+
+
Shares

‘मलाई सम्भोग गर’ भन्ने प्रेमा शाहले भोगेको जिन्दगी

जलसा कर्माचार्यलाई 'जल शाह' बनाउने असल आमा !

विश्वमणि सुवेदी विश्वमणि सुवेदी
२०७४ पुष ७ गते १६:१४

७ पुस, काठमाडौं । ०५३ सालतिर म प्रतिपक्ष साप्ताहिकमा मनोरञ्जन स्तम्भ लेख्थेँ । खसी बजारमा पत्रिकाको अफिस थियो । अफिसभित्र विमल निभा, नारायण ढकाल, विनोद ढुंगेल र सुधीर शर्मा थिए । वीरगञ्जियासँगै पत्रिकाको सम्पादक पनि भएका कारण विमल सरलाई फोटो देखाउँदै भनेँ, ‘प्रेमा शाहकी छोरीले फिल्म खेल्ने भइछन्, यो उनकै फोटो हो ।’

विमल दाइले मुख बिगार्नुभयो । ‘प्रेमाजत्तिकी राम्री त होइन है ।’ फोटो हेरेर नारायण ढकालले भन्नुभयो, ‘ठीकै छ त ।’

बाराका बासिन्दा विनोद ढुंगेलले वीरगञ्जमा प्रेमा शाहको समयलाई सम्झिँदै भन्नुभयो, ‘त्यतिबेलाकी प्रेमा शाहको तुलनामा त छोरी केही पनि होइन ।’

जल शाहको इन्ट्री

पत्रकारिता छाडेर फिल्म डाइरेक्टर बन्न तम्सिएका प्रकाश सायमी ‘अवतार’ नाम राखेर फिल्म बनाउने, तर हिरोइन नपाइएको सुनाइरहन्थे । कारण थियो, भनेजस्तो हिरोइन नभेटिनु । उनले एकदिन बिजुलीबजारको मनकामना हलपछाडि सञ्चालित डाइमण्ड एक्टिङ इन्ष्टिच्युटमा बोलाए, हिरोइन देखाउन । त्यहाँ ‘परालको आगो’ को बिरासत बोकेका डाइरेक्टर प्रताप सुब्बा प्रशिक्षक थिए ।

सायमी, म र इन्ष्टिच्युटका सञ्चालक प्रभु चिया पिउँदै गर्दा झ्यालबाट दुई युवती देखिए । एउटी हल्का मोटी, काली, इन्डियन लुक्सकी र अर्की माधुरी दीक्षितको अनुहारजस्तो आउने थिइन् । सायमीले कालीलाई देखाए, ‘मैले चलचित्रमा लिन लागेको चाहिँ यिनै हुन् ।’ उनको पछि एक अधबैंशे महिला पनि थिइन्, कतै देखेजस्तो लाग्ने । सोधेँ, ‘सँगै आउने को हो ?’ सायमीले भने, ‘प्रेमा शाह क्या त, त्यत्रो साहित्यकारलाई नचिन्ने ? उहाँकै छोरी जल शाह हुन् ।’ अर्कीको नाम नमुना थापा ।

तर, जलले अहिले फिल्म नखेल्ने भनेर टारिन् । वास्तविकता के रहेछ भने प्रकाश सायमीले फिल्म बनालान् भन्ने कुरा त्यसबेला एकदम थोरै मान्छेले मात्रै पत्याएका थिए । र, त्यही भेटमा सेसन गरिएको जलको फोटो सायमीले मलाई दिएका थिए ।

त्यसताका म स्तम्भकारका रुपमा रुपरेखा साप्ताहिकमा पनि काम गर्थें । त्यहाँ पनि छापिदिनुपर्‍यो भनेर फोटो लगेको त पहिल्यै हेमचन्द्र बस्नेतले म्याटर लेखिवरि फोटो हाल्न तयार पारिसकेका रहेछन् । त्यसबेला चन्दा शाह सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष हुँदा हेमचन्द्रको उनीसँग सम्बन्ध सुरु भयो । पछि उनीहरुले विवाह गरे । वीरगञ्जतिरैकी चन्दामार्फत प्रेमाले छोरीको फोटो छाप्न हेमचन्द्रलाई दिएकी रहिछन् ।

झम्टिनेको ताँती

साहित्यसँग जोडिएका मान्छेहरु भेट हुँदा प्रेमाकी छोरी हिरोइन बन्ने कुराको आपसी चर्चा हुने नै भयो । तर, सबै छक्क पर्थे । प्रेमा तरुणवयमा अति सुन्दरी । घमण्डी पनि उत्तिकै । फिल्म र नाटक खेल्न उनलाई भन्नेहरुले नभनेका हैनन् । तर, मानिनन् । एक किसिमले उनी यो क्षेत्रलाई नै राम्रो नजरले हेर्नेमा थिइनन् ।

प्रेमाले लेखेको सर्वाधिक चर्चित कविता ‘आउ मलाई सम्भोग गर’ शीर्षकको कविताले उनलाई अलि बढी थेत्तरो बनाएको सुनाइन् । समाज संकीर्ण त छँदैछ, त्यसमाथि शिक्षित र आधुनिक भनिएका मानिसहरुको महिलालाई हेर्ने नजर पनि राम्रो नहुँदा उनले कतिपय अवस्थामा विद्रोही बन्नुपर्‍यो । कविता चर्चित भएपछि उनलाई भेट चाहने पुरुषहरु ताल-तालका । कसैलाई हप्काएर, कसैलाई सम्झाएर, कसैलाई बोल्दै नबोली-चूपचाप बसेर पनि तह लगाउनुपर्ने स्थिति आयो । अहिले नै त्यस्तो कविता लेख्नेमाथि अनेक गिद्देनजर लाग्छ भने यो कुरा त ३० को दशकको पूर्वार्द्धकै ।

त्यसरी जानेमध्येका एकजना थिए, जनकबहादुर राणा । उनी पूर्वमिस नेपाल रुवी राणाका बुबा हुन् । उनी ठाँटबाँठ भएका, अलि राणा खान्दानी व्यवहार झल्किने स्वभावका थिए । प्रेमाकहाँ गए । ‘तिमी नै हैन प्रेमा शाह भनेको ?’ प्रेमाले भनिन्, ‘हो ।’ उनले भने, ‘वीरगञ्जिया भएर हामीलाई वास्ता नगर्ने ?’

प्रेमाले विनम्रतापूर्वक सोधिन्, ‘तपाईंका मामा पुनेन्द्रविक्रम शाह हैन ?’ उनले भने, ‘हो । भएर के भो त तिमीलाई ?’ प्रेमाले भनिन्, ‘म उहाँकी छोरी ।’

मन परेर गएको तर मामाकी छोरी भएपछि दाजु-बहिनीको नाता लगाएर जनबहादुर फर्किए ।

यो त सानो उदाहरणमात्र भयो । कविता पढेर काठमाडौंदेखि प्रेमालाई भेट्न वीरगञ्ज पुग्नेहरुको ताँती लाग्थ्यो । अञ्चलाधीश, सिडिओहरुको पावर लगाएर उनीसँग नजिकिन चाहनेहरु प्रशस्तै थिए ।

कवितामै ‘आउ मलाई सम्भोग गर’ भनिसकेपछि कतिपय मान्छेहरु सोझै झम्टिने शैलीमा प्रेमाको नजिक पुग्थे । त्यसबेला धेरैले चड्कन खाए । कविता यौनकेन्दि्रत भए पनि त्यसमा विद्रोहचेत थियो । तर, नबुझ्नेलाई के लाग्छ र ?

छोरीकी साथी

डायमण्डमा पहिलो चिनजान गराइदिए, प्रकाश सायमीले । त्यसपछि उनीसँग सोझै कुरा हुन थाल्यो ।

राणाकालमा हतियार बनाएको अभियोगमा गेहेन्द्रसमशेर र उनीसँग जोडिएका मान्छेले खुब दुःख पाए । तीमध्येकै थिए, पाल्पाली रुद्रसमशेर । त्यसबेलाको सबभन्दा ठूलो सजायँ भनेको नौडाँडा काट्ने । नौडाँडा कटाएर उनी र उनका शाखा-सन्तानलाई वीरगञ्ज पुर्‍याइएको थियो । प्रेमा शाह उनै रुद्रशमशेरका भाञ्जा पुनेन्द्रविक्रम शाहकी छोरी हुन् ।

‘अवतार’ फिल्म बनाउने सिलसिलामा एउटा भेटमा मैले सोधेँ, ‘हजुरको लेखन बन्द भयो कि मैले नपढेको ?’ भनिन्, ‘अब म लेखिका होइन, छोरीको साथी हुने भएँ ।’

मैले कारण सोधेँ । ‘गहिरो छ । म उसको साथी भइनँ भने न म केही रहन्छु न ऊ ।’ भावुक भइन् ।

जीवन एक, भोगाइ अनेक

जल शाह जतिबेला नेपाली सिनेमाको हिरोइन बन्न काठमाडौं छिरेकी थिइन्, स्वयं उनी एउटा अलग्गै सिनेमाझैँ कथानक थिइन् ।

छोरीलाई लिएर काठमाडौंका सडक नाप्दै थिइन् प्रेमा । सोच्न सकिँदैन कि नेपाली साहित्यमा त्यो उचाई बनाउने एउटी महिला छोरीलाई हिरोइन बनाउन यति धेरै कष्ट उठाउँछिन् ।

प्रेमा शाहलाई पढ्दा उनी जति रोमाञ्चक थिइन्, उनको जिन्दगी त्यस्तो रहेन । नेपालमा यौनकेन्दि्रत विषयमा कलम चलाउने उनी सम्भवतः पहिली महिला थिइन्, पुरुषमा वीपी कोइराला थिए ।

छोरीलाई हिरोइन बनाउने सन्दर्भ एउटा दर्दनाक पृष्ठभूमिसँग गाँसिन्छ । मान्छेहरु उनको दर्द बुझ्दैनथे वा बुझ पचाउँथे । त्यसैले बाँचुञ्जेल उनले खेपेको आरोप हो, ‘छोरीको गोठालो भई ।’

गोठालो नै सही, तर प्रेमाजत्तिकी आमा थिइनन् भने जल न हिरोइन बन्थिन्, न प्रेमा अस्तिसम्म बाँच्नै सक्थिन् ।

०५३ सालतिर, जतिबेला जललाई लिएर प्रेमा काठमाडौं छिरेकी थिइन्, त्यसबेला उनी वीरगञ्जबाट होइन, सर्लाहीबाट आइपुगेकी हुन् । त्यहाँको नवलपुर, जुटपानीस्थित नवजीवन विद्याश्रममा जलले कक्षा १० सम्म पढिन् । त्यो स्कुल प्रेम प्रधानले चलाएका थिए । शिक्षा निःशुल्क थियो । नेपाली अध्यापिका थिइन्- प्रेमा शाह ।

त्यसो त नेपाली साहित्यमा स्नातकोत्तर गरेकी प्रेमाले चाहँदा राजधानीका राम्रै क्याम्पसमा जागिर खान सक्थिन् । तर, जिन्दगी सोचेजस्तो कहाँ रह्यो र ?

वीरगञ्जपछि उनी काठमाडौं बस्न थालेकी थिइन् । ललितपुरका रमेश कर्मचार्यसँग प्रेमपछि विवाह भयो । एउटी छोरी जन्मिइन् । नाम आफैँले राखेकी हुन्- जल । तर, दाम्पत्य लामो रहेन ।

तनावपूर्ण दाम्पत्य जीवनलाई बिश्राम लगाउँदै उनी छोरी च्यापेर वीरगञ्ज फर्किइन् । दुःखले छोरी हुर्काइन् । छोरी हुर्काउने चुनौतिका अगाडि सबै कुरा फिक्का हुँदै गए । लेखनमा लामो समय हराइन् । कारण उनै थिइन्- छोरी । किनभने, यो समाजमा पढे-लेखेकी शिक्षित छोरी भएर उनी पनि बाँचिरहेकी थिइन् । तर, समाजले उनलाई कसरी हेर्‍यो ? त्यसमाथि छोरीको एकल जिन्दगी अभिसापजस्तो ! यसैले होला, छोरीलाई सीप, इलम र व्यक्तित्व सबै कुराले भरिपूर्ण बनाउने प्रेमाको चाहना थियो ।

पतिबिना छोरी लिएर उनी वीरगञ्जमा पनि धेरै समय बस्न सकिनन् । अर्थात्, उनले गरीखाएको ‘पापी समाज’ ले सहेन । र, त्यहाँबाट सर्लाहीतिर लागिन् । जलले त्यहीँ कक्षा १० सम्म जेनतेन पढिन् । तर, पढाइ त्यहाँबाट अगाडि बढेन ।

पढालेखा छोरीहरुलाई समेत देखी नसहने निष्ठुरी समाज न हो हाम्रो । कस्तो होला, पढ्न नसकेकी छोरीको हविगत ? शायद यही प्रश्नले प्रेमालाई दिनुसम्म पीडा दिइरह्यो ।

०५३ सालको प्रवेशिका परीक्षाअगावै प्रेमाले सर्लाही छाडिन् । किनभने, जलले टेष्ट परीक्षामै असफलता व्यहोर्नुपर्‍यो । (यद्यपि जलले यो कुरा स्वीकारेकी छैनन् ।) यस्तो हुनुको कारण हो, पारिवारिक बेमेल । अभिभावकको दाम्पत्य समस्याले सन्तानमा पर्ने मनोवैज्ञानिक प्रभावको रुप हो, पढाइ बिग्रनु । बानी बिग्रनु र कुलतमा लाग्नु । तर, जलको त केही बिग्रिएको थिएन, पढाइ बाहेक ।

प्रेमाको चुनौति के भने, छोरीलाई आफ्नो प्रत्यक्ष निगरानीमा सही बाटोमा लगाउन सकिएन भने अगाडि के हुन्छ, भन्न सकिँदैन । छोरीले स्वविवेकले कुन बाटो रोज्छिन्, त्यो पनि टुंगो थिएन । सानोमा नाच्न जानेकी थिइन् । हेर्दा पनि हिस्सी परेकी । त्यसैले फिल्मीलाइन, जहाँ औपचारिक शिक्षा खोजिँदैन र गर्न सक्दा प्रतिष्ठा आर्जन हुन्छ- त्यही रोजिन् प्रेमाले छोरी जल शाहका लागि ।

त्यसबेलाको नेपाली फिल्म बजारमा चलेका हिरोइनहरु करिश्मा, गौरी, कृष्टि, मौसमी र तृप्तिहरु लगभग पलायन हुँदै थिए । एक किसिमले राम्रा, व्यवासायिक हिरोइनको खडेरी नै थियो । विपना थापाले ‘जन्मभूमि’, निरुता सिंहले ‘रहर’ र मेलिना मानन्धरले ‘प्रेयसी’ बाट उपस्थिति त जनाएका थिए । तर, बजारमा जम्न पाएका थिएनन् । त्यसमा पनि निरुताको काठमाडौंमा पत्तो थिएन । ‘रहर’ को सुटिङ सिध्याएर उनी दार्जिलिङ गइन् ।

त्यसैले क्षमतावान हिरोइनका लागि जल काठमाडौं छिरेको समय निकै उर्वर थियो । काठमाडौंलाई एउटी राम्री हिरोइन चाहिएको थियो ।

काम खोज्दै जाँदा यादव खरेलले ‘प्रेमाले भनिसकेपछि खेलाइदिउँ न त’ भनेर श्रीस्वस्थानी फिल्ममा जल शाहलाई खेलाइदिए । तर, जलको अभिनयमा उनले खोट देखाए । त्यसपछि उनी इन्ष्टिच्युट खोज्दै जाँदा डायमण्डमा पुगेकी रहिछिन् ।

फिल्म ट्रेनिङपछिको पहिलो फिल्म ‘सीमाना’का लागि अनुबन्धित गरिएकी नायिका मेलिनालाई हटाएर जललाई काम गराइँदै थियो ।

फिल्ममा एउटा दृश्य थियो, सुहाग रातको । स्क्रिप्ट हेरेर प्रेमाले भनिन्, ‘हुन्न-हुन्न, मेरी छोरीले यस्तो त गर्दिनँ ।’

फिल्ममा सुहागरातको दृश्य दिन नमिल्ने पनि हिरोइन हुन्छन् त ? प्रकाश सायमीले सोधे । प्रेमाले भनिन्, ‘म छोरीको यस्तो रुप हेर्नै सक्दिनँ ।’

त्यसपछि सायमीले सिफारिसकर्ता प्रताप सुब्बालाई भने, ‘उहाँकी छोरीलाई फिल्म खेलाउँछु, तर आमा पछि लाग्न भएन ।’

प्रताप सुब्बाकै मध्यस्थतामा सुटिङभरि सुटिङ स्पटमा प्रेमा जान नपाउने गरी सम्झौता भयो । र, उनी गइनन् पनि ।

जलको दोस्रो फिल्म थियो- निर्मोही । एकदिन सानेपास्थित सायमीको घरमा फिल्मकी निर्मात्री मीना श्रेष्ठ पुगेर भन्दै थिइन्, ‘हिरोभन्दा हिरोइन महंगो पर्ने भयो । आमालाई समेत सँगै लानुपर्ने । तपाईंले यो के सिफारिस गर्नुभएको ?’

सायमीले भने, ‘केटीको काम राम्रो छ, आमालाई फकाएर कुरा मिलाउनुपर्छ । हप्काएर बोल्नुभयो भने चड्कन खानुहोला ।’

यही विधि अपनाएर मीनाले फिल्म तयार पारिन् ।

त्यसपछि जलले खेलेको फिल्म थियो, चिरञ्जीवी बस्नेतको चण्डाल ।

रक्सी कहिल्यै नपिउने चिरञ्जीवीलाई एकदिन कालिकास्थान, पिपलबोटको रेष्टुरेन्टमा देखियो । सोधेँ, ‘दाजु, तपाईं पनि यहाँ ?’

उनले भने, ‘तरिका हुन्छ नि यार, फिल्म छोरीलाई खेलाउने, डिमाण्ड आमाले गर्ने ?’

रहेछ के भने, गीतको सेटमा जल शाह बेहुली हुनुपर्ने । जग्गेमा बस्नुपर्ने । पतिको भूमिकामा राजेश हमाल । ‘मिल्दैन-मिल्दैन’ भनेर प्रेमा कराउन थालेपछि क्यामेरा, लाइट, सबै लात मारेर उनी कालिकास्थान पुगेका रहेछन् ।

आमासँग झगडा गर्दा-गर्दा एक वर्ष लगाएर फिल्म बन्यो । नेपालको फिल्म क्षेत्रमा प्रोडक्सन कन्ट्रोलरका रुपमा चिरञ्जीवी बस्नेत सबैभन्दा छिटो र सबभन्दा धेरै फिल्म बनाउने निर्माता हुन् । तर, उनको आफ्नै पहिलो प्रोडक्सन हिरोइनका कारण मार खाइरहेको थियो । त्यसपछि उनले थुप्रै फिल्म बनाए, तर कुनैमा पनि जललाई लिएनन् ।

०००

धेरैले प्रेमालाई छोरीको गोठालो लागेको भनिरहे । तर, गोठालो लाग्नचाहिँ छाडिनन् । हामी पत्रकारले पनि यसै भनेर लामो समय लेखिरह्यौँ ।

प्रेमा पत्रिकामा यस्तो कुरा छापिँदा एकदमै रिसाउने । त्यो पत्रकारलाई भेट्यो कि गाली गरिहाल्ने । कुनै कार्यक्रममा गइयो भने जलभन्दा पहिला आमालाई हेर्नुपर्ने । किनभने, देख्यो कि गाली गर्न थालिहाल्ने ।

अति नै भएपछि रसियन कल्चर सेन्टरमा डा.भोला रिजालहरुले बनाएको फिल्मको प्रिमियर शो भइरहँदा प्रेमाले हलभित्रैबाट केही पत्रकारलाई तानेर बाहिर ल्याइन् र भनिन्, ‘के मेरो पीडा तपाईंहरुलाई थाहा छ ? कलम छ भन्दैमा लेखिहाल्न पाइन्छ ?’

हुन पनि यो धर्तिमा प्रेमासँग आफ्नो सिंगो शरीर र छोरी जलबाहेक केही बाँकी थिएन । साहित्यमा नाम थियो, इतिहास थियो । तर, त्यसले खान दिँदैनथ्यो । आफूले केही सीप, इलम गरौँ, उमेर ढल्किँदो थियो । छोरीकै पछि लागेर उनको प्रत्यक्ष अभिभावकत्व नसम्हाल्दा जे पनि हुनसक्ने समय थियो । फिल्ममा कामभन्दा बढी काण्ड हुने समय थियो ।

समुन्द्र भट्टचन-वर्षा खड्का, दीपक आलोक-दीपाश्री, निलु रायमाझीहरुका झैँझगडाले बजार तताएको समय थियो त्यो । आउन खोजेका थुप्रै हिरोइन कुदृष्टिमा परेर लखेटिए वा शोषणमा पारिए । तर, त्यस्ता चुनौति सहन प्रेमा तयार थिइनन् । किनभने, यो धर्तिमा उनीसँग बाँकी जम्मा दुई चिज थियो, एउटा आफू प्रेमा शाह र अर्की छोरी जल शाह ।

त्यसैले हो, उनलाई रातदिन छोरीकै पछि लागेर उनको नाम, इज्जतसँग रमाउने बानी परेको ।

जलसँग पनि त आमाको माया बाहेक केही थिएन । बाबुसँगको जिन्दगीको अनुभव थिएन । नागरिकता पनि ०५५ सालमा मात्रै बन्यो, त्यो पनि ठूलै संघर्षपछि । र, त्यो नागरिकतामा जलको नाम छ- जलसा कर्माचार्य ।

सौहाद्र सम्बन्ध

अक्सर पत्रकारबाट मानिसहरु चाहन्छन्, उसले राम्रो लेखिदियोस् । तर, फिल्म पत्रकारितामा हुञ्जेल मान्छेहरुले मबाट राम्रो लेखिदियोस् भन्दा नराम्रो नलेखे हुन्थ्यो भन्ने चाहन्थे ।

नजिकिनेहरु पनि राम्रोका लागि हैन, नराम्रो कुरा नआओस् भन्नका लागि नजिकिने बढी थिए । यस्तै रह्यो, प्रेमासँगको अन्तिम सम्बन्ध ।

‘गैँडा’ नामले चिनिने कलाकार निर्मल शर्मा दरबारमार्गमा ‘होटल दरबार’ चलाउथे । ०६० सालतिर निर्मलले फोनमा भन्थे, ‘फुर्सद भए छिरौँ न सर ।’ गयो, प्रेमा हुन्थिन् । उनीसँग भेट्दा गाली खाने भइयो भनेर सधैँ डर लाग्ने । तर, ०६० सालदेखि मैले प्रेमाको गाली हैन, माया पाउन थालेँ ।

मलाई त्यसरी निर्मलले प्रेमासँग भेटाउनुको कारण रहेछ, निर्मलकी ठूलीआमाका छोरा शरद रिमालसँग जलको विवाह हुँदैथियो । शरद लामो समयदेखि अमेरिका बस्दै आएका । उता पहिलो विवाह गरेका थिए । सम्बन्ध टुटेपछि जलसँग दोस्रो विवाह हुँदै थियो ।

यस्तो हल्ला सुनेपछि मैले निर्मललाई सोधेँ । उनले जवाफ दिएनन् । ‘बरु, एकछिन होटल आउनू न’ भनेर बोलाए । पुग्दा प्रेमा थिइन् । शुरुमा त गालीको डरले परैबाट भागौँझैँ लाग्यो । नजिक पुगेपछि राम्रो मिजासमा बोलिन् ।

मैले निर्मललाई सोधेको प्रश्नको जवाफ प्रेमाले भेट्नेबित्तिकै दिइन्, ‘बाबुले सुनेको जलको कुरा सत्य हो । तर, नलेख्नु नि ।’

मैले ०५५ सालदेखि प्रेमाको अन्तर्वार्ता लिन चाहेको, उनले दिइरहेकी थिइनन् । त्यही मौकामा मैले सोधेँ । उनले ‘हुन्छ’ भनिन् ।

हामी चार तलामाथि रेष्टुरेन्ट चढ्यौँ । जल माथि नै थिइन् । त्यहीँ खाना खायौँ ।

सोधिन्, ‘बाबुलाई सुट सुहाउँछ है ?’ मैले हाँसेर भनेँ, ‘हजुर ।’ खाना खाइसकेर नजिकैको कपडा पसलमा गएर उनले मलाई सुट किनिदिइन् । सुटको कपडा छानेको चाहिँ जलले । मैले करिब ५ वर्ष लाएँ होला, त्यो सुट ।

अन्तर्वार्ता छापिएपछि घरमा एक साँझ खाना खान बोलाइन् । र, त्यही साँझ हो, प्रेमाले मलाई ध्रुवचन्द्रजस्तो देखेको !

०००

‘काटिकुटी ध्रुवजस्तै । झन् हाँस्दा त फरकै नपर्ने…।’

प्रेमाको हातमा वाइन थियो, मसँग स्कच । पिउँदै गएपछि उनले भन्दै गइन्, ‘ध्रवले पनि रक्सी र चुरोट यसरी नै पिउँथ्यो । फेसचाहिँ साटेजस्तो Û नाता त पर्दैन नि है ?’

मैले जवाफ दिएँ, ‘राजा चिनाइ हो मम्मी, म चिन्छु, उहाँले मलाई चिन्नुहुन्नँ ।’

जति-जति पिउँदै गयो, त्यति-त्यति प्रेमाले मलाई ‘ध्रुव’जस्तो अर्थात्, उनको वयका हितैषी, साहित्यकार डा.ध्रुवचन्द्र गौतमजस्तो देख्न थालिन् ।

०६० सालतिर यसरी वाइन पिउँदा प्रेमाले मलाई ‘ध्रुवजस्तै’ भनेपछि होटल याक एण्ड यतिको एउटा पार्टीमा भेटिएका आख्यानपुरुष ध्रुवचन्द्र गौतमलाई मैले यो कुरा सुनाएँ । उनी यसरी हाँसे कि वरिवरिका मान्छेहरु सब उनलाई हेर्न थाले ।

रहेछ के भने, उनीहरु वीरगञ्जिया । संगत वाल्यकालदेखिकै । उनी आफ्नो उमेरकी एकदमै बिछट्ट । यही समाज न हो । आँखा लगाउनेको के कमी थियो र Û

गौतमले सुनाएअनुसार, प्रेमा लेखाइमा जस्तो सहज र उदार थिइनन् । तर, मिल्नेहरुसँग हाँसखेल गर्थिन् । ध्रुवचन्द्र त्यस्तै मिल्नेमध्येका बालसखा रहेछन् उनका ।

भेटेका बेला ध्रुवचन्द्रसँग प्रेमाबारे केही कुरा चोर्न मन लाग्ने नै भयो । सोधेँ- ‘अफेयर अलि बढी चल्थ्यो कि उनको ?’ उनी तर्किए, ‘व्यक्तिगततिर नजाऔँ । तर, तपाईंसँग भेट्दा मलाई सम्भिmएको कुराले आनन्द लाग्यो । मेरी केटाकेटीकी साथी हुन् । नभेटेको धेरै वर्ष भइसक्यो ।’

एउटा भेटमा प्रेमालाई नै मैले सोधेको थिएँ, ‘फिल्म खेल्ने अफरहरु त हजुरलाई पनि आउँथे रे, हैन ?’ उनले भनिन्, ‘मैले त्यस्तो कुरालाई कहिल्यै पनि केयर गरिनँ, म आफ्नो बाटो नै फरक हो भन्ठान्थेँ ।’

०००

अब साहित्यकार प्रेमा शाहले न कहिल्यै मलाई, न यो धर्तीलाई नै केही देख्छिन् र केही भन्छिन् । ७२ वर्षको उमेरमा उनको जीवनलीला संयुक्त राज्य अमेरिकाको साल्ट लेकस्थित माउन्टेन अस्पतालमा उपचारका क्रममा समाप्त भएको छ ।

म प्रेमाको जीवनको केही समयनिकट सम्बन्धमा रहनुको कारण थिइन्, उनै छोरी तथा अभिनेत्री जल शाह ।

अभिनेत्री जलले आफ्नी ममतामयी आमाका साथसाथै एकजना सचेत अभिभावक गुमाएकी छिन् । उनलाई हार्दिक समवेदना ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?