Comments Add Comment

खेलाडीका रुपमा गर्न सक्ने यत्ति हो, अब व्यवस्थापनमा आउन मन छ : पारस खड्का

२० साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा आउने चाहेको बताएका छन् । तत्काल क्रिकेट एकेडेमी खोल्ने तयारीमा रहेका उनले नेपाल क्रिकेट संघ (क्यान)को आसन्न निर्वाचनबाट क्रिकेट व्यवस्थापनको भूमिकामा आफूलाई उतार्ने प्रयास गर्नेछन् ।

१० वर्षसम्म नेपालको कप्तानी गरेका पारसले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए । त्यसको भोलिपल्ट बुधबार सञ्चारकर्मीहरुमाझ उपस्थित खड्काले भने, ‘एउटा खेलाडीका रुपमा मैले पार्न सक्ने इम्प्याक्ट यति नै थियो । अब व्यवस्थापनमा आउन मन छ ।’

उनले अघि भने, ‘नेपाल क्रिकेटको कुनै न कुरै रोलमा मैले आफूलाई देखेको छु ।’

सन् २००४ मा नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका पारसले २००९ देखि २०१९ सम्म नेपालको कप्तानी गरे । उनकै कप्तानीमा डिभिजन ५ मा रहेको नेपाललाई आईसीसी क्रिकेट वर्ल्डकप लिग टूसम्म ल्याइपुर्‍याए, एकदिवसीय राष्ट्रको मान्यता दिलाए । नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्यो ।

एकदिवसीय विश्वकप खेल्ने र नेपाललाई टेष्ट राष्ट्र बनाउने उनको सपना अधुरै रह्यो । पूर्व कप्तान पारस भन्छन्, ‘१९९६ मा सदस्यता पाएको नेपालले २००४-०५ मा ओडीआई स्टाटस पाएको भए मेरो जीवनकालमै टेष्ट खेल्न्थ्यौं होला ।’

अझै पनि आफ्नै जीवनकालमा नेपाल टेष्ट नेसन बनेको हेर्ने उनको चाहना छ। त्यसका लागि आफूले सकेको भूमिकाका लागि सधैं तयार उनले रहेको बताए ।

चुनाव जितेर आउन सहज छैन

पारसका अनुसार जब उनी कप्तान भए, त्यसको केही समयमै खेल जीवनपछि के भन्ने सोच्न थालेका थिए । २००९ मा कप्तान भएको एक डेढ वर्षमा के-के गर्न सकिन्छ भन्ने आइडिया भएको भन्दै उनले अघि भने, ‘भोलि गएर क्रिकेट संघमा कुनै न कुनै भूमिकामा आउन सक्यो भने …भन्ने लाग्यो ।’

तर क्रिकेट संघमा चुनावी प्रक्रियाबाट आउनुपर्ने भएकाले चुनौतीपूर्ण रहेको उनले बताए । पारस भन्छन्, ‘जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म चुनावी प्रक्रियाबाट आउनु छ । तर म फेरि भन्छु, व्यक्तिभन्दा माथि उठेर आउनुपर्छ ।’

क्रिकेट व्यवस्थापनमा आउने निर्णयलाई करियरको शुरुवात मानेका पारस क्रिकेट संघको पदाधिकारी वा कोषाध्यक्ष वा अध्यक्ष हुँदैमा सबथोक नहुने बताउँछन् । ‘पारस खड्का क्यानमा आउनुपर्छ’, ‘पारस खड्का आयो भने यो गर्छ’ भन्ने मानिसहरुमा रहेको भन्दै उनले आफ्नो कारण मात्र नेपाली क्रिकेट यहाँसम्म नआएको बताए ।

‘म लगायत धेरै खेलाडी छन्, मभन्दा अगाडिका खेलाडीहरु पनि छन्, क्रिकेटका अरु स्टेकहोल्डरहरु पनि छन्,’ उनले भने, ‘आगामी दिनमा साँच्चै व्यवस्थित गर्न मेरो अनुभव र ज्ञानले मद्दत गर्छ भने त्यो भूमिका लिन नयाँ बाटो रोजेको छु ।’ सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै उनले भने, ‘जो हुनुहुन्छ, उहाँहरुलाई मिलेर काम गर्नुपर्छ । जसरी खेलाडी र प्रशिक्षकले आफ्नो जिम्मेवारी निभाएका छन्, अरुले पनि आफ्नो जिम्मेवारी लिनुपर्छ ।’

केन्द्रको बजेट ताक्ने प्रवृत्तिका कारण प्रभावकारी काम हुन नसकेको भन्दै उनले भने, ‘भएका स्टेकहोल्डरहरुलाई अझ जिम्मेवार बनाउनुपर्छ र मेरिट बेसमा काम गर्नुपर्छ ।’

त्यो वातावरण मिस गर्छु

झण्डै दुई दशक नेपालको राष्ट्रिय टोलीमा रहेका पारससँग खुशी, आँसु, हाँसोका धेरै सम्झना छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि क्रिकेट टिमभित्रको वातावरण मिस गर्ने उनले सुनाए ।

टिममा हुँदा विभिन्न पृष्ठभूमिबाट आएका सबैको गोल नेपाललाई जिताउनु हुने गरेको भन्दै पारसले भने, ‘सबैले अन फिल्ड मात्र हेर्नुहुन्छ, तर अफ फिल्ड धेरै थोक हुन्छ । त्यसलाई मिस गर्छु ।’

२८ असोज २०७६ मा कप्तान छाड्दा नै अन्तर्राष्ट्रिय क्रिकेट छाड्ने कि ? भन्ने सोच आएको सुनाएका उनले टिमलाई सहयोग होस् भनेर खेलिरहेको बताए । अब सही समय आएर सन्यास लिएको भन्दै उनले युवा खेलाडीहरु क्षमतावान् रहेको र विश्वकपको तयारीका लागि पर्याप्त समय रहेको बताए ।

पारसले घरेलु क्रिकेट खेल्न मन रहेको बताए, तर खेल्ने नखेल्ने निर्णय लिइसकेको सुनाए ।

राजनीतिमा आउन पनि सक्छु

पूर्व कप्तान पारसले आफ्नो अहिलेको प्राथमिकता क्रिकेट व्यवस्थापन नै भएको बताएका छन् । क्रिकेट व्यवस्थापनलाई कुनै ठाउँमा पुर्‍याउन सकें र अवसर आयो भने राजनीतिमा आउन सक्ने उनले सुनाए । ‘राजनीतिमा सही अवसर आयो भने सोच्छु, तर मेरो प्रभाव कति पर्छ भन्ने हेर्छु’ उने अघि भने, यदि म कुनै संस्था वा पार्टीसँग जोडिएर देशका लागि भ्यालू एड गर्न सक्छु भने तयार हुन्छु । तर अहिलेका लागि क्रिकेट राम्रो होस् भन्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment