Comments Add Comment

बालुवाटारमा ‘अश्लील रेकर्ड’ सुनेपछि हटाइएका मन्त्री सोडारी भन्छन्- परिबन्दमा परें

२८ कात्तिक, काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री र पार्टीबाटसमेत निश्कासनमा परेका नेकपा नेता दीर्घ सोडारीलाई पार्टीको शीर्ष नेतृत्वको निर्देशनपछि कारवाही गरिएको खुलेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीसहित प्रदेश कमिटीका पदाधिकारीलाई बालुवाटारमै बोलाएर सोडारीलाई हटाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।

तत्कालीन एमालेका कैलाली जिल्ला अध्यक्षसमेत रहेका सोडारीविरुद्ध आर्थिक र चारित्रिक विचलनका धेरै उजुरी परेको तथा कतिपय आपत्तिजनक खालका प्रमाण समेत फेला परेपछि बर्खास्त गरिएको प्रदेश अध्यक्ष कर्णवहादुर थापाले बताएका छन् । प्रदेश इञ्चार्ज भीम रावल, अध्यक्ष थापा र मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतसँग प्रधानमन्त्री ओलीले सोडारीका बारेमा छलफल गरेका थिए ।

स्रोतका अनुसार अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाललाई समेत बालुवाटारमा सोडारीको एउटा फोन संवाद सुनाइएको थियो । ‘हामीले चाहिँ आधा सुनेपछि अब भयो भनेर उठ्यौं’ प्रदेश कमिटीका एक पदाधिकारीले भने ‘बाध्य भएर कारवाही गरिएको हो । पहिले पनि ओलीको इच्छा विपरीत भीम रावलले उनलाई मन्त्री बनाउनुभएको थियो, तर अहिले जोगाउन सकिएन’ ।

प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले सरकार र पार्टीको जिम्मेवारीबाट हटाउँदा अपनाउनुपर्ने सबै प्रक्रिया अपनाएर सोडारीलाई कारवाही गरिएको जानकारी दिए । उनले मुख्यमन्त्रीले पनि सम्बन्धित ठाउँमा जानकारी गराएको र पार्टी केन्द्रले प्रदेश कमिटीलाई अधिकार दिएकाले पदाधिकारी बसेर निर्णय भएको बताए ।

सोडारी ६ वर्षदेखि कैलालीमा तत्कालीन एमाले र हाल नेकपाको प्रमुख छन् । उनी पार्टीभित्र माधव नेपाल समूहमा छन् । माधव नेपाल समूहभित्र पनि उनी घनश्याम भुसाल र योगेश भट्टराई निकट मानिन्छन् । एग्रेसिभ स्वभावका सोडारीको पारिवारिक समस्या थियो । यसबीचमा उनी विभिन्न प्रकरणमा विवादमा मुछिएका थिए ।

प्रदेश कमिटी इञ्चार्ज भीम रावल माधव नेपाल समूहकै भए पनि सोडारीलाई जोगाउने अवस्था नरहेको रावलनिकट स्रोतले जनाएको छ । रावलले सोडारीलाई पार्टी निर्णयविरुद्ध उत्तेजक अभिव्यक्ति नदिन निर्देशन दिएपछि उनी सम्हालिएका छन् । सोडारीले आफूलाई सिध्याउन प्रदेश अध्यक्ष कर्ण थापा, केन्द्रीय सदस्य नारदमुनि राना थारु लगायतका नेता लागेको र उनीहरुले अध्यक्ष ओलीलाई समेत प्रभाव पारेको गुनासो आफू निकटस्थसँग गरेका छन् ।

प्रदेश मन्त्री हटाउन प्रधानमन्त्रीकै निर्देशन किन ?

संविधानअनुसार प्रदेश सरकारका मन्त्रीको नियुक्ति गर्ने र हटाउने अधिकार मुख्यमन्त्रीलाई छ । तर, नेपालमा पहिलो पटक संघीयताको अभ्यास भइरहेकाले मुख्यमन्त्रीले संवैधानिक अधिकार एकल रुपमा प्रयोग गर्न भने सकेका छैनन् वा पाएका छैनन् । व्यवहारमा प्रदेशको मन्त्री होइन, अन्य राजनीतिक नियुक्तिमा समेत पार्टी केन्द्रको निर्देशन चल्ने गरेको छ ।

प्रदेश २ बाहेक अन्य ६ वटै प्रदेशमा नेकपाको सरकार छ । ६ जना मुख्यमन्त्रीमन्त्री तत्कालिन एमालेका ४ जनामध्ये चारैजना अध्यक्ष ओली निकटका छन् । अन्य दुई मुख्यमन्त्री अर्का अध्यक्ष प्रचण्ड निकटस्थ छन् । यिनीहरुले गर्ने निर्णयमा अध्यक्षहरुको भूमिका निर्णय हुने गरेको नेकपा नेताहरु बताउछन् ।

प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई हटाउने बेला पनि मुख्यमन्त्री डोरमणि पौडेल काठमाडौं आए । उनले शिक्षण अस्पतालमै पुगेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर अनुमति लिएपछिमात्रै स्थापितलाई मन्त्रीबाट बर्खास्त गरेका थिए ।

सोडारीलाई हटाउने बेला पनि सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले प्रधामन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग भेटेका छन् ।

प्रदेश कमिटी नबनेसम्म केन्द्रबाट मुख्यमन्त्रीलाई निर्देशन दिनु स्वाभाविक भए पनि अब बिस्तारै प्रादेशिक अधिकार प्रदेश कमिटीमा हस्तान्तरण हुने नेकपा नेताहरु बताउँछन् । प्रदेशमा इञ्चार्ज र अध्यक्षसहितको पदाधिकारी टोली बनिसकेकाले प्रदेश कमिटीलाई नै बलियो बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

सुदूरपश्चिमका मन्त्री सोडारीलाई बर्खास्त गर्ने सन्दर्भमा भने प्रदेश कमिटीले नै निर्णय गरेको सचिव चौधरीले बताए । उनले आवश्यक ठाउँहरुमा परामर्श गरिए पनि निर्णय प्रदेश कमिटीबाटै भएको बताए ।

सोडारीले भने-पार्टी निर्णय मान्छु

यसैबीच प्रदेश सरकार र पार्टी दुवैतिर कारवाहीमा परेका सोडारीले पार्टी निर्णय मान्य रहेको प्रतिक्रिया दिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै सोडारीले आफूलाई अध्यक्ष तथा प्रधानमन्त्री ओलीकै निर्देशनमा कारवाही गरिएकाले कुनै प्रतिक्रिया नरहेको बताए ।

सोडारीले भने- प्रदेश इञ्चार्ज भीम रावलले मलाई ममाथि लागेका अभियोगबारे जानकारी गराएर कारवाही गर्ने निर्णय सुनाउनुभयो । म ती आरोपबारे अहिले कुनै प्रतिवाद गर्न चाहान्न । पार्टीले जे निर्णय गरेको छ, त्यसलाई सम्मान गर्छु । मेरो साधारण सदस्यता खोसिएको होइन, जिम्मेवारीबाट मात्रै हटाइएको हो ।

सोडारीले आफू अध्यक्ष भएका बेला पहिलोपटक पार्टीले कैलाली जिल्लामा एकल बिजय हासिल गरेको बताए । उनले प्रदेश सरकारले ल्याएका लोकपि्रय कार्यक्रममा पनि आफ्नो योगदान रहेको भन्दै आफू परिबन्दमा परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment