Comments Add Comment

तातोपानीको बाटो मर्मतमा तात्यो सरकार, जेठसम्म नाका खुल्ने दाबी

५ मंसिर, काठमाडौं । साढे तीन वर्षदेखि बन्द रहेको नेपाल–चीन तातोपानी नाका आगामी जेठसम्ममा सञ्चालन गर्ने तयारी भएको छ । विनाशकारी भूकम्पपछि बन्द रहेको यस सडक सञ्चालन गर्न दुवै देशले कामलाई तीव्रता दिएका छन् ।

तातोपानी नाका सञ्चालनमा ल्याउन सडक विभागले सडक मर्मत–सम्भार र पुनस्र्थापनाका लागि चाँडै टेण्डर गर्दैछ । यो टेण्डर प्रक्रिया टुंग्याएर जतिसक्दो छिटो सडकमार्ग मर्मत गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बतायो ।

दशैंअघि नाका जोड्ने सडकको निरीक्षणका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ तातोपानी पुगेका थिए ।

सरकारले आगामी ‘मे’ महिनासम्ममा नाका खोलिसक्ने गरी काम तीव्र पार्न सडक विभागलाई निर्देशन दिएको छ । २०७२ सालको भूकम्पले नेपालको तातोपानी र चीनको खासातर्फ दुबैतिरका भीर पहरा भत्काएसँगै चीन सरकारले यो नाका बन्द गरेको थियो ।

त्यसपछि पुनर्निर्माणमा ढिलाइ हुँदा नाका खुल्न सकेको छैन ।

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख शिवहरि सापकोटाले तातोपानी नाकासम्मको सडक सुचारु गर्न तीव्र गतिमा काम गरिने बताएका छन् । तर, जीर्ण सडक मर्मतका लागि रकम अभाव हुने देखिएको छ । अहिले ३५ करोड रुपैयाँ मात्रै छुट्याइएको छ, जुन पर्याप्त नभएको अधिकारीहरु बताउँछन् ।

भूकम्प र बाढीका कारण सडकका विभिन्न खण्ड क्षतविक्षत छन् । कतिपय पुलहरुमा पनि समस्या छ ।

काठमाडौंबाट १११ किलोमिटर उत्तरपश्चिममा अवस्थित तातोपानीका बासिन्दा नाका बन्द भएपछि मारमा छन् । भूकम्पअघि चीनसँगको मुख्य ब्यापारिक नाका रहेको तातोपानी अहिले सुनसान देखिन्छ । २०७२ को बैशाख १२ अघिसम्म यस क्षेत्रका जनताको दैनिक जीवन चीनसँगको कारोबारले धानिन्थ्यो । तर, अहिले खासा बजार नै चीनले हटाइसकेको छ ।

सडक विभागका अधिकारीका अनुसार चीनले आफ्नो तर्फको सडकलगायतका भन्सार पूर्वाधारको निर्माणमा जोडबलका साथ काम गरिरहेको छ । यसैका कारण पनि अब तातोपानी नाका खोल्न चीन तयार भएको सरकारले बुझेको छ ।

चीन तातिएपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले तताएको हो । यो सडकमार्ग मर्मत गर्न चीन सरकार आफैंले पनि चासो दिएको थियो । तर, अहिलेसम्म यसबारे कुनै सम्झौता भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment