Comments Add Comment

पद्मरत्न तुलाधरको निधन

१८ कात्तिक, काठमाडौं । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।

उनको ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको हो । मष्तिस्कघातका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो ।

उनको मृगौलाले काम गर्न छाडेपछि ५ दिनअघि नर्भिक अस्पताल लगिएको थियो । नर्भिकमा दुई तीन पटक डायलासिस गरिएको थियो ।

नर्भिकमा डा. पंकज जलान, डा. रमेश चोखानी डा. यादव भट्टलगायतको चिकित्सकको टिमले तुलाधरको स्वास्थ्य जाँच गरेको थियो ।
आइतबार मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि उनको निधन भएको अस्पतालले जनाएको छ ।

तुलाधरको शव अस्पतालबाट दिउँसो निजी निवास लाजिम्पाट लगिएको छ ।  उनको परम्पराअनुसार सोमबार शोभा भगवतीमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ  ।

प्रधानमन्त्रीद्वारा दुख व्यक्त 

वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन् । आइतबार दिउँसो ट्विटरमार्फत उनले तुलाधरले नेपालको वाम आन्दोलनमा पुर्‍याएको योगदान सदा स्मरणीय रहने बताएका छन् ।

प्रधानमन्त्रीले तुलाधार पत्नी नीलशोभा तुलाधारलाई आइतबार शोक सन्देश पठाउँदै कठिन परिस्थितिदेखिका आफ्ना मित्रको निधनले मर्माहत भएको जनाएका छन् । प्रधानमन्त्रीले तानाशाहीविरुद्धको संघर्षका क्रममा तुलाधारसँग बिताएका क्षणहरुकोसमेत स्मरण गरे ।

‘उहाँले विभिन्न संघर्षमा निर्भिकतापूर्वक देश, जनता र लोकतन्त्रका पक्षमा गरेका अनवरत योगदान मेरो स्मृतिमा आइरहेका छन् । तिनलाई म अत्यन्त आदरपूर्वक स्मरण गरिरहेको छु,’ शोक सन्देशमा भनिएको छ, ‘पद्मरत्न तुलाधार एक देशभक्त, लोकतन्त्रवादी, सामाजिक न्याय तथा समानताका पक्षधर र देशमा शान्ति एवं समृद्धि प्राप्तीको संघर्षका अथक अगुवा र वास्तविक जनपक्षीय व्यक्ति हुनुहुन्छ ।’

प्रधानमन्त्रीले शान्ति र मानवअधिकारका अभियन्ताकोरुपमा समेत स्थापित तुलाधारको निधनले देश र मानवअधिकारको आन्दोलनमा गम्भीर क्षति पुगेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment