Comments Add Comment

मष्तिष्कघातबारे बुझ्नुपर्ने केही कुरा

पछिल्लो समयमा मष्तिष्कघात बढ्दो छ । बिश्व मष्तिष्कघात दिवसमा यो वर्ष मष्तिष्कघातले निम्त्याउने अपाङ्गता अर्थात पक्षघात पछि हुने कमजोरी र त्यसबेला बिरामीलाई चाहिने स्याहार सुसार, पारिवारिक सहयोग र पुनर्स्थापनालार्इ जोड दिइएको छ ।

मष्तिष्कघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त संचालनमा अवरोध वा नसा फुटेर रक्तश्राव  भइ स्नायुको काममा खलल पुग्नगई शरिरको कुनै भागमा कमजोरी देखिनुलाई जनाउँछ । मष्तिष्कघातबारे साधारण जनचेतनाका लागि BE FAST- Campaign  तयार गरिएको छ, जसले गर्दा आम जनमानसमा यसको चाँडो पहिचान भई समयमै अस्पतालपुर्‍याएको अवस्थामा यसले निम्त्याउने दुरगामी असरलाई न्यूनिकरण गर्न सकिन्छ ।

के हो BE FAST ?

B- Balance शारिरिक सन्तुलनमा अचानक गडबड भएमा  E-Eye Sight आँखा कमजोर भएमा F-Facial Drooping अनुहार बाङ्गिएमा A-Arm Dulling हात वा गोडामा कमजोरी  S-Speech बोली लरबरिएमा मष्तिष्कघात भएको हुनसक्छ । यी मध्ये कुनैपनि लक्षण कुनै ब्यक्तिमा देखिएमा (T-Time) समयमा नै अर्थात लक्षण देखिएको साढे चारघण्टा भित्र अस्पताल पुर्याउनुपर्छ । यसरी समयमा अस्पताल पुर्‍याउन सकिए नसामा हुने अवरोध खुलाउने औषधि क्लट बस्टर प्रयोग गर्ने वा थ्रम्बोलाइसिस गर्ने औषधि दिएर मष्तिष्कघातले निम्त्याउने नकारात्मक प्रभाव न्यूनिकरण गर्न सकिन्छ ।

त्यसैगरी  कुनैपनि छोटो समयको कमजोरी, जसलाई मिनी स्ट्रोक   भनिन्छ । यस किसिमका बिरामीहरुलाई पनि समयमै अस्पताल पुर्‍याउन सकिये र  समयमै कारण पत्ता लगाएर उपचार शुरु गर्न सकिएमा समस्या बढेर मष्तिष्कघात र पक्षाघातहुने अवस्थाबाट जोगाउन सकिन्छ ।

हरेक बर्ष एक करोड ४० लाख बढी मानिस मष्तिष्कघातबाट प्रभाबित हुने गरेका छन् । संसारभर पाँच करोड भन्दा बढी मानिस मष्तिष्कघातबाट प्रभावित रहेको तथ्याङ्क रहेको छ भने त्यसमध्ये ६० लाख मानिसहरुको मृत्यु हुने गरेको समेत तथ्याङ्कले देखाएको छ । यस हिसावले हेर्दा हरेक दुइ सेकेन्डमा एकजना मानिसलाई मष्तिष्कघात हुन्छ र हरेक १० सेकेन्डमा मष्तिष्कघातले एकजनाको ज्यान जाने गरेको छ ।

सक्रिय जिवन बिताइरहेका र कुनैपनि उमेरमा हुनसक्ने हुनाले मष्तिष्कघातले परिवार र ब्यक्तिमा पर्ने आर्थिक भार मानसिक चिन्ता र दुरगमी असरलाई हामीले मनन गर्नु आवश्यक हुन्छ । बि.सं. २०३५ सालको प्रक्षेपित आँकडालाई अनुमान गर्ने हो भने अहिलेको भन्दा २० बर्षपछि मष्तिष्कघातबाट प्रभावित हुने मानिसहरुको संख्या दुइ गुणा बढ्ने आंकलन गरिएको छ र यस कुराले हामीलाई थप शशंकित बनाएको छ । हामीले सचेत भएर समयमै मष्तिष्कघातबाट बच्ने उपाए अपनाएनौं भने यसले बिकराल रुप लिने निश्चित छ ।

पक्षघातबाट बच्नका लागि र यसको जोखिमलाई न्युनिकरण गर्न हामीले यसका जोखिम तत्वहरुलाई समयमै पहिचान गरी रोक्नु आवश्यक देखिन्छ । सामान्यतः यसको जोखिम बढाउने कारणहरुमध्ये उच्च रक्तचाप, मधुमेह, शरिरमा अत्यधिक बोसोको मात्रा, मोटोपना, धुमपान, मद्यपान, बिलासिलापूर्ण जिवनशैली र आलस्य, मुटुको चालमा गडबडी आदि प्रमुख कारणहरु हुन् भन्ने हालसालै गरिएको एक अध्ययनले देखाएको छ । अध्ययनका क्रममा विभिन्न १० जोखिम तत्वहरुले हरेक १० बटा मष्तिष्कघातका बिरामी मध्ये ९ जनामा माथिका कारणहरु रहेको देखाएको थियो ।

नेपालको परिप्रेक्षमा तथ्याङ्कको कमी भएपनि हरेक बर्ष एकलाख मानिस मष्तिष्कघातबाट प्रभावित हुने अनुमान छ ।

नेपालमा मष्तिष्कघातका बिरामीहरुमाथि भएका केहि अध्ययनहरुले ६० देखि ७० प्रतिशत रक्तनलीमा हुने अवरोधका कारण पाइएको छ । यो तथ्य अन्य बिकसित देशहरुको तथ्य भन्दा बिल्कुलै फरक छ किनभने  बिकसित देशहरुमा रक्तश्रावका कारण हुने मष्तिष्कघात उच्च रक्तचाप नियन्त्रणमा राखेका कारण धेरै कम भइसकेको छ ।

हाम्रो जस्तो बिकासोन्मुख देशहरुमा मानिसहरुले रक्तचाप नियन्त्रण गर्ने औषधिहरु समयमा सेवन नगर्ने र रोग अनि औषधिबारे चेतना नभएका कारण मष्तिष्कमा रक्तश्रवा भइ हुने मष्तिष्कघात तुलनात्मक रुपमा बढी छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वका दुर्इ तिहाइ मष्तिष्कघातका बिरामीहरु अल्पविकसीत तथा विकासोन्मुख देशहरुमा मात्र छन् ।

यस्तैगरी मष्तिष्कघात पछि हुने कमजोरी बिश्वमा नै अपाड्गताको दोश्रो ठुलो कारणको रुपमा  ।  मष्तिष्कघातपछि दुइतिहार्इ मानिसहरुमा अशक्तता देखिन्छ भने एक तिहाइमा नैराश्यता देखिन्छ, जसले गर्दा उनीहरु पहिलेको जस्तै जिवनयापन गर्न असमर्थ हुन्छन् । मष्तिष्कघात धेरैजसो मानिसहरुमा ६० बर्षपछि देखिए पनि एक चौथाइ मानिस भने सक्रिय जीवन बिताइरहेका बेला मष्तिष्कघात हुन्छ ।

त्यसैले हामीले यदि समयमै उच्च रक्तचापलाई नियन्त्रण गरेनौं, समयमै मधुमेहको पहिचान र उपचार गरेनौं, समयमा मोटोपना र तौल नियन्त्रण गरेनौं,  शरिरको रगतमा भएको कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा राखेनौं, धुमपान मद्यपान गर्यौं भने, मुटुको चालको गडबडीलाई पहिचान गरी नियन्त्रण गरेनौं र अनुशासित जीवन शैली र जीवन पद्धति अपनाएनौं भने मष्तिष्कघात हुने जोखिम बढेर जान्छ ।

चिकित्सकको परामर्शमा रगत पातलो गर्ने औषधि सेवन गर्ने हो भने हामीले ४० प्रतिशत ढि मष्तिष्कघातलाई नियन्त्रण गर्न सक्छौं ।

मष्तिष्कघातबाट बच्न खानेकुरामा चिल्लो कम गर्ने, मोनो स्याचुरेटेड फ्याट तथा पोली स्याचुरेटेड फ्याट भएका खानेकुराहरुको सेवन गर्नुपर्छ । मोनो स्याचुरेटेड फ्याट तथा पोली स्याचुरेटेड फ्याट शरिरका लागि राम्रो मानिन्छन् । माछा, बदाम र एभोकाडोमा यस्तो फ्याट पाइन्छ र

फास्ट फुड तथा तारेका खानेकुरामा ट्रान्स फ्याट हुन्छ, जो मानव शरिरका लागि हानिकारक मानिन्छ । यस्ता स्याचुरेटेड फ्याट डेरी प्रोडक्ट तथा मासुमा बढी हुन्छ । यस किसिमका खानेकुरालाई कम गर्ने हो भने पनि धेरै हदसम्म मष्तिष्कघातको जोखिमबाट बच्न सकिन्छ ।

यस्तै उच्च रक्तचापले मष्तिष्कघातको जोखिम तीन गुणा, मधुमेहले दुर्इ गुणा, धुमपानले दुइगुणा, अनियमित मुटुको धड्कनले पाँचगुणा  र मद्यपानले १.६ गुणा बढाउँछ ।

मष्तिष्कघातपछि पुनस्थापना अझ महत्वपूर्ण छ । बिरामीलार्इ स्याहार सुरसार, खानपानमात्र होइन, परिवार, समाज र हरेक ब्यक्तिले माया अनि ढाडस दिनु आवश्यक छ ।

समयमा सचेत भएर स्वास्थ्य जाँच गर्ने र रोग लाग्न नदिने तथा रोग लागिसकेको अवस्थामा त्यसले गर्ने दुरगामी र दीर्घकालीन असरहरुलाई न्यूनिकरण गर्नुपर्ने हुन्छ । बिरामीको बाच्न पाउने अधिकार , मष्तिष्कघातपछि  राज्य, परिवारजन तथा आफन्तजनबाट मायाँ स्याहार र साथ पाउने अधिकार पनि छुटाउन नमिल्ने पाटो हुन् ।

(पौडेल, ग्रान्डी अस्पतालका कन्सल्ट्यान्ट न्युरोलोजिस्ट हुन्)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment