Comments Add Comment

पारसको संन्यास : ‘एक युगको अन्त्य’

१९ साउन, काठमाडौं । धेरैलाई आश्चर्यमा पार्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे ।

खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो करीब दुई दशकको क्रिकेट करियर अन्त्य गरेको घोषणा गरेका हुन् । करीब दुई वर्षअघि पारसले कप्तानबाट राजीनामा दिंदा समेत त्यस्तै भएको थियो । तर उनले खेलाडीको रुपमा निरन्तरता दिएका थिए ।

तर यस पटक भने खड्काले अब नेपालका लागि नै नखेल्ने निर्णय गरेका हुन् । ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय गरेको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो’, पारसले सामाजिक सञ्जालमा लेखेका छन् ।

पारसले आफूलाई नेपाली क्रिकेटमै सम्भवत: सबैभन्दा उत्कृष्ट खेलाडी सावित गरेका छन् । उत्कृष्ट कप्तान, नेपाली क्रिकेटको पोष्टर ब्वाइ अनि क्रिकेटर मात्र नभई सेलिब्रिटी खेलाडीको पहिचान समेत बनाएका पारसको संन्याससँगै नेपाली क्रिकेटको एउटा युगकै अन्त्य भएको उनीसँगै डेब्यु गरेका विकास दली बताउँछन् । ‘अपेक्षा विपरीत । समय भएको थिएन । एउटा युगकै अन्त्य भयो । अहिले नेपाललाई उसको खाँचो छ कम्तीमा दुई वर्ष’ पारससँगै २००४ मा डेब्यु गरेका दलीले अनलाइनखबरसँग भने ।

यो पनि पढ्नुहोस पारसको नजर क्रिकेट संघतिर
आजको दिन नेपाली क्रिकेटमा ऐतिहासिक दिन हो । तीन वर्षअघि आजकै दिन नेपालले ओडिआईमा पहिलो खेल जितेको थियो । उक्त खेलमा पारसले निर्णायक मोडमा निकै चतुर किसिमको प्रदर्शन गरे अनि एक रनको रोमाञ्चक जित दिलाए । संयोगवश त्यही दिन पारेर पारसले संंन्यास लिए ।

सन् २००० को दशकदेखि खेल्ने खेलाडीमा अब वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी र विनोद भण्डारी मात्र बाँकी छन् । शरद र बसन्त राष्ट्रिय टिममा नियमित रुपमै पर्न छाडिसके ।

नेपाली क्रिकेट अहिले पुस्ता हस्तान्तरणको प्रक्रियामा रहेको बेला पारसको संन्यासले ठूलो अर्थ राख्छ । एउटा खेलाडीले निश्चित समय आएपछि खेल्न छाड्नु नियमित प्रक्रिया नै हो । तर जसरी पारसले नेपाली क्रिकेटलाई एक दशकसम्म हाँके, डेढ दशक राष्ट्रिय टिमबाट खेले, त्यसमा उनको योगदान अमूल्य छ ।

सन् २००२ मा उमेर समूहबाट क्रिकेट खेल्न सुरु गरेका पारसले सन् २००४ मा इन्टरकन्टिनेन्टल कपमार्फत सिनियर टिममा डेब्यु गरेका थिए । सन् २००९ मा २२ वर्षको उमेरमै सिनियर टिमको कप्तान बनेका पारसले आफ्नो नेतृत्वमा नेपाललाई धेरै उपाधि र उपलब्धि दिलाए ।

सन् २०२० मार्चमा थाइल्याण्डमा एसीसी टी-२० इस्टर्न रिजन नै राष्ट्रिय टिममा पारसको लागि अन्तिम खेल बन्यो । गत वैशाखमा घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिज नेपालले जित्दा पारस टिममा थिएनन् । उनले चोटका कारण टिमबाट नाम फिर्ता लिएका थिए ।

किन संन्यास ?

खेलाडीका लागि संन्यास घोषणा गर्नु सबैभन्दा गाह्रो काम हो । तर त्यसको लागि पनि समय भने पक्कै आउँछ । पारसले पनि किन अहिले संन्यास लिए भन्ने विषय सामाजिक सञ्जालमै खुलाएका छन् ।

‘किन अहिले? किनकि यो समयको कुरा हो । क्रिकेटरको रुपमा मैले आफ्नो मन वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरें । मेरो जीवनमा मेले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालहरुको संयुक्त प्रयासको आवश्यकता छ । इमान्दारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउनेछौं’ पारसले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय रुपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन् ।’

पारसले २००२ देखि सुरु गरेको क्रिकेट यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा पछिल्लो १८ वर्ष साथ, समर्थन माया र हौसला दिने प्रशिक्षक, साथी, खेलाडी, प्रशंसक, सरोकारवाला, मिडियाकर्मी, मेरो परिवारप्रति म सदैव ऋणी रहनेछु ।’

२२ वर्षमै कप्तान

सन् २००९ मा भएको एसीसी टी-२० कपका लागि युवा अलराउण्डर पारस खड्कालाई सिनियर टिमको कप्तानको भूमिका दिइयो, त्यतिबेला पारस २२ वर्षका थिए । टिममा तात्कालीन कप्तान विनोद दास लगायत सिनियर खेलाडीहरु थिए । पारस यू-१९ टिमबाट ग्राजुयट मात्र भएका थिए ।

पारस सिनियर टिमको कप्तान चयन हुँदा टिममा विनोद दास लगायत शक्ति गौचन, मेहबुब आलम,बसन्त रेग्मी जस्ता सिनियर खेलाडीहरु पनि थिए।

तर पारसले नयाँ चुनौती सामना गर्दै नेपाली टिमलाई एक दशकसम्म निरन्तर नेतृत्व दिए । उनले एक दशक कप्तानी गर्दै २०१९ मा उक्त पदबाट राजीनामा दिएका थिए । यही समयमा नेपाली क्रिकेटले मैदानभित्र र मैदान बाहिर ठूलो आरोह/अवरोहहरुको सामना गर्‍यो ।

पारसको कप्तानीको बारेमा कुरा गर्दा झण्डै दुई वर्षअघि पूर्व कप्तान विनोद दासले भने थिए- पारस नेपाली क्रिकेटले उत्पादन गरेको अहिलेसम्मकै फाइनेस्ट खेलाडी हुन् र नेतृत्व गर्ने पनि उनी नै अहिलेसम्मको सफल कप्तान हुन्। मैले प्रमाण दिइराख्न पर्दैन ।

पारसलाई एसोसिएट क्रिकेटकै सबैभन्दा उत्कृष्ट कप्ताको रुपमा समेत व्याख्या गरिंदै आएको छ ।

यो पनि पढ्नुहोस क्रिकेट संघका अध्यक्ष भन्छन्– पारसको संन्यास अप्रत्यासित

डिभिजन ५ उपाधिदेखि ओडिआई मान्यतासम्म

नेपालले सिनियर टिमले अहिलेसम्म हासिल गरेको सबैभन्दा महत्वपूर्ण ठूला उपलब्धि हासिल गर्दा पारस खड्काले नै टिमको नेतृत्व गरेका थिए । नेतृव्व र प्रदर्शन दुवैमा अब्बल थिए पारस । उनको प्रदर्शन र लिडरसिपले पनि त्यो प्रमाणित गरेको छ ।

नेपालको अन्तर्राष्ट्रिय क्रिकेटको इतिहास नै त्यति धेरै छैन । २५ वर्षको अन्तर्राष्ट्रिय इतिहासमा १७ वर्ष त पारस नै राष्ट्रिय टिमसँग जोडिए । त्यसैले नेपाली क्रिकेट भन्ने बित्तिकै पारसको नाम जोडिन्छ । पूर्व कप्तान विनोद दासले भनेजस्तै पारस नेपालको सबैभन्दा सफल खेलाडी र कप्तान हुन् भन्ने कसैको विमति नहोला ।

सन् २०१० मा नेपाललाई डिभिजन ५ को उपाधि दिलाउँदा देखि २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) राष्ट्रको मान्यता पाउँदासम्म पारसको भूमिका महत्वपूर्ण रह्यो ।

यस्तै पहिलो पटक टी-२० विश्वकप खेल्नेदेखि उनकै कप्तानीमा नेपालले नेपालले टी-२०आई र ओडिआई सिरिज जित्यो । अनि त सबैजनाले भन्न कर नै लाग्छ कि पारस नेपाली क्रिकेटमा ‘मोस्ट डेकोरेट्स प्लेअर’ हुन् ।

पारसकै कप्तानीमा नेपालले सन् २०१० मा नेपालमै भएको आईसीसी डिभिजन ५ को उपाधि जितेको थियो । त्यो सिनियर टिमको पहिलो उपाधि थियो । यस्तै नेपालले सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टी-२० विश्वकप खेल्दा पारस नै कप्तान थिए । २०१८ मा जिम्बाबेमा नेपालले पहिलो पटक ओडिआई मान्यता पाउँदा पारस नै कप्तान थिए । त्यसपछि २०१९ मा नेपालले युएई विरुद्ध ओडिआई र टी-२० सिरिज दुवै जित्यो । त्यसमा पनि पारस नै कप्तान थिए ।

पारससँगै राष्ट्रिय टिममा डेब्यु गरेका अर्का खेलाडी थिए विनोद दली । तर विनोद दलीले त्यसपछि राष्ट्रिय टिममा निरन्तरता दिन सकेनन् । अर्कोतर्फ पारसले भने निरन्तर खेलेर नेपाली क्रिकेटकै लिजेण्ड खेलाडी बने ।

पारससँगै खेलेका दली अहिले विगत सम्झिंदा रोमाञ्चित हुन्छन् । ‘यो केटोमा केही गर्न सक्छ भन्ने क्षमता मैले त्यतिखेरै देखेको थिएँ । पारससँग लिडरसिप क्वालिटी त्योबेलै देखिएको थियो,’ दलीले भनेका थिए ।

संयोगले नेका खेलाडी

पारस संयोगले खेलाडी बनेका थिए । स्कूल पढ्दै गर्दा इन्टर स्कूल प्रतियोगिता हुने पत्रिका हेरेर थाहा पाएपछि उनले त्यो प्रतियोगिता खेले । त्यसपछि क्रिकेटमा रस पस्यो । २००१ मा टीयू मैदानमा भएको एसीसी यू-१५ क्रिकेट दर्शकका रुपमा हेरेका पारस पछि त्यही स्थानमा त्यही खेलकै उत्कृष्ट खेलाडी भएर निस्किए ।

कुनै समय विदेश जानका लागि जोड गरेका पारस अष्ट्रेलियाको भिसा नआएपछि त्यसलाई छाडेर क्रिकेटमै लागिरहे । जसमा उनले सफलता, उपलब्धि, सम्मान सबै पाए । नेपालले एउटा राम्रो खेलाडी पायो ।

यो पनि पढ्नुहोस धन्न अष्ट्रेलियाको भिसा लागेन…

सन् २००८ मा नेपालको उपकप्तान भइसकेपछि पनि पारस विदेश जाने तरखरमा थिए । जतिबेला नेपालले जर्सीमा डिभिजन ५ खेल्दै थियो । तर भाग्य भन्ने कि दुर्भाग्य पारसको भिसा लागेन र उनी विदेश गएनन् । पछि क्रिकेट खेल्न भने धेरै देशमा पुगे ।

२००९ मा सिनियर टिमको कप्तान बनेपछि पारसको भूमिका टिममा अझ बढ्यो । युवा उमेरमै सिनियर टिमको कप्तानी दिंदा पारसलाई सुरुमा बोझ थोपरिएको जस्तो भएपनि पारसले त्यसलाई उनले राम्रोसँग निर्वाह गरे ।

पारसको कप्तानीमा नेपालको पहिलो टुर युएईमा थियो र नेपाल मलेसियासँग हारेको थियो । तर त्यसबाट पारसले आफ्नो भूमिकालाई बुझ्ने अवसर पाए । ‘पारसको कप्तानीमा नेपालले पहिलो टुर युएईमा थियो । हामी मलेसियासँग पनि हारेका थियौं । तर त्यो पारसको नेतृत्वले नभई हाम्रो प्रदर्शन नराम्रो भएर हारेका थियौं’ विनोद दास स्मरण गर्छन्, ‘नेपाली क्रिकेटले पारसलाई टाइम पनि दियो किनकी उ आफ्नो रोलमा भिजोस् विस्तारै त्यसको रिजल्टहरु पनि देखियो ।’

‘पारसले नेपाली क्रिकेटमा जुन स्ट्याटस बनाए त्यसका लागि सबै कुरा सही ठाउँमा भयो । पारसलाई पनि सहयोग भयो । जुन स्थान उसले बनाएको छ उसले त्यो डिजर्भ पनि गरेको छ’, दास भन्छन् ।

एक रनको रोमाञ्चक जित

आजको दिन नेपाली क्रिकेटमा ऐतिहासिक दिन हो । तीन वर्षअघि आजकै दिन नेपालले ओडिआईमा पहिलो खेल जितेको थियो । उक्त खेलमा पारसले निर्णायक मोडमा निकै चतुर किसिमको प्रदर्शन गरे अनि एक रनको रोमाञ्चक जित दिलाए । संयोगवश त्यही दिन पारेर पारसले संन्यास लिए ।

आम्सटलभिनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो । लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई नेपालले अन्तिम बलमा २१५ रनमै अलआउट गर्दै रोमाञ्चक जित हासिल गरेको थियो । उक्त खेलमा नायक उनै पारस थिए । ब्याटिङमा ५१ रन बनाएका पारसले बलिङमा १ विकेट लिनुका साथै अन्तिम ओभरमा रनआउट समेत गरे ।

नेपालले २०१८ को मार्चमा ओडिआई स्ट्याटस पाएपछि अगष्टमा नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक ओडिआई सिरिज खेलेको थियो ।

अगष्ट १ मा भएको पहिलो खेलमा दुई सय भन्दा कमको लक्ष्य पूरा गर्न नसकेको नेपालले अगष्ट ३ मा भएको  दोस्रो खेलमा भने लक्ष्य डिफेण्ड गर्दै डच विरुद्ध एक रनको रोमाञ्चक जित हात पारेको थियो। उक्त खेलको अन्तिम ओभर पारसले नै बलिङ गरेका थिए र ५ रन डिफेण्ड गरेका थिए। नेदरल्याण्ड्सलाई जितका लागि ६ बलमा ६ रन चाहिएको बेला पारसले ४ रन मात्र खर्चर एक रनआउट समेत गरे।

नेपाली क्रिकेट र पारस पर्यायवाची जस्तै रह्यो । नेपाली क्रिकेट उच्चारण हुँदा सुरुमा आउने नाम पारस नै हो। पारसले एक्लै जिताउने मात्र नभएर टिमलाई नेतृत्वदायी रुपमा समेत अघि बढाए ।

पारसले धेरै खेल एक्लै जिताएका छन् । कतिमा कप्तानी भूमिका निर्वाह गरे । यसले उनको निर्णय लिन सक्ने र चुनौतीलाई सामना गर्न सक्ने भूमिकाको पनि प्रशंसा भएको छ।

दासकै भनाइ सापटी लिने हो भने क्रिकेटमा कप्तानको भूमिका निर्णायक हुन्छ, मैदान भित्र र बाहिर पनि कप्तानको भूमिका महत्वपूर्ण हुन्छ। कसलाई बलिङ गराउने, कसलाई कति नम्बरमा ब्याटिङ गराउने, कुन बेलामा के रणनीति तय गर्ने, खेलाडीलाई के म्यासेज पठाउने भन्ने रोल कप्तानमा हुन्छ । त्यसमा पनि पारस सफल भएको दासको बुझाइ छ ।

टेष्ट सपना अधुरै

पारसले नेपालका लागि टेष्ट बाहेक सबै फर्म्याटमा खेले । हुनत नेपालले टेष्ट राष्ट्रको मान्यता पाउने कहिले हो पत्तो छैन । तर फस्ट क्लास क्रिकेटबाट डेब्यु गरेका पारसले त्यसपछि टी-२०, लिस्ट ए, टी-२०आई र ओडिआई फर्म्याट समेत नेपालको लागि खेले ।यसमा पनि उनले फस्ट क्लास बाहेक सबैमा कप्तानी समेत गरे ।

तर नेपालको लागि टेष्ट क्रिकेट खेल्ने पारसको सपना भने अधुरै रह्यो । उनले भविष्यमा नेपालले टेष्ट खेल्न सक्ने सम्भावना देखिएको बताउने गरेका छन् । तर त्यसका लागि सबै क्षेत्रबाट पहल र प्रयास गर्नुपर्ने बारम्बार भन्दै आएका छन् । पारसले नेपालले टेष्ट क्रिकेट खेल्न अझै १०-१२ वर्ष लाग्ने समेत बताएका थिए ।

तर पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अन्तर्राष्ट्रिय क्रिकेटमा परिवर्तन गर्दै आएको छ । ओडिआई र टी-२० विश्वकपमा सहभागी टिम संख्या बढाएको छ । टेष्ट क्रिकेटमा पनि केही परिवर्तन आए नेपालले अझ चाँडै पनि खेल्न सक्छ ।

ओडिआई र टी-२० मा शतक हान्ने एक्लो खेलाडी

पारसले नेपाली क्रिकेटमा धेरै कीर्तिमान राखेका छन् । ओडिआई र टी-२० दुवैमा उनले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

नेपालका लागि दुवै फर्म्याटमा सर्वाधिक रन बनाउने खेलाडी पारस नै हुन् । यस्तै पारस ओडिआई र टी-२०आईमा नेपालका लागि शतक प्रहार गर्ने एक्ला खेलाडी हुन् ।

उनले ओडिआईमा १० खेल खेल्दै १ शतक र १ अर्धशतकसहित सर्वाधिक ३१५ रन बनाएका छन् । यस्तै टी-२०आईमा ३३ खेल खेल्दै १ शतक र ४ अर्धशतकसहित ७९९ रन बनाएका छन् । उनले ओडिआई र टी-२० मा गरी १११४ रन बनाएका छन् ।

तथ्यांकमा पारसको प्रदर्शन

ओडिआई : १० खेल

ब्याटिङ : २१५ रन, ११५ उच्च स्कोर, १ शतक, १ अर्धशतक

बलिङ : ९ विकेट, ४/२६ बेस्ट

 

टी-२० आई : ३३ खेल

ब्याटिङ : ७९९ रन, १०६* उच्च स्कोर, १ शतक, ४ अर्धशतक

बलिङ : ८ विकेट, २/११ बेस्ट

 

लिस्ट ए : ४४ खेल

ब्याटिङ : १४९७ रन, ३ शतक, ११५ उच्च स्कोर

बलिङ : २६ विकेट

 

टी-२० : ५६ खेल

ब्याटिङ : १३१७ रन, १०६* उच्च स्कोर, १ शतक, ८ अर्धशतक

बलिङ : २8 विकेट

 

फस्ट क्लास : २ खेल (२००४/०५)

ब्याटिङ : ७२ रन, ४४ उच्च स्कोर

बलिङ : १ विकेट

(तथ्याङ्कस्रोत :एसपीएन क्रिकइन्फो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment