Comments Add Comment

तनहुँ जलविद्युत् आयोजनाः थप ३ कराेड मुआब्जा वितरण

२२ कात्तिक,  दमौली । कात्तिक एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाका लागि  तीन करोड ११ लाख ६२ हजार मुआब्जा वितरण गरेको छ ।

व्यास नगरपालिका–५ वेतेनीका आयोजना प्रभावित ६२ मध्ये २० परिवारले मुआब्जा रकम बुझेको आयोजनाका साइट इञ्चार्ज इञ्जिनियर विदुर अधिकारीले बताए ।

मङ्गलबारसम्म अधिग्रहण गरिएको ६० रोपनी जग्गामध्ये नौ रोपनीको मुआब्जा रकम वितरण गरिएको छ । आयोजनाले जग्गा अधिग्रहणका लागि सात करोड ७३ लाख विनियोजन गरेको छ ।

बाँध जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गाका लागि आयोजनाले अधिग्रहण गरेको हो । जग्गाको प्रकृति हेरेर प्रतिरोपनी रु नौ लाख ५० हजारदेखि २० लाखसम्म मूल्य निर्धारण गरिएको छ ।

पहिरोमा परेको जग्गाको मुआब्जा प्रतिरोपनी दुई लाख ४० हजार निर्धारण गरिएको छ । नदी फर्काउन तथा बाँध निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाखको सम्झौता भएको छ ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण, विभिन्न उपकरण आपूर्ति, जडान तथा सञ्चालनका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग तीन अर्ब ८३ करोड १४ लाखको सम्झौता भएको छ ।

देवीडाँडामा भ्यू टावर 

व्यास नगरपालिका–१० मा नौ सय मिटर अग्लो भ्यू टावर बन्ने भएको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सो ठाउँमा भ्यू टावर निर्माण गरिएको हो । उद्यान निर्माण गर्नेसमेत योजना रहेको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।

यहाँबाट दमौली उपत्यका, मिर्लुङकोट, छिम्केश्वरी डाँडा, तनहुँसुर दरबार, क्यामिनकोट, श्याम्घाको गलेखामकोट, मानहुँकोट, मादी उपत्यका, कलेस्ती उपत्यका, फराकचौर उपत्यका, गजौडे उपत्यकाका साथै कास्कीको नेपालपाखाको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

‘भ्यू टावर र व्यवस्थित उद्यान बनाउन सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ’, उनले भने । सो ठाउँमा रुद्रदेवीको मन्दिरसमेत छ । वडा कार्यालयले मन्दिर जीर्णोद्धार गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment