Comments Add Comment

कोहलीको विवादित बयान: विदेशी खेलाडी मन पराउनेले भारत छाड्नुपर्छ

भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली आफ्नो एउटा पुरानो अभिव्यक्तिलाई लिएर विवादमा तानिएका छन् । उनले बुधबार मात्र आफ्नो ३० औं जन्मदिन मनाएका थिए ।

जन्मदिनका अवसरमा लन्च गरिएको एउटा एपका लागि बनाइएको भिडियोमा बिराटको पुराना अभिव्यक्ति समेटिएको छ, जसमा उनले विदेशी खेलाडी मन पराउने व्यक्तिलाई भारतमा बस्ने हक नभएको बताएका छन् । टि्वटरमा आफ्नो आलोचना गर्ने एक भारतीयलाई जवाफ दिने क्रममा कोहलीले यस्तो बताएका थिए ।

बिराटलाई एक यूजरले लेखेका थिए, ‘तिमी ओभररेटेड खेलाडी हौ । व्यक्तिगतरुपमा म तिमीमा खास केही देख्दिनँ । मलाई भारतीय ब्याट्सम्यानहरुको तुलनामा बि्रटिश र अष्ट्रेलियन ब्याट्सम्यान मन पर्छन् ।’

यसमा बिराटले जवाफ दिए, ‘मलाई लाग्दैन कि तिमी भारतमा बस्नु ठिक छ । तिमी अन्तै बस्नुपर्छ । हाम्रो देशमा बसेर तिमी अन्य देशका खेलाडीलाई कसरी मन पराउन सक्छौ ? मलाई मन पराउँदैनौ ठिक छ, तर हाम्रो देशमा बसेर अन्य देशका चिजहरु मन पराउनु राम्रो होइन । आफ्नो प्राथमिकता तय गर ।’

बिराटको यस्तो अभिव्यक्तिको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ । बिराट स्वयम्ले विगतमा आफूलाई मन पर्ने भनेर थुप्रै विदेशी खेलाडीको नाम लिने गरेका थिए । सन् २००८ मा उनले आफ्नो सर्वाधिक पि्रय ब्याट्सम्यान दक्षिण अपि|mकाका हर्सेल गिब्स भएको बताएका थिए । यति मात्र होइन, २०१६ मा पनि उनले समकालिन ब्याट्सम्यानमा न्यूजिल्यान्डका केन विलियम्सन र ईंग्ल्यान्डका जोय रुट आफूलाई सर्वाधिक मन पर्ने बताएका थिए ।

बिराटले आफ्नी प्रेमिका अनुष्कासँग इटलीमा बिहे गरेका हुन् । यसबाट पनि उनको कथित देशप्रेम झल्किने आलोचकहरुले टिप्पणी गरेका छन् । यसैगरी उनले थुप्रै विदेशी ब्रान्डहरुको प्रमोसनमा पनि काम गर्दै आएका छन् ।

बिराटले आफ्नो सर्वाधिक मन पर्ने खेलाडीको रुपमा टेनिस स्टार रोजर फेडेररको नाम लिने गरेका छन् ।

उनले फेडेररको बारेमा भनेका थिए, ‘उनी वास्तवमै शानदार खेलाडी हुन् । उनी परिवारलाई पर्याप्त समय दिन्छन् । आलोचनाहरुको परवाह गर्दैनन् । जीवनमा उनले आफ्ना प्राथमिकताहरु तय गरेका छन् । म उनको अति सम्मान गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment