Comments Add Comment

उपल्लो मुस्ताङमा टेलिकमकाे ‘माइक्रोवेभ रेडियो लिंक’ विस्तार

२७ मंसिर, काठमाडाैं । नेपाल टेलिकमले हिमालपारि उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिंक’ को पहुँच विस्तार गरेको छ । ‘स्याटेलाइट’ प्रविधि हटाएर ‘माइक्रोवेभ रेडियो लिंक’ सञ्चालनमा ल्याइएको हो । मोबाइल र इन्टरनेट सेवाको गुणस्तर बढाउन नयाँ प्रविधि भित्र्याएको टेलिकमले जनाएको छ ।

टेलिकम बागलुङ कार्यालयका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ, घमी, चराङ, सुरखाङ, छुसाङ, समर र स्याङ्बोचेमा ‘जिएसएम, बिटियस’ टावर निर्माण गरी सेवा शुरु गरिएको हो । ‘माइक्रोवेभ रेडियो लिङ्क’ प्रविधिले ‘भ्वाइस’ र ‘डाटा’ मा उल्लेख्य सुधार आएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए ।

‘मुस्ताङबाट भि-स्याट प्रविधि प्रतिस्थापन भएको छ’, इञ्जिनीयर शर्माले भने, ‘सेवाको गुणस्तर बढेको छ, राज्यको खर्च पनि घटेको छ ।’ ‘माइक्रोवेभ रेडियो लिङ्क’ ले टेलिकमको अतिरिक्त आर्थिक भार कटौती हुनेछ । ‘भि स्याट’ हुँदा वर्षेनी विदेशी स्याटेलाइट कम्पनीलाई पैसा तिर्नुपर्ने अवस्था थियो ।

‘पहिले ब्याण्डविथको डाटा क्षमता जम्मा २५० केबिपिएस थियो’, इञ्जिनीयर शर्माले भने, “अहिले दुई हजार एमबिपिएस छ, फोन नलाग्ने समस्या हटेको छ ।’ भरपर्दो मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा पाएपछि उपल्लो मुस्ताङवासी पनि खुशी छन् । यसअघि सर्वसाधारण मोबाइलको लागि ‘भि स्याट’ मा निर्भर थिए ।

‘मोबाइल सेवामा सुधार आएको छ, ‘टुजी’ पनि राम्रो चलेको छ’, लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए । कम जनसङ्ख्या भएको भए पनि उपल्लो मुस्ताङ विश्वकै आकर्षक पर्यटकीय गन्तव्य भएकाले टेलिकमले गुणस्तीय सेवा विस्तारमा प्राथमिकता दिएको हो ।

सेवा विस्तारसँगै उपल्लो मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले समेत प्रत्यक्ष लाभ लिनेछन् । हाल उपल्लो मुस्ताङमा नेपाल टेलिकमबाहेक अन्य कुनै पनि दूरसञ्चार कम्पनीको सेवा पुगेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment