Comments Add Comment

‘माल’ भन्दै सुन पसलमा वित्तीय कारोवार !

६ पुस, विराटनगर । आर्थिक कारोवारका लागि नेपाल राष्ट्र बैंकबाट अनिवार्य स्वीकृति लिनुपर्छ । तर, बिराटनगरका अधिकांश सुनचा“दी पसलमा अनुमतिबिना वित्तीय कारोवार हुने गरेको पाइएको छ ।

सुन चाँदीको कारोवार गर्ने अनुमती लिएका पसलहरु अवैध रुपमा सुन धितो राखेर वित्तीय कारोबार गरिरहेका छन् । उनीहरुले सुनलाई ‘माल’ भन्ने गरेका छन् ।

गत साता सर्वसाधारण र बैंकको करिब ४२ करोड रुपैयाँ लिएर ‘शिशु’ भनेर चिनिने सन्तोष बेगवानी भारत भागेपछि सुनचाँदी पसलहरुमा हुने गरेको वित्तीय कारोवार सतहमा आएको हो । शिशुले रंगेली रोडमा ओम लक्ष्मी ज्वेलर्स सञ्चालन गरेका थिए । बेगवानी भागेपछि प्रहरीमा २६ जनाले उजुरी गरेका छन् । तीमध्ये अधिकांशले सुन धितो राखेर ऋण लिएका थिए ।

सुन धित्तो राखेर बेगवानीले ऋणीहरुलाई दिएको भौचरमा पसलको नाम समेत उल्लेख छैन । बिराटनगरका अधिकांश सुनचादी पसल सञ्चालकहरुले भौचरमा आफु र ऋणीले बुझ्ने ‘कोड’ भाषा प्रयोग गरेको पाइएको छ । बिराटनगरमा करिब सयवटा सुनचाँदी पसल छन् ।

सुनचादी पसल सञ्चालनको अनुमति दिने र अनुगमन गर्ने निकाय बाणिज्य कार्यालयले दुई वर्षयता अनुगमन गरेको छैन । उक्त कार्यालयका नायब सुब्बा कुमार दाहाल सुनचादी पसलहरुमा अनुगमन गर्दा पनि वित्तीय कारोवार हुने गरेको नभेटिएको बताउँछन् ।

विराटनगरमा सञ्चालित सुन पसलहरुले सर्वसाधरणलाई न्यूनतम २४ प्रतिशतदेखि ३० प्रतिशतसम्म मासिक ब्याजदरमा सुन धितो राखेर लगानी गर्छन् । उपभोक्ताले राखेको त्यही सुन बैंकमा राखेर उनीहरुले सस्तोमा ऋण निकाल्ने गरेको पब्लिक फोरम, बिराटनगरका अध्यक्ष उत्तम ढुंगेल बताउँछन् ।

प्रशासनले निगरानी नगर्दा सर्वसाधरणहरुको सम्पती जोखिममा रहेको उनको भनाइ छ । ‘सर्वसाधारणको सुन र बैंकको पैसामा व्यपारीले रजाइँ गरिरहेका छन्’, ढुंगेल भन्छन्, ‘सर्वसाधरणले चाहनेवित्तिकै धितो राखेको सुन फिर्ता लिन नपाउने अवस्था छ ।’

ढुंगेलका अनुसार, सर्वसाधारणले ऋण तिरेको एक दिनपछि मात्रै सुन पसलले धितो फिर्ता दिने गरेको उनले बताए ।

नेपाल सुनचाँदी बिक्रेता संघ, विराटनगरका अध्यक्ष गणेश भगत सुन धितो लिएर ऋण दिनुलाई ‘सदियौं पुरानो’ व्यापार भन्छन् । उनले व्यापारी र ग्राहकको सहमतिमै ऋण कारोबार हुन दिने वा नदिने विषयमा छलफल गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment