Comments Add Comment

चन्द्रागिरि हिल्स र गोकर्णले पाए ‘लक्जरी रिसोर्ट’को मान्यता

पाँचतारे होटेल कति ?

२० साउन, काठमाडौं । थानकोनको चन्द्रागिरि हिल्स र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्टले ‘लक्जरी रिसोर्ट’को मान्यता पाएका छन् । बनेपास्थित आगन्तुक रिसोर्टले भने ‘डिलक्स’ स्तरको मान्यता पाएको छ

यी तीन बाहेक देशभरका अन्य रिसोर्टको स्तर भने ‘साधारण’ हुने छ । पर्यटन विभागले विभागमा दर्ता भएका रिर्सोट तथा तारास्तरका होटेलहरुको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

विभागका अनुसार ‘साधारण’ स्तरमा रहेका रिसोर्टको संख्या भने ९९ वटा रहेको छ । यो स्तरमा पर्यटक स्तरका अधिकांश रिसोर्टहरु समेटिएका छन् । काठमाडौं, नगरकोट, धुलिखेल, पोखरा र सौराहाका स्तरीय रिसोर्टहरु यो सूचिमा अटाएका छन् ।

विभागले एक तारेदेखि पाँचतारे डिलक्ससम्मका होटेलहरुको वर्गीकरणको मापदण्डका आधारमा रिसोर्ट तथा होटेलहरुको वर्गिकरण गरेको हो ।

पाँचतारे होटेल १६ पुगे

पछिल्लो वर्गिकरण अनुसार नेपालमा पाँचतारे होटेलको संख्या १६ पुगेको छ । पर्यटन विभागका अनुसार पछिल्लो पटक भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिले झापाको धुलाबारीमा बनाएको होटेल मेची क्राउनले पाँचतारे मान्यता पाएको हो ।

विभागले १९ फागुन २०७७ मा यो होटेललाई पाँचतारे मान्यताको स्तर वर्गिकरण गरेको थियो । कुल १ सय कोठामा १८५ सैयासहित यो होटेल संचालनमा आएको हो ।

पछिल्लो समय उपत्यकाभन्दा बाहिर पाँचतारे होटेले खुल्ने क्रम तिब्र भएको छ । १६ वटा पाँचतारेमध्ये १० वटा काठमाडौं उपत्यका भित्र रहेका छन् ।

६ वटा पाँचतारे भने मोफसलमा खुलेका छन् । देशभर रहेका पाँचतारे होटेलमा कुल २६४१ कोठा रहेका छन् ।

यी होटेलले एक साथ ३९३९ जना पाहुनालाई सेवा दिन सक्छन् । पाँचतारे होटेलमध्ये कोठा संख्याको आधारमा सबैभन्दा ठूलो होटेल -तारागाउँ रिजेन्सी) हायात हो ।

यी हुन नेपालका पाँचतारे होटेल

  • दी सोल्टी काठमाडौं, ताहाचल
  • होटेल डेला अन्नपूर्ण, दरवारमार्ग
  • द एभरेष्ट इन्टरनेशनल प्रालि, नयाँ बानेश्वर
  • पोखरा ग्राण्ड, पोखरा
  • होटेल द फुलबारी, पोखरा
  • र्‍याडिसन होटेल, लाजिम्पाट
  • हायात होटेल, बौद्ध
  • याक एण्ड यति होटेल, दरवारमार्ग
  • द मल्ल होटेल, लैनचौर
  • होटेल सांग्रिला, लाजिम्पाट
  • टाइगरवान प्रालि, रुपन्देही
  • सोल्टी वेस्टेण्ड पि्रमियम, नेपालगन्ज
  • होटेल मेरियट, नक्साल
  • होटेल अलफ्ट, ठमेल
  • होटेल मेची क्राउन, झापा

चारतारे होटेल १९ पुगे, एक वर्षमा ६ वटा थपिए
विभागका अनुसार अब देशभर चार तारे होटेलको संख्या भने १९ पुगेको छ । २०७७ सालयता मात्र ६ वटा नयाँ चार तारे होटेल थपिएको विभागको तथ्यांकमा उल्लेख छ । नेपालमा पहिलो पटक लाजिम्पाटस्थित होटेल शंकर चार तारे स्तरमा वर्गिकरण भएको थियो ।

पछिल्लो पटक भने १९ औं कम्पनीका रुपमा बाँकेको होटेल स्टारलाइट यो स्तरको होटेलमा वर्गिकरण भएको छ । सो होटेललाई ४ साउन २०७८ मा चार तारे मान्यता दिइएको हो ।

देशभर रहेका चार तारे होटेलमा कुल १६३२ वटा कोठा छन् । यी होटेलले एकै पटकमा २४८७ पाहुनालाई सेवा दिन सक्छन् । चार तारे होटेलको बाहुल्य भने मोफसलमै छ ।

काठमाडौंमा शंकरबाहेक कुपण्डोलको होटेल हिमालय प्रालि, रविभवनको होटेल क्राउन इम्पेरियल, ताहाचलको ग्राण्ड होटेल र धुम्बाराहीको अकामा होटेल मात्र काठमाडौंका चार तारे होटेल हुन् । मोफसलमा भने बाँकेमा बढी यो स्तरका होटेल छन् ।

तीन तारे होटेल ३३ वटा

पर्यटन विभागका अनुसार देशभर तीन तारे होटेलको संख्या ३३ रहेको छ । नेपालमा पहिलो तीन तारे होटेल कान्तिपथको होटेल माउन्टेन हो । कुल तीन तारे होटेलमा कुल २०६२ कोठा र ३४१२ सैया रहेका छन् । दुई तारे होटेलको संख्या भने ४१ पुगेको छ ।

यी होटेलमा कुल १५९८ कोठा र २८८० बेड रहेका छन् । विभागका अनुसार एकतारे होटेलको संख्या ३४ पुगेको छ । यी होटेलमा ७६२ वटा कोठा छन् । यी होटेलमा एक साथ १३४४ जना पाहुनाले सेवा लिन सक्छन् ।

हेरिटेज बुटिक होटेलको ‘लक्जरी’ स्तरमा तीन होटेल

सरकारले मौलिक शैलीमा निर्माण भएका स्तरीय होटेलहरुलाई भने हेरिटेज बुटिक होटेलका रुपमा वर्गिकरण गर्न थालेको छ । यस वर्गिकरणको लक्जरी स्तरमा तीन वटा होटेल सूचीकृत बनेका छन् ।

बत्तिसपुतलीस्थित द्धारिकाज काठमाडौं भिलेज होटेल, बबरमहलमा खुलेको बसेरा बुटिक होटेल र बुढानिलकण्ठमा खुलेको पवेरा बुटिक होटेललाई लक्जरी हेरिटेज बुटिक होटेलमा वर्गीकरण गरिएको विभागको सूचीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment