Comments Add Comment

लिग लिडर मनाङविरुद्ध चलखेल हुँदैछ ?

३ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार च्यासल युथ क्लबलाई ३–१ ले हराए पनि मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक सुमन श्रेष्ठ रेफ्रिमाथि कड्किए ।

पोष्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक श्रेष्ठ बोलेको सुन्दा ए डिभिजन लिगमा नहुनुपर्ने केही भइरहेको भान पर्छ । मनाङलाई एक्ल्याएर सबैले फिक्सिङ गरिरहेको उनको आरोप छ ।

‘खेलाडीले सोचेअनुसार नै खेले । तर दुःखको कुरा के हो भने, मनाङविरुद्ध सबै लागेको हो कि भन्ने पीर मलाई परेको छ । आज पनि देखि हाल्नुभयो । बेकारमा पहेँलो कार्ड दिइरहेका छन् । ओलावालेले कार्ड खाने अवस्था नै थिएन । तर किन ?’ उनले प्रश्न गरे ।

प्रशिक्षक श्रेष्ठले अगाडि थपे, ‘रेफ्रिहरुले यस्तो खेल किन खेलाइरहेका छन् ? कसैले भनेर पो खेलाएका छन् कि ? पेनाल्टी स्पष्ट रुपमा छ तर दिँदैनन् । रेफ्रिहरुको समस्या चाहिँ के हो ?’

आफूहरुले ९ वटा खेलमा लगातार जित हात पारे पनि ढुक्कले बस्ने अवस्था नरहेको भन्दै अरु कसैले चलखेल गर्न खोजिरहेको उनको आरोप छ ।

उनी भन्छन्, ‘यो, त्यो भन्दा पनि रेफ्रिले कसैलाई पक्षपात नगरी खेल खेलाओस् । खेलाडीले राम्रो खेलिरहेका छन् यसमा दुई मत छैन तर, कहीँ कतैतिर चलखेल भइरहेको महशुस भइरहेको छ ।’

आफ्ना खेलाडीलाई कार्ड दिँदै अर्को खेलका लागि बन्देज गराउने ठूलो चलखेल भएको उनको दाबी छ ।

‘आज हामीले जित्यौँ, कार्ड दियो ठीक छ । तर, आगामी खेलको लागि निकै गाह्रो भयो नि त । चलखेल भन्नाले पैसाकै भन्ने मात्र हुँदैन । तीन–चार वटा खेलदेखि मैले विचार गर्दैछु । पक्कै भित्र अर्कै छ भन्ने लाग्न थालेको छ ।’

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा मनाङले च्यासल युथ क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेपछि प्रशिक्षक श्रेष्ठले बोलेका कुराले नेपाली फुटबलमा आरोपको नौलो शैली देखिएको छ । उनको भनाइमा कति सत्यता छ त्यो भने खोजीको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment