२९ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार सेयर बजारमा ३ दशमलव ३१ अंकको गिरावट आएको छ । बिहीबार ३ दशमलव ३१ अंकले ओरालो लागेर नेप्से परिसूचक १ हजार २ सय ५ दशमलव ५८ अंकमा आइपुगेको छ ।
अनलाइन कारोबार प्रणाली उद्घाटन भएको दिनदेखि नै ओरालो लाग्न शुरु भएको सेयर बजार मंगलबारमात्रै दोहोरो अंकले बढेको थियो । यद्यपि, बुधबार भने १ अंकले पनि सेयर बजार उकालो लाग्न सकेन । बिहीबार बढ्ने अपेक्षा गरिए पनि ३ अंक भन्दा माथिको गिरावट आएको हो ।
नेप्से परिसुचकमा गिरावट आए पनि कारोबार संख्या र कारोबार रकम दुबैमा सुधार देखिएको छ । दिनभरमा भएका ३ हजार ५ सय २० कारोबारबाट ८ लाख २७ हजार ८ सय ५६ कित्ता विभिन्न कम्पनीका सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम २३ करोड ९८ लाख ६८ हजार १ सय ४२ रुपैयाँकाे कारोबार भएको छ । बिहीबार सबैभन्दा धेरै प्रभु बैंकको कारोबार भएको छ । प्रभु बैंकको २ करोड ३१ लाख ८८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया 4