Comments Add Comment

जब जल शाहको फोन आयो…

प्रेम शाहको निधन भएको एउटा वर्ष बित्यो । विद्रोह चेतकी अग्रणी महिला हस्ताक्षर, कथाकार प्रेमा शाह भौतिक रुपमा समापन भएको मिति पोहोरको आजै थियो ।
गत शुक्रबार जल शाहको फोन आयो । ‘हेल्लो, विश्वमणिजी…।’

प्रेमाले यो धर्तिलाई छोडेर गएको एउटै सजिव र भौतिक उपहार उनै जलमात्र हुन् । पंक्तिकारका लागि उनको आवाजै काफी थियो, चिन्नलाई । ‘हेल्लो, विश्वमणिजी…’ भन्नासाथ ‘ओहो, जल । क्या हो यार…’ भनेपछि उताबाट फोनमा फिस्स हाँसेजस्तो आवाज सुनियो । त्यसपछिको करिव एक मिनेट उनी फोनमै सुनिने गरी रोइरहिन् ।
पोहोर प्रेमाको निधनलगत्तै अनलाइनखबरमा प्रकाशित एउटा संस्मरणीय सामग्री जलले अमेरिकामै पढेकी रहिछन् । भनिन्, ‘हामी कस्तो मिल्थ्यौँ है विश्वमणिजी…।’ उनको यो प्रतिक्रियामा पंक्तिकारको जवाफ थियो, ‘जिन्दगी यस्तै हो जल । मामुलाई म कत्ति मिस गर्छु…।’

यसपछि जल रुन थालिन् । थामिसक्नुको वेदना थिएन । पंक्तिकारका आँखा पनि नरसाउने कुरै भएन ।

यसरी रुने सिलसिलाको चक्र बदलियो, पोहोरबाट ।

जबसम्म यो धर्तिमा प्रेमाको बास रह्यो, उनी धेरैपल्ट रोइन् । उनैले भन्थिन्, ‘जलका लागि म यति रोएकी छु कि मेरो आँशुको महल बनेर आज ऊ खडा भएकी हो ।’
हुन पनि सत्य त्यही हो ।

आज अपराह्न काठमाडौंमा प्रेमाको स्मरणका लागि जलले एउटा कार्यक्रम आयोजना गरेकी छन् । त्यही निम्तो गर्ने क्रममा हो, जल शुक्रबार फोनमै रोएको ।

अर्थात्, अब प्रेमा यो चराचर जगतमा आएर कहिल्यै रुन्नन् । उनलाई जतिसुकै गाली गरौँ, धिक्कारौँ वा पुकारौँ- अब हामी प्रेमाको प्रेममयी रोदनबाट बञ्चित छौँ । र, रुवाइ शुरु भएको छ, छोरीको ।

आमाको आँशुको महल बनेर एउटा सुन्दर देह उनले पाएकी थिइन् । त्यसलाई नृत्य र कलामा अनुवाद गरिएपछि अभिनेत्री बनिन् । यस्तो बेला जल शाह अभिनेत्री बनिन् कि, एउटा ठूलो लडाइँमा कमजोर सिपाही बाँचेजस्तो ।

समय खराब थियो । फिल्मी जिन्दगी, त्यसमाथि महिलाको हकमा एकदमै शोषण र अत्याचारको समय ।

यताको फिल्मी बजारमा टिक्न नसकेपछि त्यसबेला चलेका हिरोइनमध्ये करिश्मा मानन्धर मुम्बईमा ‘दंगाफसाद’ फिल्म खेलेर फर्किएकी थिइन् । किनभने, उता झन् मुस्किल रहेछ । गौरी मल्ल पर्दामा देखिन छाडेकी थिइन् । मौसमी मल्ल, कृष्टि केसीहरु विदेशिए । तृप्ति दार्जिलिङ फर्किइन् । ‘रहर’ फिल्म खेलेर हराएकी निरुताको पत्तो थिएन । काठमाडौंको फिल्मी बजारलाई मेलिना मानन्धर, विपना थापाजस्ता नयाँ-नयाँ हिरोइनहरुले जेनेतेन धान्दै थिए ।

यही मेसोमा प्रेमा सर्लाहीबाट छोरी लिएर काठमाडौं आइन्, हिरोइन बनाउन । विजुलीबजारस्थित डायमण्ड एकेडेमी अफ पर्फमिङ आर्टस् (डापा) मा प्रताप सुब्बाले अभिनय र कमल राईले नृत्य सिकाए । त्यहीँ आँखा लगाए, प्रकाश सायमीले । उनैले हो, फिल्म ‘अवतार’ बाट उनलाई पर्दामा उतारेको । त्यसअघि उनले यादव खरेलको ‘जयबाबा पशुपतिनाथ’ खेलेकी थिइन् । तर, खरेलले अभिनयमा निखार आएन भन्दै आगामी फिल्महरुमा उनलाई खेलाउन नसकिने बताएपछि तालिमका लागि बिजुलीबजार पुर्‍याइएकी हुन् ।

त्यो यस्तो समय थियो कि, चारित्रिक विवादमा नपारिएका महिला कलाकार बिरलै हुन्थे । जो त्यस्तो झमेलामा फस्न चाहँदैथे, उनीहरु आफैँ छेउ-कुना लागेको अवस्था । सबभन्दा बजार गर्माएको थियो, समुन्द्र भट्टचन र वर्षा खड्काको झमेलाले ।

दीपाश्री-दीपक आलोकको झगडा पनि उत्कर्षमा थियो । अरु झिनामसिना काण्ड यहाँ उल्लेख गर्दा लामै फेहरिस्त उत्रिन्छ । त्यस्तो जटिल समयमा प्रेमाकी छोरीलाई सर्लक्क हिरोइन बनाइदिने जिम्मा थियो, प्रकाश सायमीसँग । जब कि, स्वयं सायमी र मेलिनाको झगडाले पनि त्यसबेला बजार गर्माइरहेको थियो ।

कुनै फिल्मी पत्रिकाले ‘जल शाहको ब्वाईफ्रेण्ड’ भनेर एउटा हावादारी टिप्पणी लेखेको थियो । त्यो पढेपछि प्रेमाका लागि लागि धर्ति नै निष्पट्ट अध्यारोजस्तो बन्यो । बिजुलीबजारमा भेटिँदा उनको आँखा आँशुले टम्म भरिएको थियो । ‘लेख्नचाहिँ नचाहिने कुरा लेखेछ । तर, फिल्म लाइनमा अलि-अलि त यस्ता कुरा सहनु पर्छ नि मम्मी’, पंक्तिकारले यत्ति सुझावमात्र के दिएको थियो, प्रेमा बन्दूकझैँ पड्किन थालिन् । ‘किन सहने ? जे पनि लेख्न पाइन्छ ? हामीलाई लेख्न आउँदैन भन्या ? एक-एक मान्छेहरुको पोल खोलौँ ?’ यसरी एकैचोटि चार जटिल प्रश्न गर्दै उनी कड्किएपछि बोल्ने कसरी ? अनि, उनी आँखा छोपेर रुन थालिन् ।

अर्थात्, छोरीलाई यति माया गर्थिन् कि, त्यो छोरी अरु कसैकी हुने कुरा कल्पिदा पनि सहन सक्दिन थिइन् । प्रेमी वा पति त टाढाको कुरा भयो, जल शाह आफ्नी छोरीबाहेक अरु कसैकी केही हुने कुरा उनको कल्पनाभन्दा टाढा थियो । केटी साथीसँग पनि धेरै बेर अल्मलिँदा उनी खोज्न थालिहाल्थिन्, बिगारिदिन्छन् कि भनेर ।
कतिसम्म भने, सुटिङमा हिरोले हिरोइनको रुपमा जललाई अंगालो हाल्नुपर्छ, चुम्बन गर्नुपर्छ, एउटै ओछ्यानमा सुतेजस्तो गर्नुपर्छ, गीतमा कुम जोडेर नाच्नुपर्छ । तर, यी सब दृश्य प्रेमाको आँखाले कहिल्यै हेर्न सकेन । त्यस्ता सुटिङ प्रेमाको उपस्थितिमा हुनै सक्दैनथे, भएनन् पनि ।

यो सिलसिला फिल्म खेल्नुअघिकै हो । जतिबेला डापामा उनी अभिनय सिक्दै थिइन्, सिकाउनेले उनलाई छुन पनि नपाउने । यस्तो दृश्य देखेपछि फिल्म खेलाउन तयार भएका प्रकाश सायमी सोचमग्न भए । अन्ततः एग्रीमेन्ट पेपरमै ‘सुटिङमा द्वितीय पक्ष (जल) बाहेक निजका आफन्त, अभिभावक वा साथी भएर कोही पनि उपस्थित हुन पाउने छैनन्’ भनेरै लेख्नुपर्‍यो र त्यो एग्रीमेन्टको साक्षीका रुपमा आमालाई सही गराउनुपर्‍यो ।

भन्थिन्, उनले आफ्नो जीवन आफ्नै खुशीमा बाँचिन् । तर, छोरीको यौवनकाल शुरु भएयता उनी आफ्ना लागि एकदिन पनि बाँचिनन्, आफ्ना लागि हाँसिनन् पनि । मात्र, बाँचिन् त छोरीका लागि, हाँसिन पनि उनकै लागि मात्र । तर, प्रेमाको जिन्दगीको हिसाबमा हाँसो भन्दा आँशुको तौल बढी छ । समाजले उनलाई कहिल्यै हाँसेर बाँच्न दिएन । किनभने, उनको दाम्पत्य स्थायी भएन । काखे छोरी च्यापेर यता, उता गर्दै आफ्नो जवानी बितेको पत्तो पनि पाइनन् । सम्पत्तिका नाममा मावलीले पुल्चोकमा दिएको जमिन थियो । भविष्यप्रति उति चिन्ता नगर्ने उनको बानी । जमिन बेचेर जापान घुमिन् । फर्किएर आउँदा आफू र छोरीबाहेक सम्पत्ति केही रहेन ।

उनको वहुचर्चित विद्रोही कविता, ‘आऊ मलाई सम्भोग गर’ पढेपछि ‘साँच्चै होला त’ भनेर आफ्नै दाइ पर्ने मान्छे वीरगञ्जस्थित घरमै ‘लु, म आएँ’ भन्न पुगे । त्यो कविताले कस्तो बजार पायो भने, राम्रो र नराम्रो दुबै नियतका मान्छे उनलाई भेट्न, नजिकबाट बोल्न लालयित हुन्थे ।

प्रेमा २००२ साल असार १६ गते शुक्रबार वीरगन्ज, श्रीपुरमा जन्मिएकी हुन् । उनको चिनाको नामा गिरिराजलक्ष्मी शाह थियो । पूर्णेन्द्रविक्रम उनका बाबु र अरुणा आमा हुन् । उनले ०२६ सालमा नेपाली साहित्यमा स्नातकोत्तर गरेकी थिइन् ।

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस र नेपालगञ्जस्थित महेन्द्र क्याम्पसमा प्राध्यापन पनि गरिन् । लामो समय सर्लाहीस्थित नवजीवन विद्याश्रममा पढाएकी उनी नारायणी वाङमय प्रतिष्ठानकी संस्थापक हुन् । उनले ०२३ सालमा कथासंग्रह ‘पहेँलो गुलाफ’, ०२८ मा ‘विषयान्तर’ ०४० मा लघु उपन्यास ‘ममी’ सहित केही वालकथा, कविता लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment