Comments Add Comment

स्याङ्जाका गाउँपालिकाले खोले पोखरामा तरकारी बिक्री केन्द्र

२४ मंसिर, पोखरा । आरुखर्कका किसान शिव सुवेदीलाई गाउँमा उत्पादित तरकारी कहाँ लगेर बेच्ने भन्ने सधैं चिन्ता हुन्थ्यो । उनी स्याङ्जाकै पुराना किसान मानिन्छन् । गाउँबाट तरकारी पोखरा ल्याएर नबिकी फर्काउनु पर्दाका थुप्रै दुखद अनुभव उनीसँग छन् ।

आँधिखोलाका किसान सुरेश पौडेलका अनिभव पनि सुवेदीका जस्तै छन् । व्यावसायिक तरकारी खेती गरेर पनि बजार र मूल्यको समस्याले उनी निकै पिरोलिन्थे । अब भने उनीहरुको चिन्ता र समस्या दुर भएको छ । स्याङ्जाको फेदीखोला र आँधिखोला गाउँपालिकाका अब किसानको कृषि उपज अब सिधै पोखरेली बजारमा गाउँपालिकाले नै बिक्रीको व्यवस्था मिलाएको छ ।

पोखरादेखि नजिक रहेका यी दुई गाउँपालिकाले पोखराको बिरौटामा तरकारी संकलन तथा बिक्री केन्द्र सोमबारदेखि सञ्चालनमा ल्याएको हो । अब फेदीखोला र आँधिखोला गाउँपालिकाभित्रका किसानले बजार र मूल्यको चिन्ता लिनु नपर्ने भएको छ । गाउँपालिकाका विभिन्न ठाउँबाट कृषि उपज सिधैं पोखराको बजारमा आइपुग्ने व्यवस्था गरिएको हो ।

‘गाउँका अर्गानिक तरकारी सिधैं पोखरा ल्याएर संकलन तथा बिक्रीको व्यवस्था गाउँपालिकाले जिम्मा लिएको छ,’ आँधिखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेलले भने, ‘अब किसानले तरकारी नबिक्ने कुनै चिन्ता हुने छैन, मूल्यका हिसाबले पनि किसानले बढी मूल्य प्राप्त गर्नेछन् ।’

अहिले गाउँपालिकाले सहकारीमार्फत गाउँका तरकारी संकलन गरी पोखरा ल्याउने र त्यसको बिक्रीको व्यवस्था गर्ने काम गरेको छ ।

गाउँपालिकाले गाडी अहिले भाडा लिएर तरकारी पोखरा पुर्‍याउने व्यवस्था मिलाएको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । ‘हाम्रा गाउँपालिका तरकारी पोखरासम्म ल्याउने र यहाँबाट अन्य ठाउँमा पनि पुर्‍याउने व्यवस्था मिलाएका छौं,’ अध्यक्ष सुवेदीले भने, ‘यसले किसानलाई उत्साह बढाएको छ भने तरकारी नबिक्ने चिन्ता हटाएको छ ।’

फेदीखोलाको सर्केटारी र आँधिखोलाको सेती दोभानमा तरकारी संकलन गरी पोखरा ल्याउने व्यवस्था मिलाइएको छ । यी दुई गाउँपालिकाको मुख्य व्यापारिक बजार नै पोखरा हो । बिचौलियाका कारण किसानले खेप्नु पर्ने समस्या र कम मूल्यमा बेच्नुपर्दाको चिन्ता पनि अब हटेको आँधिखोलाका अध्यक्ष सुधीर बताउँछन् ।

दुई गाउँपालिकाले पोखरा बिरौटामा सटर भाडामा लिएर तरकारी संकलन तथा बिक्री थालेको हो । सटरबाट उपभोक्ताले सिधै बारीबाट ल्याइएको ताजा तरकारी खान पाउने छन् । फेदीखोलाको २ र ४ अनि आँधिखोलाको ४ र २ नम्बर वडा तरकारी उत्पादनका हिसाबले अब्बल छन् ।

अब गाउँका तरकारीमात्रै नभएर सुन्तला, अदुवा, कफी पनि एकै ठाउँबाट बिक्री हुने भएपछि किसान उत्साहीत छन् । स्थानीय ठगीकुमारी पौडेलले यसपालीमात्रै ५० हजार रुपैयाँको अकबरे खुर्सानी बिक्री गरिन् । अब घरबबाटै खुर्सानी बिक्री हुने भएपछि अहिले अझै बढी खुर्सानी लगाउँदै छिन् । ‘अब न त नबिक्ला भन्ने समस्या भयो न त मूल्य नपाइएला भन्ने,’ ठगीकुमारी भन्छिन्, ‘म त यतिबेला धमाधम अकबरे खुर्सानीको बेर्ना उमारिरहेकी छु ।’

किसानलाई प्रोत्साहन र अनुदान दिँदै गाउँपालिका

यी दुई गाउँपालिकाले तरकारी बिक्रीको व्यवस्थामात्रै मिलाएको छैन । किसानलाई प्रोत्साहनका कार्यक्रम पनि ल्याएको छ । कृषिलाई समृद्धिको आधार मान्ने हो भने किसान प्रोत्साहनका कार्यक्रम ल्याउनै पर्ने योजनाअनुसार अघि बढेको आँधिखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेलले बताए ।

‘हामीले किसानलाई व्यावसायिक खेतीमा अनुदान प्रदान गर्नेदेखि बिऊ, प्राविधिक सहयोग र प्राविधिक उपकरण उपलब्ध गराउनेसम्मका काम गरिरहेका छौं,’ पौडेलले भने, ‘उत्कृष्ठ किसानलाई हामी सम्मान पनि गर्छाैं ।’

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जमिन बाँझो राख्नेलाई निरुत्साहित गर्दै जमिनको व्यावसायिक उपयोग गर्नेलाई सहयोग साथ दिने नीति लिइएको बताए । ‘किसानलाई प्रोत्साहनका विभिन्न कार्यक्रम त छँदै छन्, त्यो सँगै कुन ठाउँमा के खेती हुन्छ त्यसको पहिचान गरेर जोन निर्माण गर्ने प्रयत्नमा हामी छौं,’ सुवेदीले भने ।

प्रत्येक वडामा संकलन केन्द्रः कृषिमन्त्री थापा

गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापाले समृद्धिको प्रमुख आधारमा कृषिलाई राखेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएको बताए । मन्त्री थापाले एक वडा एक कृषि उपज संकलन केन्द्र निर्माण गर्न प्रदेश सरकारले योजना अगाडि बढाइरहेको बताए ।

‘गण्डकी प्रदेशका सबै स्थानीय तहका प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र निर्माण गरी बजारीकरणमा थप प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ,’ मन्त्री थापाले भने, ‘स्थानीय तहको सहकार्यमा यो कार्यक्रम कार्यान्वयनको चरणमा छ ।’

प्रदेश सरकारले ५ जिल्लामा खसीबोका संकलन केन्द्र स्थापना गर्न पनि बजेट बिनियोजन गरेको उनले जानकारी दिए । काठमाडौंमा फालिएका बिषादीयुक्त तरकारी यस पोखरा र आसपासका क्षेत्रमा आउने गरेको गुनासो आफूले सुनेको मन्त्री थापाको भनाइ छ ।

‘प्रदेशमा बिषादीरहित तरकारीमात्र भित्राउन र अन्य खाद्यान्यको पनि जाँच गरेरमात्र ल्याउन प्रदेशका मुख्य नाका स्याङ्जा र पाल्पाको सीमा राम्दी, चितवन र तनहुँको सीमा मुग्लिनमा करेन्ट चेकपोस्ट निर्माण गर्ने योजना अगाडि बढेको छ,’ थापाले भने । प्रदेश सरकारले बिऊको गुणस्तर जाँच गर्ने ल्याब पनि निर्माण गर्न लागेको मन्त्री थापाले योजना सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment