Comments Add Comment

यूनिका उपन्यासः एक वियोगान्त आख्यान

प्रेम बन्धन हो या मुक्ति ? हामीले जेलाई प्रेम ठानिरहेका छौं, त्यो प्रेम नभएर भ्रम पनि हुनसक्छ । उदाहरणको रुपमा पढ्न सक्छौं, घनश्याम पथिकको उपन्यास ‘यूनिका’ ।

३२ भाग रहेको २६० पृष्ठको पथिकको पहिलो उपन्यास ‘यूनिका’ मैले नजिकबाट छामेको छु । महशुस गरेको छु । ‘यूनिका’ उपन्यासमा प्रेममा फसेर बिचलीत भएका प्रेमीहरुको हृदयलाई नजिकबाट छुने शक्ति छ । युवक-युवतीबीचको प्रणयलाई मुख्य विषयवस्तु बनाइएको यस उपन्यासमा समाज, देश, प्रकृति, राजनीतिक अस्थिरताप्रतिको गहिरो चिन्ताभाव पनि जोडीएर आएको छ । नेपालको शिक्षा प्रणाली, राजनीतिक आन्दोलनहरु, सडकको हिलो धुलोदेखि शहिदको योगदान भुलेर मानिसहरु आफ्नो जात, धर्म र भूगोलका शहिद मात्र सम्झन थालेका कुरा उपन्यासमा चित्रण गरिएको पाइन्छ ।

संसारमा प्रेम नगर्नेहरु कमै होलान् । लेखकले पुस्तक तीनै प्रेम गर्नेहरुमा समर्पित गरेका छन् । सरल भाषामा लेखिएको ‘यूनिका’ सामान्य पाठकले पनि सहजै बुझ्छन् । गजलमा होस् या कवितामा या उपन्यासमा, सरल भाषामा बग्न सक्ने ताकत राख्छन् पथिक । पत्रकारीता र प्राध्यापन पेसा अंगालेका उनका तीन कृति प्रकाशित भइसकेका छन् ।

‘यूनिका’ आख्यानको पहिलो खुड्किलो हो । पाठकको रुपमा उभ्याइएको म पात्रले ‘यूनिका’ पढ्छ । वियोगान्त प्रेमकथामा आधारित यो उपन्यास पढिरहँदा पाठक घरि फुरुङ् पर्दै उड्नु, घरी शंकामा घेरिनु त घरी आशाको आँगनमा लुटपुटिँदै सपनाको जहाज उडाउनु स्वभावीक देखिन्छ । उपन्यासको शुरुकै पानाहरुबाट समिक र यूनिकाको विछोड भएको यकिन गर्न सकिन्छ ।

अनाम मण्डलीको कार्यक्रममा भेटभएपछि समिक र यूनिकाको मनमा पलाएको प्रेम शुरुमा जीवन्त झैं लाग्छ । तर, उपन्यासमा किशोर र किशोरीबीच हुने अपरिपक्क प्रेम झल्किन्छ । मायामा पागल भएका समिकबिना सङ्गीत नाच्छन् र हराइ रहन्छन् प्रेमको सागरमा, सपनाहरुमा, रहरहरुमा अनि कल्पनाहरुमा ।

‘मनपर्ने कारले हर्न बजायो भने यूनिका मेरी । त्यो बादल फाट्यो भने यूनिका मेरी । त्यो चरा उड्यो भने यूनिका मेरी । त्यो जहाज उत्तरतिर उड्यो भने यूनिका मेरी । त्यो यसो भए यूनिका मेरी । उसो भए यूनिका मेरी ।’ ‘यूनिका’ पागलप्रेमिको बकपत्र हो भन्ने कुरा उपन्यास भित्रका यस्ता कुराहरुबाट प्रष्ट हुन्छ ।

आफूलाई तपाईँ, हजुर भनेको मनपराउने समिक प्रेमिकालाई तिमी भनेर सम्बोधन गर्छ । उ चाहन्छ आफूप्रतिको सम्बोधन हिमालझैं अटल, सागर झैं गहिरो, आकाश झैं फराकीलो होस् । प्रेमिकालाई तिमी भन्छ र आफूलाई त्यही सम्बोधन नहोस् भन्ने चाहन्छ । लेखकले महिलाको कोमल, शंवेदनशील र भावुक मुटुको पनि चित्रण गरेका छन् ।

प्रेममा आएका उतार चढावहरुले पाठकको मन सहजै तान्छ । समिक र यूनिकाको प्रेम पटक-पटक छुट्दै जोडिंदै उपन्यास अगाडी बढेको छ । यूनिकासँगको सम्बन्ध छुटेपछि विछिप्त बनेको समिक विरक्तिएर काठमाडौं छोड्ने निर्णय गर्छ । काठमाडौं मै भेटिएकी हो उसकी यूनिका, काठमाडौं मै पढेको हो स्नातक, काठमाडौं मै खाएको हो उसले जागिर, काठमाडौं कै विभिन्न साहित्यिक गोष्ठी मार्फत बाहिर ल्याएको हो उसले आफ्नो प्रतिभा । तर, प्रेममा धोका पाएपछि यी सबैकुरा बिर्सेर काठमाडौंलाई निष्ठुरीहरुको कुरुप शहर ठहर्‍याउँदै झापा लाग्छ ।

समिकले यूनिकालाई कठोर हृदय भएको निष्ठुरी भनेतापनि उपन्यासमा यूनिकालाई कमजोर नै देखिन्छ । किनभने यूनिकालाई फिल्म हेर्न र नाच्न खुब मन पर्छ । घरबाट सबैले हेला गर्ने र नाच्नु हुँदैन भन्ने परिवारको धारणाकै कारण लुकेर गीतको भिडियोमा नाचेकी यूनिकाको रहस्य दाजुले थाहा पाउँछन् । यूनिकाको दाजुले गरेको गाली र कुटपिटबाट नेपाली समाजमा अझै पनि नारीहरुको स्थान कहाँ छ भन्ने कुरा प्रष्ट हुन्छ ? सपनाको सम्मान परिवारले नगरेपछि मुसाको दबाई खाएर आत्महत्या गर्ने निर्णयमा यूनिका पुग्छे । दाजु आएको कारण आत्महत्या गर्न भ्याएकी हुन्न । पढेकी नारी भएर पनि आफ्नो बा र दाजुलाई आफ्नो गीतमा नाच्ने सपना गलत होइन भन्ने कुरा बुझाउन नसकेको देखाउँदा, नारीपात्रलाई लेखकले अलिकति कमजोर बनाएको भान हुन्छ ।

‘यूनिका’मा भावुक भएर घटना कम सोचाइ, प्रेममा शंका, उपशंकाज्यादा गरिएको छ । अन्ततः यूनिकाको प्रेम नाटक मात्र हो की भन्ने समिकको शंका यथार्थमा परिणत हुन्छ । फेरी एकफेर प्रेममा विछिप्त भएपछि प्रश्न गर्छ- ‘पि्रय वैज्ञानिकहरु, सारा कुरा पत्ता लगायौ, उपकारीदेखि विनाशकारीसम्म । तर एउटा मायाको गहिराइ नाप्ने यन्त्र, मायाको सापेक्षित आद्रता नाप्ने यन्त्र बनाउन सकेनौ । पि्रय अन्वेषकहरु, किन बनाएनौ थर्मोमिटर जस्तै माया नाप्ने लभोमिटर ?’

लेखकले यसरी विज्ञानको पराजय र आत्माको विजय प्रष्ट्याएका छन् ।

आफूले मनपराएको अर्को केटासँग फूलमाला गरिन् रे भन्ने कुरा फोनबाट थाह हुन्छ । तर किन फूलमाला गरिन् ? उनको प्रेमी रहेछ त समिकसँग किन प्रेम गरिन् ? समिकको प्रेम प्राप्तिका लागि परिवारसँग अन्तिम लडाईँ लड्छु किन भनिन् ? जस्ता रहस्यको उद्घाटन बिनानै आख्यानले अन्तिम रुप लीएको छ ।

अन्ततः चर्चाकै आधारमा म पात्रले पढिरहेको यूनिका उपन्यास, प्रवेशको प्रतिभा हो, आत्माको आवेग हो, समिकको संवेदना हो । प्रवेशले प्रकाशनको लागि दिएको यूनिका प्रमोद अनभिज्ञले आफ्नै नाममा छपाएर बौद्घकि चोरी गर्दा पनि प्रमाण नभएकै कारण प्रवेशले आफ्नो उपन्यास भनेर दाबी गर्न पाएन । समिकको प्रेम र प्रवेशको लेखक बन्ने सपना अधुरो रहेको दुखद् कुरासँगै लेखकले उपन्यासलाई अन्तिम आकार दिएका छन् ।

यो समस्या आजको समस्या हो । आज पनि यस्ता घटना घटिरहेकै छन् । ‘यूनिका’ पढिसकेपछि यस्ता गम्भिर समस्याबाट लेखकहरु बच्नुपर्छ भन्ने सोचाइ पाठकमा आउँछ नै । यसकारण पनि यो पुस्तक आज पनि समय सान्दर्भिक एवं उपयोगी छ । बुझ्न  सकिन्छ, यस्ता बौध्दिक चोरीले कसरी कसैको लेखकबन्ने रहर हत्या गरिदिन्छ ?

उपन्यासमा नबिन विषय छैन । ‘यूनिका’ उपन्यासको कभर र केथि्रन होवेको पुस्तक कन्भर्सनसँग हुबहु मिल्छ । पुस्तकमा कुनै क्रेडिट पनि दिइएको छैन । त्यसो त धेरै नेपाली लेखकका चर्चित पुस्तकको कभर विदेशी लेखकसँग मिल्छ । के यो बौध्दिक चोरी होइन ?

समग्रमा पथिकको आगामी आख्यान फरक रस, नयाँ शैली र मनोहरी भाषामा पढ्न पाइन्छ भन्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment