Comments Add Comment

बालबालिकामा निमोनिया र यसबाट जोगाउने उपाय

नोभेम्बर १२ का दिन संसारभर बिभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व निमोनिया दिवस मनाइन्छ । दिवसको यसबर्षको नारा ‘स्टप निमोनिया’ अर्थात ‘निमोनियालाई रोकौं’ रहेको छ ।

निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो । बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगमध्ये निमोनिया मुख्य रोग हो।

निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो, जसमा फोक्सोका कोषहरू संक्रमित भएर सुनिन्छन् अनि स्वासप्रशवासमा समस्या हुन्छ । निमोनिया धेरैजसो सुक्ष्म किटाणूहरु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसहरुले गराउँदछन् । उमेर तथा अन्य स्वास्थ्य अवस्थाहरुले गर्दा यी विभिन्न किटाणुहरुको संक्रमणले प्रभाव पार्दछ ।

समुदायमा हुने निमोनिया २ महिना भन्दा कम उमेरमा अधिकांशमा स्ट्रेप्टोकोकस तथा इ-कोली लगायतका ब्याक्टेरियाहरुले गर्दछन् । त्यसैगरी, ३ महिनादेखि पाँच बर्षसम्मका बालबालिकाहरुमा चाहिँ स्ट्रेप्टोकोकस निमोने, हिमोफिलियस इन्फ्लुएन्जा, स्टेफाइलोकोकस अरियस लगायतका ब्याक्टेरियाहरुले निमोनिया गराउँदछन् ।

त्यसैगरी, पाँच बर्ष भन्दा माथिका बालबालिकाहरुमा माइक्लोप्लास्मा निमोने र क्लामाइडिया भन्ने किटाणुको संक्रमण बढी हुन्छ । एचआईभी एड्स भएका बालबालिकाहरुमा निमोसिस्टिक जेरोभेकाइ, माइकोब्याक्टेरियम ट्युबरकोलोसिस (क्षयरोगको जिवाणु) र फङ्गसमा  एस्परजिलोसिसको संक्रमणले बालिकाहरुमा निमोनिया गराउँदछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर हरेक बर्ष ५ वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ भने नेपालमा ५ वर्षमुनिका ३५ लाख बालबालिकामध्ये ५६ सय जनाको मृत्यु हुन्छ । मृत्यु हुनेमध्ये ९८५ बालबालिकाहरु विकासोन्मुख देशका हुन्छन् ।

निमोनियाका लक्षणहरु

सुरुमा खोकी लाग्ने, नाकबाट सिंगान बग्ने र हल्का ज्वरो आउने साधारण रुघाखोकी लाग्ने र पछि छिटो छिटो सास फेर्ने सास फेर्न गाहो हुने (कोखा हान्ने) गर्दछ । कडा किसिमको निमोनियामा ज्वरो १०२ फारेनहाइड भन्दामाथि आउँने हुन्छ ।

यसमा बालबालिकाले खान र पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ र कसै कसैमा सास फेर्दा अस्वाभाविक आवाज समेत आउने गर्दछ। छिटो छिटो सास फेर्ने कोखा हान्ने निलो हुने जस्ता लक्षणहरु रोगको अबस्था बिग्रदै जाँदा बढ्दै जान्छन् ।

निमोनियाको उपचार

केहीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई औषधि दिएर घर पठाउन सकिन्छ । अवस्था सामान्य भएकाहरूलाई भने घरमै सामान्य हेरविचार गरेर राख्न सकिन्छ । निमोनियाको उपचार एन्टिवायोटिक र सरल तरिकाबाट गर्न सकिन्छ । नवजात शिशुहरुलाई अस्पताल भर्ना गरेर उपचार गर्नु आवश्यक हुन्छ ।

बालबालिकाले छिटो छिटो श्वास फेरेमा, कोखा हानेमा, झोल खाने कुरा खान नसकेमा, आमाको दूध चुस्न नसके समयमै उपचार नगरे बिरामीको स्वास्थ्य झन् झन् बिग्रने खतारा हुन्छ । त्यसैले तत्काल अस्पताल गएर उपचार सुरु गरिहल्नु अत्यन्त जरुरी छ ।

निमोनियाबाट कसरी जोगाउने ?

बालबालिकाहरु निमोनियाको उच्च जोखिममा रहेका हुनाले उनीहरुलाई निमोनियाबाट जोगाउन बिशेष ध्यान दिनुपर्छ । नवजात शिशुहरुलाई आमाको दुध पर्यप्त मात्रामा खुवाउनुपर्छ । कुपोषणबाट जोगाउनु पर्छ । खोपहरु समयमा लगाउनुपर्छ । धुवाँ धुलो र प्रदुषणबाट जोगाउनु पर्छ । संक्रमित व्यक्तिहरुबाट बालबालिकाहरुलाई टाढा राख्नुपर्छ । बालबालिकाहरुलाई रुघाखोकी र ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा परामर्ष तथा उपचारका लागि लैजानुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा बालबालिकाहरुलाई खुवाउनु अघि राम्रोसँग हात धुनुपर्छ ।

(रिजाल नेपाल मेडिकल कलेज टिचिङ हस्पिटलका उप प्राध्यापक तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट पेडियाट्रिक पल्मोनोलोजिष्ट हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment