Comments Add Comment

गोल गर्दाभन्दा खेल मिलाउँदा खुशी लाग्छ : मेस्सी

११ मंसिर, काठमाडौं । फुटबल सुरु गरेदेखि अहिलेसम्म दर्जनौं उपाधि जितेर कीर्तिमानहरु बनाएका लियोनल मेस्सीले अझै उपलब्धी पाउने आशमा मेहनतमा लागिरहेका छन् ।

सञ्चार माध्यममा निकै कम बोल्ने बार्सिलोनाका स्टार मेस्सीले आफू अझै मेडलहरु जित्न उत्सुक रहेको र त्यसको महत्व ठूलो रहेको बताएका छन् ।

‘मेरो मुख्य उद्देश्य नै थप मेहनत गरेर राम्रो खेल्दै जानु नै हो । मैले के पाएँ भन्नुभन्दा के पाउन सक्छु भन्नेमा ध्यान लगाइरहेको हुन्छु’ युनिस्पोर्टस र एडिडासको व्यावसायिक प्रवर्द्धन कार्यक्रममा उनले भने, ‘हरेक दिन राम्रो हुँदै जाने र अझै आफ्ना उद्देश्यहरु पूरा गरेर धेरैभन्दा धेरै उपाधि जित्न चाहन्छु ।’

आफूलाई अझै प्रतिस्पर्धात्मक रुपमा अघि बढाइरहन चाहेको भन्दै उनले भने, ‘हरेक खेलाडीलाई जस्तै मलाई पनि जित्न मन लाग्छ र त्यसैका लागि मेहनत गर्न मन लाग्छ ।’

बार्सिलोनाका १० नम्बर जर्सीमा देखिने मेस्सीले आफ्नो फुटबल गोलका लागि खेलिने खेलबाट खेल मिलाउन खेलिने खेलमा कसरी परिवर्तन भयो भन्नेबारे पनि बोलेका थिए ।
‘मैले आफूलाई अहिले गोल गर्ने मात्रै होइन पूरा खेल मिलाउने भूमिकामा अब्बल बनाइरहेको छु । मलाई पहिले गोल गर्दा खुशी मिल्थ्यो भने अहिले गोलको अवसर बनाउँदा खुशी मिल्छ’ उनले भने ।

नयाँ सिजनको सुरुवात हुँदा उनले बार्सिलोनाको मुख्य ध्यान च्याम्पियन्स लिग उपाधि जित्नेमा रहेको बताएका थिए । अहिले पनि आफूहरु त्यसमा केन्द्रित रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment