Comments Add Comment

सिन्धुपाल्चोकमा जलवायु सम्मेलन हुने, एक करोड खर्च हुने अनुमान

१२ मंसिर, चौतारा । सिन्धुपाल्चोकमा राष्ट्रिय जलवायु सम्मेलन हुने भएको छ । जलवायु परिवर्तनका समस्या र असरबारे बृहत छलफल गरी सरकार र सरोकारवालालाई समाधानका उपाय सुझाउने उद्देश्यले सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा एक करोड खर्च हुने अनुमान छ ।

सम्मेलन पुसमा आयोजना हुने भनिए पनि ठ्याक्कै मिति भने तय भइसकेको छैन । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङले भने, ‘पुसमा जलवायु सम्मेलन हुँदैछ, केही दिनमै मिति पनि तय होला । आउँदो शुक्रबार सम्मेलन आयोजक मूल समारोह समिति निर्माण गरेर मिति तय गर्दैछौँ ।’

जिल्ला समन्वय समिति महासंघको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा राष्ट्रिय जलवायु सम्मेलन हुन लागेको हो । सम्मेलनमा ७६ वटै जिल्ला समन्वय समितिका सभापतिहरु र वातावरण विज्ञ सहभागी हुनेछन् । प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने तयारी छ ।

जलवायु परिवर्तनका समस्या र असर रोक्ने सामूहिक प्रतिबद्धता जनाउँदै सम्मेलनले सिन्धुपाल्चोक घोषणापत्र जारी गर्ने छ ।

ज्यामिरे डाँडामा कार्यक्रम

सभापति तामाङका अनुसार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित ज्यामिरेको २ हजार ५ सय २० मिटर उचाइमा अवस्थित गुफाडाँडामा सम्मेलन आयोजना हुने छ । गुफा डाँडाबाट जुगल हिमशृंखला, छिमेकी जिल्लाका हिमालका साथै पर्यटकीय क्षेत्र नगरकोटसम्मका दृश्य नियाल्न सकिन्छ ।

सम्मेलन दुई दिनसम्म चल्नेछ । त्यहाँ वातावरण लगायत विज्ञले कार्यपत्र पेश समेत गर्ने छन् । सहभागीहरुलाई सम्मेलन स्थलमै खाना र बासको व्यवस्था गरिने छ ।

जिल्ला समन्वय समितिले सम्मेलनका सहभागीहरुलाई मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग र हेलम्बु क्षेत्रको पर्यटकीय वातावरणको अवलोकन गराउने कार्यक्रम समेत तय गरेको छ ।

पहिलो दिन सम्मेलनमा आउने सहभागीका सवारी साधनमा अघिपछि जलवायु परिवर्तन सम्वन्धी चेतनामुलक सन्देश लेखेर एकसाथ सुरुङको बाटो हुँदै हेलम्बु क्षेत्र पुयाएर त्यहाँको पर्यटकीय वातावरण अवलोकन गराउने योजना बनाइएको छ ।

एक करोड खर्च हुने अनुमान

मुख्य व्यवस्थापक जिल्ला समन्वय समितिका अनुसार सम्मेलनमा सबै जिल्ला समन्वय समितिका सभापतिका साथै सिन्धुपाल्चोकका सबै स्थानीय सरकारका प्रमुख, सम्वद्ध मन्त्रालय तथा निकायका अधिकारी, जलवायु परिवर्तनका क्षेत्रमा काम गरिरहेका संघसंस्थाका प्रतिनिधि र विज्ञहरु सहभागी हुनेछन् ।

सम्मेलनलाई भव्य रुपमा सफल बनाउनका लागि आउँदो शुक्रबार सरोकारवालाबीच छलफल आयोजना गरिएको छ । त्यही बेला सम्मेलन व्यवस्थापन मूल समारोह समिति गठन गरिने छ । सम्मेलन व्यवस्थापन मूल समारोह समिति गठनका लागि सम्बन्धित निकाय र कार्यालयमा पत्र पठाइसकिएको जिल्ला समन्वय अधिकारी हरिकृष्ण ज्ञवालीले जानकारी दिए ।

सम्मेलनमा व्यापक सहभागिता र सबै क्षेत्रको सहयोग जुटाउन सरकारी तथा गैह्रसरकारी संस्थाहरुसँग पनि छलफल चलाइएको छ । ‘एक करोड हाराहारी खर्च अनुमान गरिएको छ, जसरी हुन्छ सम्मेलनलाई भव्य सभ्य र सफल बनाउनु छ’, समन्वय समिति सभापति तामाङले भने, ‘जिल्लास्थित गैरसरकारी संस्था र सरकारी निकायसँग छलफल चलाइरहेका छौं ।’

सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर चढेर सम्मेलनस्थल आउनेछन् । अन्य सहभागीहरु भने स्थलमार्गबाटै सिन्धुपाल्चोक आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment