Comments Add Comment

दार्चुलामा उत्पादित गलैँचा दूर्लभ, बजारमा पाइनै छाड्यो

२५ मंसिर, दार्चुला । दार्चुलामा उत्पादित गलैँचा बजार नपाएर थन्किएका छन् । दार्चुला गलैँचा उत्पादनका लागि चिर्चित मानिएपनि पछिल्लो समय यहाँ उत्पादित गलैँचाले बजार पाउन छोडेको छ ।

दार्चुलामा उत्पादित गलैँचा देशमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा पाएको थियो । तर, पछिल्लो समय बजार नपाउँदा गलैँचा उद्योग नै बन्द हुने अवस्थामा छन् ।

अहिले जिल्लामा उत्पादित गलैचा बजारमा पाइन छाडेको स्थानीयले बताएका छन् । यहाँका महिलाहरुले तानमा गलैँचा बुन्ने गरेका थिए ।

दार्चुला जिल्लामा मुख्यगरी सौका समुदायले उत्पादन गर्ने गरेको गलैँचाले बजार नपाएको गुनासो उनीहरुको छ ।

झण्डै एक महिनामा समय लगाएर बुनेको गलैँचाले भने जस्तो बजार नपाउँदा व्यवसायकै रुपमा गलैँचा बुन्ने सौका समुदायहरु उक्त पेशाबाट विस्थापित हुने देखिएको छ ।

आधुनिक मेसिनको अभावमा एक महिना मेहनत गरेर पनि बजार नपाउदाँ यस पेशाबाट हात हुनु पर्ने बेला आएको सौका समुदायका तुल्सी कल्यालले बताइन् ।

महिनौसम्म परिश्रम गरी बुनेको गलैँचाले बजार नपाउँदा उनीहरु गलैँचा बुनाई भन्दा अर्कै पेशातिर जाने सम्भावना बढेको छ ।

गलैँचा बुन्नका लागि धागोसमेत भारतबाट ल्याउनु पर्ने भएकाले स्थानीयहरु गलैँचा बुनाइ सीपप्रतिको रुचि घट्दै गएको अर्का स्थानीय पार्वती बुढाथोकीले बताइन् ।

भारतबाट धागो ल्याई महिनौ लगाएर बुनेको गलैँचाले भनेको जस्तो बजार नपाउँदा गलैँचा सीप सिकेका सौका समुदायहरु पहिले जस्तो गलैँचा बुनाइतिर परिश्रम गर्न छाडेका छन् ।

यस्तै पछिल्लो समय दार्चुलाको भन्दा भारतबाट आउने विदेशी गलैँचाहरुप्रति ग्राहकहरुको मन लोभिन थालेको छ ।

विदेशी गलैँचा दार्चुलामा उत्पादित हुने गलैँचा भन्दा न्युन गुणस्तरको हुने भएपनि विदेशी गलैँचा प्रति नै ग्राहकहरु रुचि बढ्न थालेको छ ।

विदेशी गलैँचा कमसल हुने भएर सस्तो पर्ने र आफूहरुले बुन्ने गलैँचा विदेशी गलैँचाको तुलनामा गुणस्तरयुक्त हुने भएकाले केही महंगो पर्ने तुलसी कल्यालको भनाइ छ ।

यसरी विदेशी गलैँचा भन्दा केही महंगो हुने भएकाले पनि विदेशी गलैँचाले स्वदेशी गलैँचा उत्पादनमा प्रभाव पारेको कल्यालले बताइन् ।

स्वदेशी गलैँचा ६ हजार देखि ८ हजारसम्म पर्ने गरेको छ भने सोही हाराहारीमा स्वदेशी गलैँचा भन्दा विदेशी गलैचा ठूलो हुने भएकाले गलैँचा किन्नेको रोजाइमा विदेशी गलैँचा पर्ने गरेको छ ।

दार्चुलामा उत्पादन हुने गलैँचामा नेपालको नक्सादेखि साविकका अञ्चलहरुका बुट्टासमेत राखिएका हुन्छन् भने विदेशी गलैँचामा यस्ता बुट्टा राखिएको हुँदैन । तरपनि ग्राहकहरुले विदेशी गलैँचा बढी रुचाउने गरेका छन् ।

यस्तै विभिन्न संघसंस्थाहरुले जिल्लाका विभिन्न स्थानीय तहमा गलैँचा बुनाई सम्बन्धी तालिम सञ्चालन गर्दै आएका छन् ।

यसरी नै बजार नपाउने हो भने गलैँचा बुनाइ तालिम सिकेका महिलाहरु पनि उक्त सीपबाट पलायन हुने सम्भावना बढेको छ ।

सौका समुदायले गलैँचा बुन्न छोडेेकै नभए पनि व्यवसायिक रुपमा गलैँचा बुन्न भने विस्तारै छोड्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment