Comments Add Comment

गुल्मीको रेसुङ्गामा पैदल मार्गको लागि आधुनिक सिँढी बनाइँदै

१४ मंसिर, गुल्मी । गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गामा आधुनिक खालको पैदल मार्गको लागि सिँढी निर्माण हुने भएको छ ।

गतवर्ष गुल्मीमा सम्पन्न तेस्रो गुल्मी महोत्सवबाट संकलित रकमबाट रेसुङ्गा क्षेत्रको पोखरीदेखि यज्ञशालासम्म पैदलमार्गको लागि आधुनिक सिँढी निर्माण कार्य थालिएको हो ।

गुल्मी उद्योग बाणिज्य संघको १० लाखको लागतमा पैदल मार्गको लागि सिँढी निर्माण कार्य सुरु गरिएको छ । सदरमुकाम तम्घासबाट पोखरीसम्म सवारी साधानबाट पुग्न सकिन्छ । तर, पोखरीबाट यज्ञशालासम्म पुग्नको लागि पैदल मार्गमार्फत पुग्न सकिन्छ ।

वृद्धवृद्धा र अन्य धर्माबलम्बीलाई आवतजावतमा सहज बनाउन तीनवटा रेलिङ्गमार्फत आउने जाने छुट्टाछुट्टै पैदल मार्गको डिजाइन गरिएको बाणिज्य संघ गुल्मीका सचिव वीरेन्द्र भुसालले बताए ।

पैदल मार्गलाई अझै आकर्षक बनाउन र रेसुङ्गाको प्राकृतिक सुन्दरतालाई ध्यानमा राख्दै कलात्मक ढुङ्गाको सिँढी निर्माण कार्य थालिएको भुसालले बताए ।

बीचबीचमा ठूला-ठूला रुख आएपनि त्यसलाई नकाटेर चौपारी बनाउने निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

तत्काल १० लाख वजेटमा गर्न सकिने काम अहिले गर्ने र अन्य काम रेसुङ्गा नगरपालिका तथा केन्द्रबाट वजेट जुटाएर पुरा गर्ने योजना बाणिज्य संघको रहेको भण्डारीले बताए ।

बाटोका केही सिँढी आˆना पूर्खाको नाममा छोराछोरीलाई बनाउन अनुरोध गर्ने र उनीहरुको नाम सोही सिँढीमा लेख्ने पनि योजना रहेको समिति अध्यक्ष भण्डारीले जानकारी दिए ।

महोत्सवबाट संकलित रकमको ४० प्रतिशत अर्थात तत्कालको लागि १० लाख रुपैयाँ उपलब्ध गराएको उद्योग बाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले बताए ।

उद्योग बाणिज्य संघले हरेक महोत्सवमा सामाजिक उत्तरदायित्व अन्तरगत बचत रकमको ४० प्रतिशत सामाजिक काममा खर्च गर्ने गर्दछ । पहिलो गुल्मी महोत्सवको रकमले तम्घास र रेसुङ्गा क्षेत्रमा सरसफाइ योजना संचालन गरेको थियो ।

दोस्रो गुल्मी महोत्सवको पैसाले ब्लड बैंक, रेसुङ्गा पोखरीमा २७ धारा निर्माण र शाखाको स्तरवृद्धिमा खर्च गरिएको महासचिव भुसालले बताए ।

यज्ञशालासम्म सिँढी निर्माण गर्न कुल दुई करोड ५० लाख खर्च हुने अनुमान उद्योग बाणिज्य संघले जनाएको छ । पैदल मार्ग निर्माण कार्यको सुरुआत रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लिराज भुसालले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment