+
+

अमेरिकामै किन अड्किए नेपाली सेनाका अत्याधुनिक हतियार ?

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १० गते १:२५

९ पुस, काठमाडौं । नेपाली सेनाका लागि सरकारले अमेरिकासँग किन्न लागेका अत्याधुनिक हतियारको भुक्तानी गर्न सार्वजनिक खरिद ऐन बाधक बनेपछि विकल्पबारे छलफल शुरु भएको छ ।

एउटा सरकारले अर्को सरकारसँग (जिटुजी) कारोबार गर्ने यो खरिद प्रक्रियामा विचौलियाको प्रवेश हुँदैन । तर, एकै किस्तामा हतियारको रकम तिर्नुपर्ने अमेरिकी सरकारको प्रस्ताव नेपालले पूरा गर्न नसक्दा हतियार किन्न ढिलाइ भएको छ ।

सार्वजनिक खरिद ऐनअनुसार एकै किस्तामा सबै रकम भुक्तानी गर्न नमिल्ने भएकाले सेनाका लागि आवश्यक एम-१६ लगायतका हतियार खरिद प्रक्रिया टुंगोमा नपुगेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अनलाइनखबरलाई बताए ।

मन्त्री पोखरेलले ती हतियार नेपालका लागि नभई नहुने भएकाले अर्को प्रक्रियामा गएर भने पनि ल्याउन लागिएको जानकारी दिए । मन्त्री पोखरेलले भने, ‘सेनाले यसअघि अमेरिकासँग लिएका हतियार धेरै पुराना भइसकेका छन् । जिटुजी खरिद प्रक्रिया भएकाले अमेरिकाले एकमुष्ठ रकम भुक्तानी गर्नुपर्छ भन्छ । तर, हाम्रो खरिद ऐनले एकैपटक भुक्तानी गर्न नमिल्ने भएकाले अड्किएको हो । हामीलाई हतियार चाहिएको छ, करिव एक करोड डलर रकम भुक्तानी गर्ने अर्को विकल्प खोज्दैछौं ।’

रक्षा मन्त्रालयका अनुसार नेपाली सेनासँग रहेका २०/३० वर्ष पुराना हतियारलाई विस्थापित गर्नका लागि जिटुजी खरिद प्रक्रिया अघि बढाइएको हो । यो प्रक्रिया अनुसार अमेरिकाले करीव साढे ६ हजार थान अत्याधुनिक राइफल नेपाललाई उपब्ध गराउन अमेरिकी सेनामार्फत टुंगो लगाइसकेको छ ।

अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डले एम-१६, ए-४ र एम-४ काबाइन लगायतका अत्याधुनिक राइफलहरु नेपाललाई विक्री गर्न स्वीकृती जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले हतियार खरिदको प्रक्रिया अन्तिम चरणमा रहेको बताए पनि कति थान हतियार ल्याउन लागिएको भन्न नमिल्ने बताए ।

अमेरिकाबाट खरिद गर्ने हतियारको मूल्य करीव एक करोड डलर अर्थात करिब एक अर्ब रुपैयाँ पर्ने प्रारम्भिक जानकारी रहेको रक्षामन्त्री पोखरेलले बताए ।

सरकारले नेपाली सेनाका लागि अत्यावश्यक हतियार खरिद गर्नका लागि २ अर्ब १९ करोड रुपैयाँ छुट्याएको छ । मन्त्री पोखरेलले सेनाको हतियार खरिद प्रक्रिया सहज बनाउने विकल्पमा छलफल भइरहेको बताए ।

कस्तो हतियार हो एम १६ ?

अमेरिकी सेनाले भियतनाम युद्धमा प्रयोग समेत गरेको एम-१६ विश्वका धेरै देशका सेनाहरुले प्रयोग गरिरहेको हतियार हो । यो हतियार कम तौल र प्रभावकारीरुपमा मार हान्न सक्ने भएकाले धेरै देशमा प्रयोगमा आएको हतियार हो ।

५.५६ एमएम क्यालिबरको गोली लाग्ने अटोमेटिक एम-१६ राइफलले २७ सय मिटरसम्म प्रहार गर्न सकिन्छ । ९ सय मिटरसम्म यसले प्रभावकारी रुपमा मार हान्न सक्छ ।

यो राइफलको मूल्य १६ सयदेखि तीन हजार अमेरिकी डलरसम्म पर्ने विभिन्न वेवसाइटहरुमा उल्लेख छ ।

अमेरिकासँग हतियारको उतार-चढाव

सन् २००१ देखि नेपालमा विद्रोही माओवादीसँग लड्न नेपाली सेनालाई हतियार तथा सैन्य सहायता दिएको अमेरिकाले २००५ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि सो सहायता रोकेको थियो ।

सेना समायोजनपछि अमेरिकाले नेपाललाई लगाएको सैनिक सहायता बन्देज खुलाइसकेको सेनाका प्रवक्ता भण्डारीले बताए । यो बन्देज खुलेपछि अमेरिकाबाट पहिलो पटक हतियार खरिद गर्न लागिएको हो ।

पहिले पनि अमेरिकाबाटै हतियार किने र अमेरिकी हतियार सबैभन्दा उत्कृष्ट रहेकाले तिनै प्रयोग गर्न लागिएको प्रवक्ता सहायकरथी भण्डारीले बताए ।

प्राविधिक कारणले अड्किएको हतियार ल्याउने बारे सरकारीस्तरबाटै पहल भइरहेको मन्त्री पोखरेलले बताए । जिुटजी प्रक्रिया बाहेक अर्को प्रक्रियामा जाँदा ग्लोबल टेण्डर आह्वान गर्नुपर्ने, बिचौलिया चलखेल हुने लगायतका झण्झट हुने भएकाले सरकारीस्तरबाटै खरिद गर्न लागिएको हो ।

कतिपयले अमेरिकासँग ठूलो परिणाममा अत्याधुनिक हतियार खरिद गर्न लागिएकोमा नेपाल अमेरिका सैन्य रणनीतिसँग पनि जोडेका छन् । तर, रक्षामन्त्री पोखरेलले भने राष्ट्रसंघीय मिसनमा खटिने फौजका लागि ती हतियार खरिद गर्न लागिएको र यो नयाँ प्रक्रिया नभएको बताए ।

सेनाले पनि अमेरिकी हतियार चलाउन सजिलो र उत्कृष्ट रहेकाले पुनः अमेरिकी सेनाबाटै लिन लागिएको जनाएको छ । द्वन्द्वकालमा सेनाले भारतसँग पनि इन्सास राइफल किनेको थियो । ती हतियारमा धेरै कैफियत निस्किएको र कतिपय पड्किँदै नपड्किने समस्या आएको उतिबेलै सेनाले जनाएको थियो ।

अहिले सेनाका लागि अमेरिकाबाट हतियार ल्याउन लागिएको प्रक्रिया नयाँ नभएको सरकारले प्रष्ट पारेको छ । स्रोतले भन्यो, ‘लामो समयदेखि रोकिएको हतियार कानुनी र प्राविधिक प्रक्रिया पूरा गरेर ल्याउन लागिएको मात्र हो, यसबाट नेपालको सैन्य सम्बन्धमा तलमाथि हुँदैन ।

इण्डो प्यासिफिक रणनीतिको चर्चा

अमेरिकी सेनाको भारत तथा प्रशान्त क्षेत्र हेर्ने इन्डो प्यासेफिक कमाण्डले नेपाली सेनालाई एम १६ लगायतका घातक हतियारहरु नेपाललाई बिक्री गर्न स्वीकृती जनाएको अमेरिकी सेनाको वेवसाइटमा उल्लेख छ । खबरअनुसार झुक्तानीको विषयमा कुरा मिलेपछि ती हतियार नेपाल आइपुग्नेछन् ।

हालै अमेरिकी विदेशमन्त्री माइक पम्पियोसँग नेपाली समकक्षी प्रदीप ज्ञवालीको औपचारिक भेटवार्तामा अमेरिकाको इण्डो प्यासिफिक रणनीतिमा नेपालको केन्द्रीय भूमिका हुने अमेरिकाले जनाएको थियो । यद्यपि परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकाको इण्डो प्यासिफिक सैन्य रणनीतिमा नेपाल साझेदार नरहेको बताइसकेका छन् ।

मन्त्री ज्ञवालीले अमेरिका भ्रमणका क्रममा एशिया प्रशान्त मामिलासम्बन्धी सहायक रक्षामन्त्री र्‍याण्डल स्त्रिmभरसँग पनि भेटघाट गरेका थिए । सो भेटमा नेपला र अमेरिकाबीच सहयोग तथा सहकार्यका साथै शान्ति सेनामा सहभागी नेपाली सेनाको लागि सहयोगका विषयमा छलफल भएको ज्ञवालीले बताए ।

गत पुस ३ गते मंगलबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पियो बीच वासिङ्टन डीसीमा द्वीपक्षीय भेटवार्ता भएको थियो । अमेरिकी सरकारको विशेष निमन्त्रणामा भेटवार्ताका लागि अमेरिका पुगेका परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री पोम्पियो बीचको भेटवार्ता १६ वर्षपछि नेपाल र अमेरिका बीच भएको उच्चस्तरीय वार्ता हो ।

विशेषगरी नेपालमा बढ्दो चिनियाँ प्रभावलाई निस्तेज गर्ने ट्रम्प प्रशासनको नीतिअनुसार अमेरिकाको विशेष पहलमा भएको वार्तामा द्वीपक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

वार्तापछि पोम्पियोले नेपाल र अमेरिका बीचको मैत्री सम्बन्धलाई अझै बलियो बनाउने र जनस्तरमा मैत्री सम्बन्धको आधारलाई राम्रो बनाउन मिलेर अगाडि बढ्नुपर्ने बताएको कुरा सार्वजनिक भयो ।

यो भेटवार्ताले अन्तराष्ट्रिय राजनीतिमा ठूलै तरंग पैदा गरेको छ । अमेरिकाले एकाएक नेपाललाई यति ठूलो प्राथमिकता दिएर बोलायो भन्ने बारेमा विभिन्न कोणबाट विश्लेषणहरु हुन थालेको छ । नेपाली सेनाले हाल प्रयोग गरिरहेको इन्सास र एसएलआर राइफल विस्थापन गरेर सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको अत्याधुनिक एम १६ राइफल उपलब्ध गराउने योजना अनुसार खरीद प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?