Comments Add Comment

‘साहित्यमा मूलधार र किनार भन्ने हुँदैन’

खोटाङको लमाखुमा जन्मेका देवेन्द्र खेरेस (४८) थोरै तर गतिलो लेख्ने कविमा गनिन्छन् । उनले हङकङमा रहँदा ०६५ सालमा पहिलो कविता कृति ‘रुङ्रीको बयान र नदी किनार’ सार्वजनिक गरेका थिए । त्यसको १० वर्षपछि बेलायतबाट  ‘कोलम्बस यात्रा’ लिएर पाठकमाझ आएका खेरेसलाई अनलाइनखबरका पाँच प्रश्न र तिनका संक्षिप्त उत्तरः

 कविता के हो, तपाईं किन लेख्नुहुन्छ ?

कविता के हो, म पनि अहिलेसम्म उत्तरको खोजीमा छु । यद्यपि, कविताले जीवनलाई पारेको प्रभावहरू हेर्दा कविताको अर्थ र परिभाषाहरू मलाई फिक्का लाग्दछन् ।

खासमा कवितालाई हेर्ने/बुझ्ने दृष्टिकोणहरू आ–आफ्नै हुन्छन् । काव्यात्मक चिन्तन चौबाटोको शालीकजस्तो हो । त्यसलाई जुन दिशाबाट हेर्‍यो, आफ्नै प्रकारको देखिन्छ ।

कविताले मानव जीवनलाई पारेको काव्यात्मक प्रभाव र यसबाट उत्पन्न असरहरू सिंगो समाजको लागि अपरिहार्य हुँदोरहेछ । सकारात्मक सोच, परिवर्तनशील विचार र नयाँ गन्तव्यको खोजीको लागि पनि कविता आवश्यक ठान्दछु ।

 ‘संवेदनाको दीप जलाएर जुवा खेलेँ’ र ‘कवितालाई दाउमा राखेर जुवा खेल्न सक्तिनँ’ को तात्पर्य के हो ?

एक व्यक्तिको जीवन र ऊ रहेको समाजलाई गोलमटोलमा हेर्दा गतिशील नै देखिन्छ । तर, जीवन जीउनुको पछाडि अनेकौं कारणहरू हुन्छन्, जुन आवरणमा देखिँदैन । कहिलेकाहिँ आफ्ना इच्छाहरू थाती राखेर पनि जीउनु पर्दछ, तर जीवनको मूल्यमान्यताको परिधिभित्रै । यसलाई यसरी बुझिदिए हुन्छ ।

 १० वर्षअघिको पहिलो कविता कृतिको नाममा किरात मिथक आएको थियो, दोस्रो कृतिमा त्यो ठाउँ पश्चिमा यात्रीले लियो । कविको भौतिक अवस्थितीले काव्य सिर्जनामा प्रवृत्तिगत परिवर्तन ल्याएको हो ?

जुन समय–परिस्थितिलाई नियालिएको हुन्छ, काव्य चिन्तन र लेखनमा तिनै विषय–सन्दर्भ आउनु स्वाभाविक हो । १० वर्ष अघि म जहाँ, जसरी बाँचेको थिएँ, त्यसपछिको भूगोल र समय फरक थियो । जीवनले जुन धरातल टेकेको हुन्छ, त्यही माटो र हावापानी उसको वरिपरि हुन्छ । आफंैमा समयको साँची भएकाले कविताले भूगोल, समय र परिस्थिति ओकल्ने गर्दछ ।

कविता जहिल्यै जीवनको सेरोफेरोमा रहन्छ, रहनुपर्दछ ।

 वेलायती डायस्पोराबाट न्युटनको बारीमा स्याउ फल्न छाडेको देख्नुभयो, यता मूलधार भनिने काठमाडौंको सिर्जनशीलतालाई कसरी हेरिरहनुभएको ?

आइज्याक न्यूटनले गुरुत्वाकर्षणको सिद्वान्त प्रतिपादन गरेपछिको समयमा स्याउ मात्र खसेन, मानव वस्तीहरुमा हजारांै टन गोला बारूद खसाउने कृत्यहरु पनि भए, अझै भइरहेछ । स्याउ खस्नु र अणु बम खस्नुमा भिन्नता कति छ ? यी दुई वस्तुको सापेक्षतामा तुलना हुनुपर्छ । काव्य चिन्तनले समाजको भलाइ हुनुपर्छ भन्ने आग्रह हो ।

जहाँसम्म मूलधार भनिने काठमाडौंको सिर्जनशीलताको प्रश्न छ, साहित्यमा मूलधार र किनार भन्ने हँुदैन । सत्ता र शक्तिको भरमा कोही मूलधार हुँ भन्छ भने उसको सिर्जनाको केस्रा केलाउनु आवश्यक हुन्छ । साहित्य सिर्जना शक्तिका आधारमा को अघि, को पछि भन्ने आम पाठक र समालोचकहरूको हेर्ने हो ।

 काठमाडौंले मोफसललाई मानेन, मूलधारले डायस्पोरालाई गनेन भन्ने जस्ता असन्तुष्टिमा तपाईको धारणा के हो ?

कुनै समय काठमाण्डू खाल्डोलाई मात्र नेपाल भन्ने गरिन्थ्यो । समय परिवर्तित हुँदै जाँदा हामी मेची–कालीबीचको नेपाललाई मनमा राखेर हिँड्ने भयांै । अहिले त नेपाल र नेपालीको परिचयमा विश्वभर फैलिएर बसिएको अवस्था छ । यो अवस्थामा भौगोलिक सीमाबन्धन आवश्यक देख्दिनँ । बरु, विश्वको जुनसुकै कुनामा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको विकाश गर्नु/गरिनुलाई नेपाल राज्यले सम्मान गर्नुपर्छ । नेपाली भाषा–साहित्य सम्बन्धी आधिकारिक निकायहरूमा डायस्पोरिक विभाग आवश्यक देख्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment