Comments Add Comment

माधव नेपाललाई प्रचण्डले भेटे, ओलीले पनि भेट्ने तयारी

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरेको बेला प्रचण्डले भेटेका हुन् ।

प्रचण्ड र नेपाल दुवैको सचिवालयले मंगलबार बिहान भेटवार्ता भएको पुष्टि गरे पनि भेटेको स्थान भने खुलाउन चाहेका छैनन् । यद्यपि कोटेश्वरस्थित माधव नेपालको निवास नजिककै एक घरमा उनीहरुबीच भेटवार्ता भएको स्रोतले जनाएको छ । ‘समसामयिक राजनीतिका साथै सरकारमा सहभागिताको विषयमा दुई जनाबीच मात्रै भेटवार्ता जारी छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

सत्ता साझेदार दलहरुले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेको बेला प्रचण्डले नेता नेपाललाई भेटेका हुन् । सकेसम्म नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । सुरुका छलफलहरुमा नेपालले सरकारमा सहभागी हुने बचन दिए पनि पछिल्ला दिनहरुमा आन्तरिक एकताको प्रयास भइरहेकाले सरकारमा नजाने बताउने गरेका छन् ।

यसैबीच आन्तरिक एकताको प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भइरहेको छ । ओली र नेपालबीच मंगलबार भेट्ने तयारी भए पनि समय र स्थान भने निश्चित भइनसकेको उनीहरु निकट नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment