+
+

बुटवल पुगेर अर्जुननरसिंहले भने– देउवाको हुकुमी शैली अमान्य

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ८ गते ९:४९

८ मंसिर ,बुटवल । कांग्रेस नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले हुकुमी शैलीमा पार्टी सञ्चालन गरेको आरोप लगाएका छन् । पार्टी नेतृत्व संस्थामुखी  नभएर व्यक्तिमुखी भएको भन्दै उनले त्यो मान्य नहुने बताए ।

‘पार्टी नेतृत्व व्यक्तिमुखी नभएर संस्थामुखी हुनुपर्छ’, प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले भने, ‘हुकुमी शैलीमा सभापतिले जसरी पार्टी सञ्चालन गरिरहनु भएको छ, त्यो अमान्य छ ।’

सामूहिक नेतृत्वमा चल्नुपर्ने पार्टी व्यक्तिमुखी हुँदा सबैतिर भद्रगोल भएको भन्दै उनले कार्यशैली सच्याउन देउवालाई आग्रह गरे । पार्टीनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) मा संकट देखिरहेका बेला उनले त्यसलाई देउवा शैलीकै उपज भएको बताए ।

कांग्रेस नेतृत्व अहिले समकालीन साथीहरुको बीचमा रहेको भन्दै उनले सबैलाई समेटेर अघि बढ्न पार्टी सभापति देउवालाई सुझाए ।

देउवा नेतृत्वविरुद्ध कांग्रेसमा नयाँ समीकरण बनिरहे पनि उनले नेतृत्वको प्रतिरोध कसरी हुँदैछ भन्नेबारे भने केही बताएनन् ।

पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेका केसीले पार्टीको भविष्य भने थप उज्ज्वल रहेको बताउन भ्याए । संस्थागत संरचनाको नयाँ युगमा पार्टी प्रवेश गरेकाले एकपटकको हारले कांग्रेसको योगदान, आदर्श र इतिहास नसकिने उनको भनाइ छ ।

पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि पोखेका केसीले लोकतन्त्रको जामा पहिरेर निरंकुशताको बाटोमा सरकार अघि बढेको भन्दै रोष प्रकट गरे ।

सरकारका ९ महिने कार्यकालको समीक्षा गर्दै उनले ९ महिना गफमै बितेको बताए । चुनावका बेला बाँडेको आश्वासन पूरा गर्नेतर्फ नलागी सरकार जनहित विपरीत हिँडेको केसीको आरोप छ । ‘लोकतन्त्रको जामा पहिरे पनि सरकारको यात्रा निरंकुशतातर्फ मोडिएको छ’, केसीले सरकारबारे विश्लेषण गर्दै भने ।

‘ओली नेतृत्वमा सरकार गठन भएको नौ महिनामा जनताले केही पाएका छैनन्’, केसीले भने, ‘ चुनावमा बाँडेको झुटको पोकाबाट अहिलेको सरकार आफैं थिचिन थालेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?