Comments Add Comment

आयल निगममा कुर्सीदौडः लोडसेडिङ गराउनेदेखि सिक्टा डुबाउनेसम्म

१९ मंसिर, काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका दाबेदारहरुले राजनीतिक लबिङ तीव्र पारेका छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट गठित मूल्यांकन समितिले केही दिनमै कार्यकारी निर्देशकका लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्दैछ ।

मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा समिति बनाइएको  छ । समितिका सदस्य ब्रजेश झा बाहिरै रहेका कारण लामो समयसम्म समितिको बैठक बस्न सकेको थिएन । मन्त्रालय स्रोतका अनुसार उनी एक-दुई दिनमै काठमाडौं आइपुग्ने भएकाले बैठकको अन्तिम तयारी भइरहेको  छ ।

निगमको कार्यकारी निर्देशक बन्न आवेदन दिएका १७ जनाले आ-आफ्नो तवरबाट लबिङ तीव्र पारेका छन् । झण्डै ११ महिनादेखि निगममा कार्यकारी प्रमुखको पद रिक्त छ । खुला प्रतिस्पर्धा भनिए पनि राजनीतिक लाइन मिलाउँदा सिफारिसमा परिने आशमा प्रतिद्वन्द्वीहरु दौडधुपमा लागेका छन् ।

गोपालबहादुर खड्का जग्गा खरिद घोटाला प्रकरणमा मुछिएपछि निगममा निमित्त कार्यकारीको जिम्मेवारी निगमका निर्देशक सुशील भट्टराईले सम्हालेका छन् ।

नौ महिनासम्म मन्त्रालयमा तानेर जिम्मेवारविहीन बनाएर राखिएपछि खड्काले गत जेठमा राजीनामा दिएका थिए । त्यसपछि नयाँ कार्यकारीका लागि आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामा नियुक्त गर्न भन्दै असोजमा आवेदन माग गरेको थियो ।

केको छन् आकांक्षी ?

निगमको प्रमुख बन्न सार्वजनिक संस्थानका पूर्वमहाप्रबन्धकदेखि बहालवाला कर्मचारीसम्मले आकांक्षा देखाएका छन् । निगमको प्रवन्ध निर्देशक हत्याउन विभिन्न विवादित छविका व्यक्तिले पनि इच्छा देखाएका छन् । केही दाबेदारहरु नयाँ र केही राम्रा छविका समेत छन् ।

निगमको नेतृत्व गर्न नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशकुमार काफ्लेले पनि आवेदन दिएका छन् । विद्युत प्राधिकरणमा काफ्लेको नेतृत्व रहेका बेला देशलाई लोडसेडिङबाट जर्जर बनाइएको थियो । प्राधिकरणमा भ्रष्टाचार चरम उत्कर्षमा पुगेको थियो ।

तिहारमा लोडसेडिङ हट्ने घोषणा हुँदा फागुनमा लोडसेडिङ नदोहोरिए कुबै सार्वजनिक पद धारण नगर्ने घोषणा गरेका काफ्ले अहिले फेरि सार्वजनिक संस्थानको नेतृत्व गर्ने इच्छा देखाउँदै दौडधुपमा छन् ।

सरकारले काफ्लेलाई विद्युत प्राधिकरणबाट हटाएर कुलमान घिसिङलाई कार्यकारी बनाएलगत्तै काठमाडौं लोडसेडिङ मुक्त भएको थियो । ‘अँध्यारो बेचेको’ आरोप लागेका उनै काफ्ले अहिले आयल निगमको हाकिम बन्नका लागि आपूर्तिमन्त्री मात्रिका यादवसम्म लाइन मिलाउन लागिपरेको स्रोत बताउँछ ।

विवादित छविका काफ्लेलाई केही माओवादी नेताहरुकै साथ रहेकाले उनको नाम सिफारिस हुने सम्भावना बलियो रहेको आपूर्ति मन्त्रालय स्रोतको दाबी छ ।

त्यसैगरी खाद्य संस्थानका पूर्वमहाप्रवन्धक शिवहरि श्रेष्ठले पनि आवेदन दिएका छन् । उनी खाद्य संस्थानमा प्रमुख हुँदा विभिन्न किसिमका विवादमा तानिएका थिए ।

सिक्टा सिँचाइ आयोजनाका पूर्व प्रमुख इन्जिनियर रमेश बस्नेतले पनि आयल निगममा आउन चाहेका छन् । उनी पनि सिक्टा सिचाँइको नहरमा भएको ठूलो अनियमितता र लापरवाही प्रकरणमा मुछिएका पात्र हुन् । हाल उनी बाग्मती सिँचाई आयोजनामा कार्यरत छन् । उनी प्रचण्ड परिवारका निकट मानिएको हुनाले बलिया दाबेदार हुन् ।

उदयपुर सिमेन्टका महाप्रबन्धक सुरेन्द्र पौडेल पनि निगममा नेतृत्वका आकांक्षी हुन् । उनी एमाले नेता महेश बस्नेतको निकट मानिन्छन् । उदयपुर सिमेन्टमा सुधारका काम गरेको र पूर्वएमाले निकट भएकाले पौडेल पनि बलिया दाबेदार मानिएका छन् ।

त्यस्तै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक रामप्रसाद धिताल पनि आयल निगमको कार्यकारी बन्ने दौडमा सामेल भएका छन् । उनी केन्द्रमा रहँदा विदेशी दातृ निकायले दिएको अनुदान रकम सदुपयोग गर्न असफल भएको आरोप लाग्ने गरेको थियो ।

कम्पनी गरीब भए पनि कर्मचारीहरु धनी बन्ने गरेको आयल निगममा नेतृत्व गर्न निगमकै कर्मचारी प्रलयङ्कर आचार्यले पनि इच्छा देखाएका छन् । उनीभन्दा उच्च तहका निर्देशकहरुले इच्छा नदेखाए पनि निगमभित्रबाटै प्रवन्ध निर्देशकको दाबी गर्ने उनी एक्ला उम्मेदवार हुन् ।

निगमको नेतृत्व हत्याउन आवेदन दिनेहरुमा मगलाल श्रेष्ठ, अनिलकुमार झा, लोकबहादुर खड्का, शिवराम यादव, अच्युतराज पहाडी, तारानाथ पौडेल, तारक थापा, अनन्तराज घिमिरे, सरोज कोइराला, गोविन्दप्रसाद खरेल र गोवर्द्धन खड्का क्षेत्रीसमेत छन् ।

अनिलकुमार झा डोलिडारका पूर्वमहानिर्देशक हुन् । उनले जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध सञ्चालकका रुपमा काम गरे पनि त्यहाँ सुधारको काममा उनी चुकेका थिए । विगतमा उनीमाथि जनक शिक्षालाई आर्थिक नोक्सानी पुर्‍याएको आरोप लागेको थियो ।

गोबर्द्धन खड्का र अच्युतराज पहाडी वायुसेवा निगमसँग आवद्ध छन् । वायु सेवा निगमको इञ्जिनियरिङ डिपार्टमा काम गर्दा विमानका पार्टपूर्जा बेचेको आरोपमा पहाडीलाई शाहीकालमा प्रहरीले गिरफ्तार गरेर केही दिन सिंहदरबार प्रहरी परिसरमा राखेको थियो ।

आवेदक मध्येका गोविन्द खरेल उद्योग विभागका पूर्वइञ्जिनियर हुन् । उनी विज्ञान प्रविधि मन्त्रालय हुँदै हाल भौतिक पूर्वाधार मन्त्रालयमा सिनियर डिभिजनल इन्जिनियरका कार्यरत छन् ।

अर्का आवेदक सरोज कोइराला नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का विषयमा विद्यावारिधि गर्ने व्यक्ति हुन् । पहिले पनि निगममा प्रतिस्पर्धा गरेर दोस्रो नम्बरमा परेका लोकबहादुर खड्का यसअघि स्वरोजगार कोषमा कार्यरत थिए ।

निगमको प्रवन्ध निर्देशक बन्न अर्थशास्त्र वा वाणिज्यशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ विषयमा कम्तिमा पनि स्नातकोत्तर गरेकाले मात्रै पाउँछन् । व्यवस्थापनमा स्नातक गरेर चार्टर्ड एकाउन्टेन्ट गरेको वा सरकारी सेवाको अधिकृतस्तरमा रहेर कम्तिमा पनि ५ वर्षको कार्यानुभव भएकाले पनि यो प्रतिस्पर्धामा भाग लिन सक्ने व्यवस्था छ ।

निगमको कार्यकारी निर्देशक बन्न ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेको हुनु पर्ने प्रावधान छ । प्रतिस्पर्धामा भाग लिनेले ५ हजार शब्द नबढ्ने गरी निगमका लागि आफ्नो व्यावसायिक योजना र कम्तिमा दुईवटा ‘केश स्टडी’ पनि दरखास्तसँगै सामेल गर्नुपर्ने गरी दरखास्त मागिएको थियो ।

अब यिनै योग्यता र व्यवसायिक योजनालाई हेरेर मूल्यांकन गरी नियुक्तिका लागि ३ जनाको नाममा सिफारिस गर्ने तयारी भइरहेको समितिका एक सदस्यले अनलाइनखबरलाई बताए ।

तर, यसमा राजनीतिक नेतृत्वकै चाहाना नै अन्तिम हुने भएकाले आकांक्षीहरु भने राजनीतिक साहारा खोजिरहेको स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment