Comments Add Comment

लुम्बिनीमा मासु र मदिरा निषेध

५ मंसिर, बुटवल । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । पञ्चशील क्षेत्र घोषणासंगै अब लुम्बिनी गुरुयोजनाले समेटेको क्षेत्रभित्र पशु काटमार, मासु सेवन र मदिरा सेवन निषेध हुनेछ ।

प्राणी हिंसाबाट टाढा रहनु, मद्यपान नगर्नु, झूटो नबोल्नु, चोरी नगर्नु र व्यभिचार नगर्नु बुद्धका पञ्चशील सिद्धान्तमा पर्दछन् । यसअघि वनभोजमा आउने समूहले लुम्बिनी परिसरभित्रै लुकिछिपी मदिरा सेवन र मासुका परिकार बनाएर खाने गर्दथे । यसले विशेषगरी लुम्बिनी घुम्न आउने बौद्धमार्गी पर्यटकमा लुम्बिनीबारे नकारात्मक प्रभाव पर्न गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले एक कार्यक्रमकाबीच बुधबार लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरेका हुन् । उनले पञ्चशील घोषणाले शान्तिभूमि लुम्बिनीको छविलाई थप उचाईमा पु¥याई पर्यटन प्रवद्र्धनमा योगदान दिने धारणा राखे ।

उनले अबको ६ महिनापछि गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलबाट अन्तर्राष्टिय उडान शुरु भएसंगै लुम्बिनीमा पर्यटकको चाप बढ्ने भएकाले पर्यटन व्यवसायीलाई तयारी अवस्थामा रहन सुझाव दिए ।

लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले पञ्चशील क्षेत्रको प्रभावकारी कार्यान्वयनका लागि छिट्टै निर्देशिका बनाइने बताए ।

पञ्चशील घोषणा गरिएको क्षेत्रभित्र दुई ठूला होटलहरु होटल होक्के र कासाई होटेल रहेका छन् । यी होटलमा विदेशी पर्यटक सबैभन्दा धेरै बस्ने गर्छन् । यी दुई होटलका हकमा मासु र मदिराको बिक्री र सेवनलाई कसरी व्यविस्थत गर्ने भन्नेबारे अन्यौलता उब्जिएको छ ।

बौद्धमार्गीहरुले लुम्बिनी क्षेत्रका सबै होटलहरुमा मासु र मदिरा निषेध गरिनुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment