७ मंसिर, बर्दिबास । सडकको धुलोले सास्ती भएपछि बर्दिवास नगरपालिकावासीले जनप्रतिनिधिलाई धुलो खाने निम्ता दिएका छन् ।
शुक्रबार बिहान आधा घण्टा राजमार्ग अवरुद्ध गरेका स्थानीयवासीले नेता तथा जनप्रतिनिधिहरुलाई सार्वजनिक रुपमै धुलो खाने निम्ता दिएका हुन् ।
राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनको जाम भएको थियो । यात्रु अलपत्र परेका थिए । धुलोले आजित भएपछि राजमार्ग नै अवरुद्ध गर्नुपरेको उनीहरुले बताएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवासको मुख्य सडक भत्किएको एक वर्र्ष भइसक्दासमेत निमार्ण हुन नसक्दा धुलाम्मे बनेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत यो व्यस्त सडकखण्ड हो । सडक नबन्दा दुर्घटनासमेत बढ्ने गरेको छ ।
मुख्य सडकको सबै कालोपत्रे उप्किएको र निमार्णको जिम्मा पाएको ठेकेदार कम्पनीले समयमा काम नगरिदिदा आफूहरु धुलो खान बाध्य भएको बर्दिवासका व्यवसायी दीपक कार्कीले बताए । धुलोले आफूहरु व्यवसायबाट नै बिस्थापित भएको उनले गुनासो पोखे ।
धुलाको कारण सडक क्षेत्रका सबै व्यवसायी मारमा परेको बर्दिवास उद्योग बाणिज्य संघका महासचिव भवनाथ खतिवडाले बताए । यस्तै अवस्था रहिरहे सबै व्यापारी पलायन हुनुको विकल्प नभएको उनले बताए ।
बर्दिवासस्थित सिमरन कस्ट्रक्सन प्रा.लि.ले निमार्ण जिम्मा पाएको भएपनि एक वर्षदेखि काम अलपत्र अवस्थामा छ ।
सडक डिभिजन कार्यालय जनकपुरसँग ७१ लाखमा २०७४ मंसिरमा ठेक्का जिम्मा लिएको सिमरन कस्ट्रक्सनले २०७५ असार मसान्तमा निमार्ण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, काम गरेकै छैन ।
रिकरेन्ट मेन्टिनेन्स गर्न जिम्मा लिएको भएपनि सडकमा पटकपटक डोजर लगाउँदै त्यसै छाड्ने गरेको छ ।
बिगत ६ महिना देखि एक दर्जन पटक भन्दा बढी डोजर प्रयोग गरी सडक निमार्ण गर्ने सुरुआत गर्ने गरेको भएपनि त्यसै छाड्ने गरेको स्थानीयवासीले बताएका छन् ।
एक वर्षअघि सडक निर्माण थालिए पनि ठेकेदारको लापरबाहीले अझै पूरा हुन सकेको छैन । लगभग ५ सय मिटर सडक पूर्ण रुपमा जीर्ण बनेको छ ।
यतिका समय वित्दा पनि काम सम्पन्न नभएकाले अहिले सार्वजनिक रुपमै धुलो खाने निम्ता दिएको भन्दै स्थानीय शंकर फूयालले अझै समस्या समाधान नभए सडक पूर्ण रुपमा ठप्प पार्ने चेतावनी दिए ।
धुलोको कारण आँखाका बिरामी बढे
सडकमा उड्ने धुलोको कारण आँखाको बिरामी संख्या वृद्धि भएको छ । बिगत ६ महिनादेखि बर्दिवासस्थित आँखा उपचार केन्द्रमा आउने बिरामीको संख्यामा दोब्वर भएको बर्दिवास अँँाखा अस्पतालले जनाएको छ ।
जाँच गराउन आउने सबैमा आँखा पोल्ने, चिलाउने र पाक्ने समस्या देखिएको आँखा अस्पतालका सञ्चालक मुकुन्द पौडेलले बताए ।
आँखा रातो हुने, चिलाउने र बिजाउने समस्या भएका बिरामी बढी आउने गरेको उनले बताए । निजी अस्पतालमा मात्रै होइन सरकारी अस्पतालमा समेत धुलोको कारण आँखा जाँच गराउन आउने र श्वासप्रश्वासको बिरामीको संख्यामा उल्लेखनीय रहेको बर्दिवास अस्पतालले जनाएको छ ।
धुलोको कारण खोकी, नाकको सक्रमण, श्वासप्रश्वासमा समस्यामा भएको बिरामी धेरै आउने गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया 4