+
+

म्याग्दीको खोलामा पुल बनेन, स्थानीयलाई सास्ती

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १० गते ९:४७

१० पुस, म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका–५ का अर्मनवासी खोलामा पुल नहुँदा सडक सुविधाबाट बञ्चित भएका छन् ।

गाउँपालिकाको केन्द्र बाबियाचौर हुँदै जिल्ला सदरमुकाम आउने बाटोमा पर्ने म्याग्दी खोलामा वारपारका लागि पुल निर्माण नभएपछि अर्मनवासीलाई सास्ती भएको छ ।

स्थानीयवासीलाई खोलामा जोखिम मोलेर सवारी साधन गुडाउनुपर्ने तथा पैदल हिँड्नुपर्ने बाध्यता छ । बाबियाचौरको पानाबगर र अर्मनको हाँडेभिरमा म्याग्दी नदीको पानीलाई फिँजारेर बनाइएको जोखिमयुक्त बाटो हुँदै सवारी साधन वारपार गराइँदै आएको अर्मनका वडाध्यक्ष भूपेन्द्र खत्रीले बताए।
‘हिउँदमा सवारी साधन खोलाबाटै वारपार गराइन्छ, अन्य समयमा सवारी आवागमन ठप्प जस्तै हुन्छ,’ उनले भने ।

हिउँदमा खोलामा जोखिम मोलेर बोलेरो, ट्र्याक्टरलगायतका सवारी साधन वारपार गराए पनि बर्खायाममा भने सवारी साधन वारपार गराउन नसकिने शिशुकल्याण माविका शिक्षक गोविन्द रोकाले बताए । ‘पुल नहुँदा सडक नभएजस्तै भएको छ’, उनले भनिन् ।

अर्मनसँगै बरङ्जाका बासिन्दाले समेत गाउँपालिकाको केन्द्र बाबियाचौर पुग्न म्याग्दी खोलामा जोखिम मोलेर सवारी साधन वारपार गराउँदै आएका छन् । कतिपय सवारी साधन घुमाउरो बाटो भएर बेनी हुँदै जान्छन् । कतिपय सवारी साधन बीचमै पुगेर अड्किने र पल्टिने समस्याले चिसो पानीमा भिजेरै सवारी साधन तार्नुपर्ने बाध्यता छ ।

बाबियाचौरतर्फ माटेबगर र अर्मनतर्फ साठीखण्ड जोड्ने गरी मसानघाटमा पक्की पुल निर्माणका लागि योजना छनोट गरी विगतदेखि नै पहल भइरहेको छ । अर्मन–बाबियाचौर र बरङ्जाको पखेर–तातोपानी जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राखेर योजना माग गरिएकामा अहिले यी योजना ठेक्का प्रक्रिया सकिएर कार्यान्वयनको तयारीमा रहेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

अहिले वडा नं ३ र ४ बरङ्जा तथा ५ अर्मनलाई गाउँपालिकासँग सिधा सडक सञ्जालले जोड्न दु्रतमार्गले पूर्णता पाए पनि म्याग्दी खोलामा पुल नहुँदा सवारी साधन वारपार गर्न सास्ती भएको छ । सडक डिभिजन कार्यालय बागलुङले यी दुवै ठाउँमा पुल निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भएको जनाएको छ । कार्यालयका सब इञ्जिनीयर अर्जुन गौतमले पखेर–तातोपानी जोड्ने पुल निर्माणका लागि निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएर आवश्यक तयारीमा जुटेको जानकारी दिए । उनका अनुसार, बाबियाचौर र अर्मन जोड्नका लागि मसानघाटमा निर्माण हुने पुलकोसमेत ठेक्का प्रक्रियाको काम सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?