१५ कात्तिक , राबाङला (सिक्किम) । समुद्री सतहभन्दा २१ सय मिटर उचाइमा रहेको छो जो तालमा रातको ठीक आठ बजे स्पीकरहरु चर्को आवाजका साथ घन्किए । चिसो परिवेश अचानक न्यानो भयो ।
तल मैदानमा अटाइ नअटाइ हजारौंको भीँड छँदै थियो । ताललाई घेर्ने वरपरका ढिस्काहरुबाट पनि थप सयौं आँखा र कानहरु मञ्चतिर सोझिए । नेपाली लोक रक ब्याण्ड नेपथ्यको निम्ति यो अरूबेला भन्दा बेग्लै भेन्यू थियो । त्यहीँ कलाकारहरु मञ्चमा आउनेबित्तिकै बज्न सुरु भयो–
‘कुरुप अनुहार हो
यहाँ कोही साथी छैन’
सिक्किममा हरेकजसो शब्दको पछाडि ‘ला’ जोडेर सम्मान प्रकट गर्ने परम्परा छ । त्यसैले चल्तीको नाम राबाङ भएता पनि यस बस्तीलाई सबैले राबांङला भनेर पुकार्छन् ।
हिमाली भेगको यो उच्च भूभागमा बौद्ध परम्पराको स्वाद दिने गरि अनेक पर्यटकीय आकर्षणहरु विकास गरिएका छन् । त्यसैलाई प्रबर्धन गर्न आयोजना गरिएको हो ‘राबांग छो जो फेस्ट’।
लामो समयदेखि वर्षेनी आयोजना हुँदैआएको यहि उत्सवमा यसपटक नेपाली लोकरक ब्याण्ड नेपथ्यलाई निम्त्याइएको थियो ।
कार्यक्रम ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरि जाउँला’ हुँदै ‘आँगनैभरि हिउँ नै झरे’ तिर लम्कँदै थियो । दर्शकहरुको हुलमा देखापरिन् ७० वर्षीया रमा लामा ।
राबाङभन्दा सात किलोमिटर पर पर्ने रायाङलाबाट उनी बुहारीसँग आएकी थिइन् । मञ्चमा गाइरहेका को हुन् र कहाँबाट आएका हुन् भन्ने केहि थाहा नभएता पनि यी कलाकारहरुले आफुहरुकै भाका निकालेर गाइरहेको देख्दा रमाइलो लागेको उनले सुनाइन् । ‘यो लोकगीत हो जस्तो लाग्छ,’ प्रश्न सोध्दा निकैबेर लाज मानेपछि बल्ल आवाज निकाल्दै उनले भनिन्, ‘बुहारीले जाऊँ भनेपछि आएको । रमाइलै लागिरहेको छ ।’
कार्यक्रम नेपथ्यको पछिल्लो सिर्जना ‘शिरफूल शिरैमा’ हुँदै ‘लामपाते सुरती’, ‘चरि मर्यो’ तिर अघि बढ्दै थियो । त्यतिबेलै मैदानको अर्को भागमा एक हुल दर्शक आफ्नै पाराले रमाउदै थिए । उनीहरु थिए बिहारको किशनगञ्ज जिल्लादेखि कमाउनका निम्ति राबाङ आइपुगेका मुश्लिम समूह । ‘बजारमा अस्तिनैदेखि यो समूहको चर्चा चलेपछि कस्तो रहेछ भनेर सुन्न आएका हौं,’ राशन पसल थापेका अनवर आलमले भने, ‘रमाइलो लागिरहेको छ ।’
अनवरको साथमा आएका जहिद आलम २५ वर्षदेखि राबाङला बस्दै आइरहेका रहेछन् । नेपाली भाषा राम्रोसँग बुझ्ने र यीमध्ये केहि गीत यतैका युवाले पहिल्यै आफूलाई गाएर सुनाएको हुँदा अहिले झनै रमाइलो लागिरहेको जहिदले बताए ।
‘जोमसोमे बजारमा’ गाइरहेको बेलामा गायक अमृतले अघिल्लो दिनको अनुभव सुनाए । ‘हिजो यहाँका केही स्थानीयले मुस्ताङ घुम्ने इच्छा सुनाइरहनु भएको थियो,’ उनले नेपाल चिनाउँदै थपे, ‘त्यो ठाउँ पुग्न यस गीतमा भनिएको मेरो घर अर्थात् पोखराकै बाटो जानु पर्छ ।’
‘नेपाल र नेपालीहरु फैलिएको विश्वको जुनसुकै कुनामा प्रस्तुत गरिने कार्यक्रम आफ्नो निम्ति एकै किसिमको भएको र यी कार्यक्रमहरुमा भाषा,भातृत्व र हार्दिकताका सन्देशहरुमा जोड दिने गरेका छौं ,’ अमृतले जानकारी दिए ।
कार्यक्रमको अन्त्यतिर ‘कोशीको पानी’, ‘रेशम’, ‘हिमाल चुचुरे’ र ‘मै नाचे छमछमी’ जस्ता गीतहरु प्रस्तुत गरिरहँदा भिक्षु पोशाकमै उपस्थित पचासौं युवाहरु पनि नाचिरहेका देखिन्थे । उनीहरु मध्येकै एक थिए ३८ वर्षे पेमा भुटिया ।
राबाङकै शिखरमा रहेको बुद्धपार्क गुम्बामा बितेको २८ वर्षदेखि आवद्ध उनी सानो छोरालाई पनि साथै लिएर आएका थिए । ‘मैले कुनै पनि सांगीतिक समूहबारे जानकारी राखेको छैन,’ उनी भनिरहेका थिए, ‘पहिलोपटक सुन्दा पनि यो नेपथ्यका गीतहरु रमाइलो लागिरहेका छन् ।’
गुम्बाको कामले धेरै मुलुक घुमेको भएता पनि नेपाल चाहिँ केही महिनामै मुस्ताङको यात्रा गर्न लागेको उनले जानकारी दिए । यो कार्यक्रम हेरेपछि नेपाल जाने चाहना अझ बढेको उनले सुनाए ।
यी एकदमै बेग्लै जमात बाहेक अधिकांश तन्नेरी दर्शकहरु भने नेपथ्यबारे राम्रो जानकारी राख्थे । उनीहरु कुनै पनि गीतको धुन सुन्ने बित्तिकै शब्द गाउन थालिहाल्थे ।
रैथाने पेमाका अनुसार मंगलबार कार्यक्रममा उपस्थित ४० प्रतिशतभन्दा बढी दर्शक राबाङ भन्दा बाहिरबाट आएका थिए । यसरी उत्तेजित झण्डै असी प्रतिशत दर्शकहरुमा भने नेपालमै आयोजित कन्सर्ट हेर्न आउनेहरुसँग एकरुपता देखिन्थ्यो । त्यसैले सुरुदेखि अन्तिमसम्म नृत्य गरिरहेका उनीहरुले कार्यक्रमको अन्तिममा ‘तालको पानी’ गाएर विदा माँग्दा पनि थप गीतको माँग गरिरहेकै थिए ।
राबाङमा यस्तो उत्सव धेरै वर्षदेखि आयोजना हुँदै आएको बताउने पर्यटन व्यावसायी निमा लेप्चा यसरी नै अन्यत्रका दर्शकहरु बढ्दै जाने हो भने यहाँको पर्यटकीय महत्व झनै बढ्ने विश्वास गर्छिन् । उत्सव अवधिभर दिउँसोदेखि राति अबेरसम्म यहाँका पर्यटकीय गन्तब्यहरुमा साँगीतिक चहलपहल देखिएको थियो ।
तीनदिने उत्सवको उद्घाटन सिक्किमका मुख्यमन्त्री पवन चामलिङले शनिबार गरेका थिए । त्यसैको समापन मंगलबार राति नेपथ्यको कन्सर्टबाट भएको हो ।
सँधैजस्तै सिक्किममा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।