Comments Add Comment

बैंक भन्छ–नआत्तिनोस्, व्यवसायी भन्छन्–समस्या पर्‍याे

१२ कात्तिक, काठमाडौं । दशैं सकिएलगत्तै बैंकहरुमा तरलता सम्बन्धी समस्याका कारण लगानीयोग्य पुँजीको अभाव देखिएको छ । दशैं अगाडि धेरै कर्जा लगानी भएको र बैंकमा भएको निक्षेप निकालिएका कारण बैंकिङ क्षेत्रमा तरलता देखिएको हो ।

यस वर्ष पनि बैंकहरुमा लगानीयोग्य रकम अभावको चर्चा चलिरहँदा बैंकहरु भने बाहिर हल्ला भएजस्तो तरलता अभाव नभएको दाबी गर्छन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तरलता अभाव नभई अभाव भएको हल्ला चलेको बताउँछन् ।

वर्तमान अवस्थामा बाहिर हल्ला भए जस्तो तरलता अभाव नभएको बैंकर शेरचनको दाबी छ ।

एकातर्फ दशैं अगाडि बजारमा गएको रकम बैंकिङ च्यानलमा आउन समय लाग्ने गरेको छ भने अर्कोतर्फ दशैंका समयमा विलासिताका साधनहरुमा खर्च गर्दासमेत यस्तो समस्या आउने गरेको बैंकिङ विज्ञहरु बताउँछन् ।

तर, बैंकहरुले समस्या नरहेको दाबी गरिरहे पनि उपभोक्ताहरु चाहिँ पर्याप्त कर्जा नपाएको गुनासो गरिरहेका छन् ।

कर्जा माग्न आएकालाई फर्काएका छैनौं– ढुंगाना

बाहिर हल्ला भएजस्तो बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव नरहेको नेपाल बैंकर संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले अनलाइनखबरलाई बताए । केही बैंकहरुमा थोरै समस्या देखिएको भने अध्यक्ष ढुंगानाले स्वीकार गरे । तर, केही बैंकमा थोरै समस्या देखिएकै भरमा सबै बैंकमा तरलता अभाव भएको भन्न नमिल्ने उनी बताउँछन् ।

‘चाडबाडका बेला रकम बाहिर गएकाले एक/दुईवटा बैंकहरुमा सीसीडीको चाप देखिएको हो’ अनलाइनखबरसँगको कुराकानीमा ढुंगानाले भने, ‘यसकै भरमा बैंकहरुमा लगानी गर्ने रकम नै छैन भन्नु गलत हो ।’

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका ढुंगानाले रकम लिन आएका कसैलाई पनि रित्तो हात नफर्काएको बताए । उनले भने, ‘ठूलो अर्बौं रकम भनेको अलग कुरा हो, नभए कर्जा लिन आएका कसैलाई पनि बैंकले रोकेका छैनन् ।’

बैंकहरु ब्याजमा लोभिएः श्रेष्ठ

बैंकर्सहरुले कर्जा प्रवाहमा समस्या नभएको दाबी गरिरहँदा उद्योगी व्यवसायीहरुको तर्क चाहिँ अलि भिन्नैखालको पाइएको छ ।

बैंकहरु धेरै ब्याज कमाउनेतिर लाग्दा तरलताको समस्या उत्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको तर्क छ । ब्याजको लोभमा बैंकहरुले अनुत्पादक क्षेत्रमा धेरै लगानी गरेको र त्यसले यस्तो समस्या उत्पन्न भएको उपाध्यक्ष श्रेष्ठको दाबी छ ।

‘अलिकति तरलता हुनेवित्तिकै बैंकहरु एग्रेसिभ भएर कर्जा लगानी गर्छन्’ उनले भने, ‘मुख्य कुरा भनेको उत्पादनशील क्षेत्रमा जबसम्म लगानी बढाइँदैन, तबसम्म यस्तो समस्या आउँछ ।’

उपाध्यक्ष श्रेष्ठले विलासिताका साधनमा लगानी धेरै भएको भन्दै यसमा नेपाल राष्ट्र बैंकको ध्यान जान जरुरी रहेको बताए ।

उनले बैंकमा यतिबेला तरलता अभाव नै भएको दाबीसमेत गरे । उनले भने, ‘मैले केही साथीहरुबाट बुझेको छु, स्वीकृत भइसकेको कर्जासमेत अलि पछि÷तिहार पछि बैंकहरुले भन्ने गरेका छन् ।’ सीसीडी रेसियो औसतमा २ प्रतिशतमात्रै बाँकी रहेको भन्दै तरलता अभाव छैन भन्न नमिल्ने उनले बताए ।

उत्पादनशील क्षेत्रमा लगानी बढाउन सरकार अझै गम्भीर नहुने हो भने ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन नसकिने दाबीसमेत उनले गरे ।

बैंकको संख्या धेरै भयो !

अहिले मुलुकमा २८ वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् । यस बाहेक विकास बैंक, फाइनान्स कम्पनी, माइक्रोफाइनान्सको संख्या पनि ठूलै छ । अझ वित्तीय कारोबार नै गर्ने सहकारी संस्थाहरुको संख्या त ३५ हजार बढी छ ।

यतिका धेरै बैंक तथा वित्तीय संस्थाहरु मुलुकलाई आवश्यक नरहेको विज्ञहरु बताउँछन् । बैंकको संख्या अधीक हुनु र पुँजी कम हुनु पनि तरलता समस्याको एक महत्वपूर्ण कारक भएको बैंकिङ विज्ञहरु बताउँछन् ।

बैंकको संख्या घटाउनैपर्ने र पुँजीसमेत ८ अर्ब रुपैयाँले नपुग्ने पूर्बबैंकर अनलराज भट्टराईको तर्क छ

राष्ट्र बैंकले बैंकको संख्या बढाउन शतप्रतिशत पुँजी वृद्धि गरेर छोटो समयमा पुर्‍याउन निर्देशन दिने हो भने पुँजी पनि बढ्ने र बैंकको संख्यासमेत घट्ने भट्टराईको भनाइ छ ।

महासंघ उपाध्यक्ष श्रेष्ठको धारणा पनि भट्टराईसँग मिल्छ । नेपालजस्तो मुलुकमा यति धेरै बैंकहरु नचाहिने र पुँजी पनि १६ अर्ब रुपैयाँभन्दा बढी हुनुपर्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment