक्राउ गरेको हो ।
दिल्लीमा प्रदर्शनको नेतृत्व गर्दै पार्टी अध्यक्ष राहुल गान्धीले सीबीआईको मुख्यालय अगाडि धर्नापछि राहुलले सांकेतिक गिरफ्तारी दिएका हुन् । लोधी रोडस्थित प्रहरी चौकीमा एक घन्टा बसेपछि उनी रिहा भए ।
प्रहरी चौकीबाट रिहा भएपछि उनले भने, ‘प्रधानमन्त्री भाग्न सक्छन्, लुक्न सक्छन् तर, आखिरमा सत्य अगाडि आउने छ ।’
बर्मालाई हटाउनुमा मोदीको हात रहेको आरोप लगाउँदै राहुलले सीबीआई विवाद ५८ हजार करोड भारुमा ३६ वटा लडाकु विमान खरिद गर्ने राफेल सम्झौतासँग जोडिएको बताए । भारतीय कांग्रेसले उक्त सम्झौतामा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै आएको छ ।
अध्यक्ष गान्धीका अनुसार सीबीआई प्रमुख बर्माले राफेल सम्झौताको बारेमा छानबिन गर्न खोजेको कारण मोदी सरकारले उनलाई हटाएको आरोप लगाए ।
प्रदर्शनमा कांग्रेसका अन्य वरिष्ठ नेताहरु अशोक गहलोत, अहमद पटेल, मोतीलाल वोरा, बिरप्पा मोइली र आनन्द शर्माले पनि भाग लिएका थिए ।
त्यस्तै लोकतान्त्रिक जनता दलका नेता शरद यादव, भारतीय कम्युनिष्ट पार्टीका डी राजा तृणमुल कांग्रेसका नदिमुल हक पनि प्रदर्शनमा सहभागी थिए ।
प्रतिक्रिया 4