Comments Add Comment

काठमाडौंको धूलो हटाउन प्रतिबद्ध छुः मन्त्री महासेठ

२२ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौंको सडक निर्माण गरेर धूलोमुक्त पार्न आफू प्रतिबद्ध रहेको बताएका छन् । तर, त्यसका लागि काठमाडौं महानगरपालिकाले निरन्तर काम गर्नुपर्ने सर्त मन्त्री महासेठको छ ।

‘काठमाडौं महानगरपालिकाका भित्री र बाहिरी दुवै सडकलाई व्यवस्थित बनाए मात्र परिणाम प्राप्त हुन्छ,’ काठमाडौं महानगरपालिकाले अघि बढाएको सहरी सौन्दर्यता प्रबद्र्धन कार्यक्रमअन्तर्गत शनिबार आयोजित सफाइ कार्यक्रममा मन्त्री महासेठले भने, ‘भित्री सडक काठमाडौं महानगरपालिकाले बनाउनु पर्‍यो। बाहिरी सडक बनाउन मैले सडक विभागलाई भनिसकेको छु ।’

कलंकी–नागढुंगा सडक निर्माणलाई लिएर चर्को आलोचना भइरहेका बेला उनले मौसमको प्रतिकूलताले काममा ढिलाइ भएको बताए । सडक निर्माणमा ढिलाइ हुँदा धुँवा धूलो नियन्त्रणमा समस्या आएको र सडक निर्माण सकिएपछि जनताले यसबाट मुक्ति पाउने मन्त्री महासेठको भनाइ छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अव्यवस्थित निर्माण कार्यले धूलोको समस्या बढेको गुनासो गरे । ‘काठमाडौलाई धुँवाधूलो मुक्त पार्न हाम्रो प्रयासले मात्र पुग्दैन, सबैले आफ्नो ठाउँबाट दायित्व बोध गर्नुपर्छ’, महानगरपालिकाका प्रमुख शाक्यले भने ।

महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौंको सफाइमा क्रमशः उपलब्धि हासील हुँदै गएको दाबी गरिन् । उपत्यकामा नियमित सफाइ अभियान जारी राखे जनप्रतिनिधिको बाँकी कार्यकालमा नै जनताले धुँवाधूलोको सास्तीबाट मुक्ति पाउने उनको भनाइ छ ।

रत्नपार्कदेखि महाराजगञ्जसम्म सफाइ

शनिबार रत्नपार्कका साथै लाजिम्पाट, महाराजगञ्ज हुँदै बाँसबारी बूढानीलकण्ठ नगरपालिकाको सीमासम्म सफाइ गरिएको छ । वातावरण व्यवस्थापन विभागको आयोजनामा सफाइ भएको हो । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, उपत्यका विकास प्राधिकरण, सडक विभाग, महानगरीय ट्राफिक प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, काठमाडौ उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत प्राधिकरणलगायत दर्जन बढी कार्यालयका प्रतिनिधिले फोहोर तथा धूलो सोहोरेर सडक सफा पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment