Comments Add Comment

सत्यनारायणको गोरखधन्दा : भारतबाट आफन्त बोलाउँदै, नागरिकता थमाउँदै

१९ कात्तिक, मोरङ । भारतीय नागरिकले नेपाली नागरिकता बनाएको नौलो घटना होइन । तर, विराटनगर महानगरपालिका-१ का एक व्यक्तिले भने भारतमा रहेका आफन्तलाई नेपाल बोलाउने र छोराको नागरिकता बनाइदिने गोरखधन्दा नै चलाएको खुलेको छ ।

सातौं छोराका रुपमा नागरिकता बनाउने क्रममा उनी हालै मात्र पक्राउ परेका छन् । उनी हुन्, ५५ बर्षीय सत्यनारायण पोद्दार । उनले नेपाली र भारतीय गरि दुई श्रीमती छन् । २०७१ सालयता मात्र सात जना भारतीय नागरिकलाई बुबा बनेर नेपाली नागरिकता बनाइदिएको खुलेको हो ।

भारतबाट ६ जना आफन्तलाई ल्याएर छोराको नेपाली नागरिकता दिलाउन सफल भएका सत्यनारायण सातौं ‘छोरा’ सञ्जितलाई नागरिकता बनाउने क्रममा पक्राउ परेका थिए । वडा कार्यालयको सिफारिसप्रति आशंका गर्दै छानविन गर्ने क्रममा भारतीय नागरिकलाई नागरिकता दिलाउन खोजेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान थापाले जानकारी दिए ।

पोद्दारले चार जनालाई कर्मचारी र २ जनालाई जनप्रतिनिधिसँग मिलेर भारतीयलाई नेपाली नागरिकता दिलाएको अदालतमा अभियोग पत्रमा उल्लेख छ ।

विराटनगर १ का रमेश साहसँग सम्बन्ध सुरु भएपछि भारतबाट आफन्त बोलाउँदै छोरा बनाएर नागरिकता बनाउन थालेको बयान पोद्दारले दिएका छन् ।

२०६३ सालको नागरिकता टोली आएका बेला साहले पोद्दारलाई कोही मान्छे भए नागरिकता बनाउन भनेका थिए । त्यसबेला उनले मान्छे ल्याएनन् ।

२०७१ साल भारतबाट आफन्त ल्याउँदा सर्जमिन मुचुल्का बनाउन साहले नै सहयोग गरे । साहकै सहयोगमा वडा कार्यालयबाट सिफारिस ल्याएर २०७१ पुस ९ गते २५ बर्षी राजेन्द्र पोद्दारलाई नागरिकता दिलाए । सत्यनारायणले बुबा भएर नागरिकता दिएका राजेन्द्र भारत सहर्सा बस्ने मनोज पोद्दारका छोरा हुन् । मनोज नाताले सत्यनारायणको साढुदाइ पर्छन् । बयानका क्रममा उनले नागरिकता बनाइदिएका सबै भारतीय नागरिक आफ्न्त भएको बताएका छन् ।

यो पनि पढ्नुहोस भारतीयलाई नागरिकता दिलाउने आरोपी पोद्दार जेल चलान

२०७२ भदौ १५ गते २४ बर्षीय रोशनकुमार पोद्दारलाई आफैं बाबु बनेर नागरिकता बनाइदिए । रोशन सत्यनारायणको नाताले सम्धी पर्ने राजु पोद्दारका छोरा हुन् । २०७३ साउन २१ गते एकै साथ २ जना भारतीयलाई नेपाली नागरिकता उपलब्ध गराए । १८ वर्षीय मिथलेश पोद्दार र १९ बषर्ीय पवन पोद्दारलाई बुबा बनेर सनाखत गरिदिए । नागरिकता लिएका मिथलेश र पवन सत्यनारायणका साढु दाइ उमेश पोद्दारका छोरा हुन् । उनीहरु भारत बिहारको जदियमा बस्दै आएको सत्यनारायणले बयानका क्रममा उल्लेख गरेका छन् ।

३ बर्षको अन्तरमा ४ जनालाई बुबा बनेर नागरिकता बनाइदिएका सत्यनारायणले २०७४ बैशाख २८ गते २० बर्षीय जितेन्द्र पोद्दारलाई नागरिकता बनाइदिए । जितेन्द्र उनका साढुदाइ दयानन्द पोद्दारका छोरीज्वाइँ हुन् । प्रत्येक नागरिकता बनाउन २२ हजार खर्चिएका पोद्दारले सबै कागजपत्र भननेर कीर्ते बनाएको खुलेको छ ।

गत बर्ष स्थानीय तहको निर्वाचनमा रमेश साह वडा सदस्यमा निर्वाचित भएपछि सत्यनारायणलाई झनै सहज भयो । वडा सदस्य साहले कागजी प्रकृया पुरा गरेपछि २०७५ भदौ १४ गते २० बर्षीय भारतीय नागरिक धिरज पोद्दारको नेपालको नागरिकता बनाइदिए ।

गत असोज ११ गते कान्छी श्रीमतीबाट जन्मिएका जेठो छोरो २२ बषर्ीय सञ्जितलाई नागरिकता बनाउन खोज्दा पक्रउ परेका हुन् । भारतमै बस्दै आएका धिरज र सञ्जित दुबैसँग भारतीय नागरिकता पनि छ ।

२०३७ सालमा ललितादेवीसँग पहिलो विवाह गरेको पोद्दारले २०४२ सालमा भारतीय नागरिक ललिता पोद्दारसँग प्रेम विवाह गरेका थिए । भारतमै बस्दै आएकी कान्छी श्रीमतीको २०५८ सालमा मृत्यु भएको थियो ।

भारतमा रहेका आफन्तले बारम्बार आफ्ना छोरोको नागरिकता बनाइदिन भनेपछि नेपाली नागरिकता बनाइदिएको बयान पोद्दारले दिएका छन् ।

नागरिकताका लागि आवश्यक कागज मिलाउने जिम्मा लिएका विराटनगर-१ का वडा सदस्य रमेश साहले फर्जी बुबा बन्न सुझाएका थिए ।

नागरिकता व्यापारमा वडा सदस्य

४५ बर्षीय साह स्थानीय स्तरमा सामाजिक पहिचान बनाएका व्यक्ति हुन् । नेपाली कांग्रेसमा आवद्ध साह गतबर्ष स्थानीय तह निर्वाचनमा वडा सदस्य चुनिए । पोद्दारको बयानअनुसार साहले नागरिकताका लागि कागज मिलाए बापत प्रतिव्यक्ति २२ हजार रुपैयाँ लिने गरेका थिए ।

सरकारी वकिलको कार्यालय मोरङमार्फत दायर गरिएको ६ वटै अभियोगमा सत्यनारायण पोद्दार र वडा सदस्य रमेश साहलाई मुख्य प्रतिवादी बनाइएको छ । जितेन्द्र पोद्दार, मिथलेश पोद्दार, राजेन्द्र पोद्दार र रोशनकुमार पोद्दारलाई वडाबाट सिफारिस गर्ने वडासचिव पुष्पा तिम्सिनालाई ४ वटा अभियोगमा प्रतिवादी बनाइएको छ ।

यस्तै धिरज र सञ्जित पोद्दारलाई नागरिकता दिन सिफारिस गर्ने वडा अध्यक्ष उद्धव अर्याललाई २ वटा अभियोगमा प्रतिपक्षी बनाइएको छ । यसैगरी सर्जमिन मुचुल्कामा साची बस्ने विराटनगर महानगर १ बस्ने ४७ बर्षीय सिमादेवी राम (हरिजन), ५३ बर्षीय मनोज हरिजन, ६४ बर्षीय छेटेलाल मुखिया, सुनसरी कोशी गाउँपालिका १ बस्ने सुरेश पोद्दार, कटहरी गाउँपालिका १ बस्ने ४३ बर्षीय बैधनाथ शर्मालाई एउटा अभियोगमा विपक्षी बनाइएको जिल्ला न्यायधिवक्ता पुन्यप्रसाद पाठकले जानकारी दिए । बिषय बस्तु एउटै भएपनि घटना भएको मिति फरक फरक भएका कारण छुट्टा छुट्टै अभियोग दर्ता गरिएको उनको भनाइ छ ।

आइतबार दुई जना जनप्रतिनिधिसहित १६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ‘झुुठा विवरण पेश गरी विदेशीले नागरिकता लिएको, दिलाएको’ मुद्दा दायर भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिए ।

सत्यनारायण पोद्दार पक्राउ परेका छन् भने वडाध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह, वडा सचिव पुष्पा तिम्सिनासहित अन्य फरार रहेको जिप्रका मोरङका प्रहरी नायव उपरीक्षक निशान थापाले बताए ।

के छ कानुनी व्यवस्था ?

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले १६ जना विरुद्ध नागरिकता ऐन २०६३ को दफा २१ उपदफा १, २ बमोजिम मुद्दा दायर गरिएको हो ।

सो ऐनको दफा २१ उपदफा १ मा बिदेशी नागरिकले झुठो विवरण पेस गरी नागरिकता लिएमा १ बर्षदेखि ५ बर्षसम्म कैद सजाय वा पचास हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

दफा २ मा सिफारिस वा सनाखत गर्ने व्यक्तिको हकमा ६ महिना देखि ३ बर्षसम्म कैद वा २५ हजारदेखि ५० हजारसम्म जरिवाना वा दुबै सहज हुने व्यवस्था छ । साक्षी बस्ने र सिफारिस गर्ने विरुद्ध दफा २१ उपदफा २ र नागरिकता लिनेलाई दफा १ अनुसार कारवाहीको माग गरिएको जिल्ला न्यायधिवक्ता पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment