Comments Add Comment

कोरोना संक्रमण ४३ दिनयताकै उच्च

२० साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमण ४३ दिनयताकै उच्च विन्दुमा पुगेको छ ।

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितको संख्या ४,१०७ जना जेठ ९ गतेयता एक दिनमा पुष्टि भएका संक्रमितको उच्च संख्या हो । गत जेठ ८ गते ४,५२२ जना संक्रमित थपिएका थिए भने जेठ ९ गते २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको थियो ।

जेठ २० गते दोस्रो लहरको सबैभन्दा कम संक्रमित पुष्टि भएको थियो । उक्त दिन १ हजार ६०३ जना संक्रमित थपिएका थिए । त्यसयता लगातार कोरोना संक्रमण बढ्दो छ । साउन १ गते २ हजार ९३६ जना संक्रमित थपिएकामा साउन १२ गते ३ हजार ८९९ जना संक्रमित थपिएका थिए ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निषेधाज्ञा खुकुलो बनेसँगै नागरिकको व्यवहारमा समेत परिवर्तन आउँदा संक्रमण बढ्दै गएको बताए ।

पछिल्लो समय टाउको दुख्ने, सामान्य ज्वरो आउनेलगायतका लक्षण भएका धेरै व्यक्तिहरु अस्पताल आउने क्रम बढेको उनले बताए । कतिपय व्यक्तिहरु स्वास्थ्यमा जटिलता भएर अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था समेत रहेको उनले बताए ।

‘दैनिक रुपमा संक्रमण पुष्टि हुने संख्या बढ्दो छ । अस्पतालमा भर्ना हुने संख्या पनि तुलनात्मक रुपमा बढी नै छ । यी सबै कुराहरुले अब हामी तेस्रो लहरतिर अगाडि बढ्न थालेको हो कि भन्ने संकेत गरिरहेको अवस्था हामीले देखिरहेका छौं’ उनले भने ।

१६ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

साउन यता ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला बढ्दै गएको छ ।

साउन १ गते ५०० भन्दा बढी सक्रिय संक्रमित जिल्ला ९ थियो । तर साउन २० गते आइपुग्दा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला १६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

साउन १ गते मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की र सुर्खेतमा ५०० भन्दा बढी सक्रिय संक्रमित थिए ।

पछिल्लो समय ५०० भन्दा बढी सक्रिय संक्रमित थपिने सात जिल्लामा मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, वाग्लुङ, गोरखा र रुपन्देही छन् ।

संक्रमितको संख्या बढ्दै गएको भन्दै उनले धेरै भन्दा धेरै व्यक्तिहरुलाई परीक्षणको दायरामा आउन आग्रह समेत गरे ।

सरकारले कोरोना परीक्षण निःशुल्क रुपमा गर्दै आइरहेको भन्दै उनले चाँडो परीक्षणको दायरामा आउँदा संक्रमित व्यक्तिको पहिचान हुँदा अरुलाई संक्रमण सार्नबाट जोगाउन सकिने डा. अधिकारीको भनाइ छ ।

समुदायमा कोरोना भाइरस अझै रहेको भन्दै अधिकारीले भने, ‘महामारी हामी माझमै छ । त्यो कम भएको अवस्था छैन । हामीले भुल्दै नभुलौं । यो खुकुलो भएको सबै सकिएर भएको होइन ।’

कोरोना महामारीको रोकथाम एवं नियन्त्रण गर्ने निर्विकल्प उपाय भनेको खोप लगाउनु र जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नु रहेको उनको भनाइ छ ।

खोप अभियान र जनस्वास्थ्य मापदण्डको पालनालाई सरकारले बढी जोड दिएको भन्दै डा. अधिकारीले साउन २३ देखि २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्ने तयारी गरेको बताए ।

मास्क लगाउने व्यवस्थालाई व्यवस्थित बनाउन ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ म जिम्मेवार नेपाली भन्ने नाराका साथ सरकारले अभियान सञ्चालन गर्न लागेको उनले बताए ।

खोप लगाउँदा सामान्य समस्या आउन सक्छ

डा. अधिकारीले कोरोना खोप लगाउने व्यक्तिमा सामान्य समस्या आउन सक्ने बताए ।

खोप लगाएपछि केही व्यक्तिलाई सामान्य ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने जस्ता लक्षणहरु देखा पर्न सक्छन् । त्यसलाई अन्यथा बुझ्नु हुँदैन । त्यो खोप लगाएपछि शरीरमा गएर काम गर्न थालेको अवस्था भनेर बुझ्नुपर्छ’ उनले भने ।

खोपले मानिसमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्दै जाने भन्दै डा. अधिकारीले भविष्यमा संक्रमण हुने जोखिमबाट जोगिन सकिने बताए ।

खोप लगाएका केही व्यक्तिमा संक्रमण देखिए पनि जोखिमपूर्ण अवस्थामा अस्पतालमा भर्ना हुनुबाट जोगिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment