News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा साक यान्त मुवाथाईको आयोजनामा आगामी पुस १० देखि १२ गतेसम्म अन्तराष्ट्रिय स्तरको 'द कन्टेन्डर फाइट सिरिज' को तेस्रो संस्करण हुने भएको छ।
- तेस्रो संस्करणमा मुवाथाईसँगै गण्डकी प्रदेशमै पहिलो पटक एमएमए केज फाइट आयोजना गरिने आयोजक खगेन्द्र क्षेत्रीले बताए।
- प्रतियोगितामा नेपाल, स्पेन, पाकिस्तान, भारत, श्रीलंका लगायतका राष्ट्रका फाइटर सहभागी हुने र प्रवेश निशुल्क रहने आयोजकले जानकारी दिएका छन्।
३० असोज, पोखरा । साक यान्त मुवाथाईको आयोजनामा पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ को तेस्रो संस्करण आगामी पुस दोस्रो साता हुने भएको छ ।
यसअघि दुई संस्करण मुवाथाई आयोजना गरेको आयोजकले अब भने मुवाथाई सँगै पछिल्लो समयमा चर्चामा आउन थालेको एमएमए (मिक्स मार्सल आट्र्स) को समेत आयोजना गर्ने भएको छ । जुन गण्डकी प्रदेशमा नयाँ अनुभव र केजमा हुनेछ ।
तेस्रो संस्करणको सिरिज आगामी पुसको १० देखि १२ गतेसम्म हुँदैछ । पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करणको आयोजना मिति तोकिएसँगै गण्डकी प्रदेशमै पहिलो पटक केज फाइट हुने आयोजकले जनाएको छ ।
पर्यटकीय राजधानी पोखरामा मार्सलआर्टका समर्थक र पर्यटकका लागि केज फाइट थप आकर्षकको रुपमा रहने आयोजकको विश्वास छ ।
प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीका अनुसार एमएमए फाइटमा नयाँपन दिनका लागि तेस्रो संस्करण केजमा गराउने तयारी भएको हो । ‘फाइट नाइट आफैमा रोमाञ्चक खेल हो । पोखरा पर्यटकीय राजधानी भएकाले हामीले पर्यटन प्रबद्र्धनका लागि नै केज फाइट गर्न लागेका छौं’ उनले भने, ‘सम्भवत यो गण्डकी प्रदेशकै पहिलो केज फाइट हुनेछ । हामीले विदेशमा केज फाइट भएको टिभि वा अहिले सोसल मिडियामा हेरिरहेका छौं तर, अब त्यो पोखरामै हेर्न पाइने छ।’
आगामी पुसको दोस्रो साता लेकसाइडमा हुने प्रतियोगितामा अहिलेसम्म विभिन्न राष्ट्रका फाइटरले सहभागिता पक्का गरिसकेको आयोजकले जनाएको छ । हालसम्म नेपालसहित स्पेन, पाकिस्तान, भारत, श्रीलंका लगायतका राष्ट्रको सहभागिता रहेको छ ।
विश्वभर व्यावसायिक मार्शल आट्र्सका उत्कृष्ट स्वरूपमध्ये एक मानिने एमएमए (मिक्स मार्शल आट्र्स) यसपटक पोखरामै प्रत्यक्ष हेर्न पाउने क्षेत्रीले बताए । प्रतियोगितामा प्रवेश निशुल्क गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया 4