Comments Add Comment

न्यायपालिका र संवैधानिक अंग पार्टीकरणको चपेटामाः कमल थापा

२४ मंसिर, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले सरकार सञ्चालनको लागि महत्वपूर्ण मानिने सबै क्षेत्र राजनीतिक चपेटामा पर्दा सरकारको काम प्रभाबकारी हुन नसकेको बताएका छन् ।

मुलुकमा हरेक खालका परिवर्तन भएपनि निम्न बर्गीय जनताले परिवर्तनको आभास गर्न नपाएको बताएका अध्यक्ष थापाले न्यायपालिका, संवैधानिक अंग, शैक्षिक क्षेत्र पार्टीकरणको चपेटामा परेकोले अहिले सरकारको काम प्रभावकारी हुन नसकेको बताए ।

उनले दुई तिहाई बहुमतका आधारमा सञ्चालनमा रहेको सरकारले मुलुक सञ्चालनमा सोचे जनताले सोचे अनुसारको काम गर्न नसकेको बताए । उनले भने, ‘अहिले सम्मको काम हेर्ने हो भने केपी वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षण एवं सम्मेलनको सोमबार हेटौंडामा उद्घाटन गर्दै राप्रपा अध्यक्ष थापाले सरकार आफ्नो काममा पूर्णरुपमा असफल भएको बताएका हुन् ।

उनले सरकार अपराध नियन्त्रण, सुशासन कायम गर्न र राष्ट्रिय पहिचान स्थापित गर्न असफल भएको बताए । उनले तराईमा अलग मधेश राज्यको माग गर्दै देश टुक्रयाउने आवाज उठाउँदासमेत सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै सरकारको आलोचना गरे । उनले सरकारको गलत कार्यशैलीका कारण राष्ट्र विखण्डन र धार्मिक द्वन्द्वको खतरा बढेको दावि गरे ।

महिलाबिरुद्धका हिंसा बलात्कारका घटना देशका बिभिन्न भागमा भैरहँदा महिला असुरक्षित भैरहँदा सरकार मुखदर्शक बनेको आरोप लगाए ।

काठमाडौंमा पूर्वराजदूतको हत्या हुँदासमेत अपराधि खोज्ने र कारबाही गर्ने तहमा सरकार आउन नसक्नुले मुलुक ठूलो संकटमा पर्ने खतरा बढेको उनको भनाइ थियो ।

पार्टी एकीकरणको प्रसंग कोट्याउँदै अध्यक्ष थापाले पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी पार्टी एकीकरणको बाधक रहेको भन्दै अब एकीकरणका लागि कुरेर नबसी अभियानमा अघि बढेको बताए ।

राप्रपा अब हिन्दु राष्ट्रसहितको राजसँस्थाको लागि फागुनबाट आन्दोलन थाल्ने भन्दै थापाले कार्यकर्तालाई तयारी रहन निर्देशन दिएका छन् ।

पार्टीको प्रदेशका १३ जिल्ला, महानगर, नगर र गाउँपालिकाका नेतृत्वको सहभागिता रहेको २ दिने सम्मेलनमा पार्टीको भावी रणनीति, संगठन परिचालनलगायतको बारेमा छलफल हुने प्रदेश बताइएको छ । कार्यक्रम पार्टीका प्रदेश अध्यक्ष बिक्रमबहादुर थापाको अध्यक्षतामा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment