+
+

२ अर्ब लगानीमा अत्याधुनिक ब्लक उद्योग

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ११ गते १२:३३

११ पुस, बुटवल । रुपन्देहीका पाँचजना उद्यमीले २ अर्ब लगानीमा नवलपरासीको हकुइमा ब्लकलगायत निर्माण सामग्री उत्पादन गर्ने अत्याधुनिक उद्योग संचालनमा ल्याएका छन् । रामग्राम नगरपालिकाको १६ मा ६ बिघा क्षेत्रफलमा एशिएन कंक्रिटो प्रालि सञ्चालनमा ल्याएका हुन् ।

गएको साउनदेखि संचालनमा आएको उद्योगले अहिले व्यवसायिक उत्पादन शुरु गरिसकेको छ । उद्योगबाट कंक्रिट टायल (पेभर्स), ब्लक, इट्टा, कर्वस्टोन (रोड मिडियन) र होलोब्लक उत्पादन हुन्छ । यी सबै जर्मनीको मासा कम्पनीको स्वचालित मेसिनबाट उत्पादन हुन्छन् । उद्योगका प्लान्टहरुबाट हुने उत्पादन र उत्पादन इकाइहरुको जर्मनबाटै निगरानी हुने उद्योगका अध्यक्ष मनिष रुंगटाले बताए ।

प्रत्येक दिनको अपरेसन र उत्पादनको गुणस्तरको निगरानीका लागि उद्योगमा ३६ वटा क्यामरा जडान गरिएको छ । उद्योगलाई आवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा र ढुंगा ल्याबमा परीक्षणपछि जर्मनी पठाइने र त्यहाँबाट गुणस्तर स्वीकृत भएपछि मात्र उत्पादनमा प्रयोग गरिने उद्योगका सञ्चालक मनोज केडियाले जानकारी दिए ।

उद्योगले हाल दैनिक ५ सय टन उत्पादन गरिरहेको छ । उद्योगले प्रयोगमा ल्याउने कच्चापदार्थहरु ९० प्रतिशतभन्दा बढी स्वदेशकै हुन् । उद्योगका सबै उत्पादनहरुको कम्प्रेसिभ स्ट्रेन्थ एम ३५ भन्दा बढी हुने केडियाले बताए । एक सय ५० टनको प्रेसरले च्यापेर तयार गरिने हुंदा सो बराबरको तौलका सवारी साधन गुड्दा पनि आफ्ना उत्पादन टुटफुट नहुने पनि उद्योगले जनाएको छ ।

उद्योगका उत्पादनहरु आवासीय तथा व्यवसायिक भवन निर्माण, पार्किङ, सडक, कम्पाउण्ड, वेयरहाउस, ब्यापारिक मल, होटल तथा रिसार्टेहरुमा प्रयोगका लागि रुपन्देही, नवलपरासीसहित देशका प्रमुख शहरहरु काठमाडौं, पोखरा, नेपालगंज, चितवन, हेटौंडा, धनगढी लगायतमा क्षेत्रमा आपुर्ति भइरहेको उद्योगका संचालक राजेश अग्रवालले जानकारी दिए ।

उद्योगका उत्पादनको माग भारतका विभिन्न राज्यहरुमा भए पनि भन्सार नीतिका कारण निर्यात गर्न नसकिएको अग्रवालले बताए । भारतले यस्ता वस्तुको मूल्याङ्कन भारु ३ सय ५० रुपैयाँ प्रति वर्गफिट कायम गरेको छ । तर यस्ता वस्तुको वास्तविक मूल्य प्रति वर्गफिट ४० देखि ६५ रुपैयाँ भारु पर्न जाने उद्योगका सञ्चालक अनिल जाटियाले बताए । छिमेकी मुलुक भारतमा हालसम्म यस्ता उद्योग ३ वटा मात्र छन् ।

सरकारले भन्सार मूल्यांकनमा समन्वय गरेर सहज वातावरण गराइदिएमा भारतको दिल्लीसहित बिहार र उत्तर प्रदेशमा मात्र नभई बंगलादेश र भुटानमा पनि निर्यात गर्न सकिने उनले बताए । आफ्ना उत्पादनहरुको गुणस्तर मापन गरी सोका आधारमा राज्यबाट पाउनुपर्ने सहुलियत र सुविधा दिनुपर्ने उद्योगको माग छ ।

सरकारले विदेश निर्यातका लागि नीतिगत सहजिकरण गरेमा उद्योगले तत्काल थप २ अर्ब लगानी थपेर ठूला निर्माण आयोजनामा आवश्यक कंक्रिट संरचनाहरु उत्पादन गर्ने लक्ष्य लिएको अध्यक्ष मनिष रुंगटा बताउँछन् ।

उद्योगले भविष्यमा प्रिकाष्ट प्रोडक्टहरु कंक्रिट पुल, पर्खाल, नाली जस्ता संरचनाहरु उत्पादन गर्ने लक्ष्य लिएको उद्योगका सञ्चालक गौरव अग्रवालले बताए । उद्योगले अहिले एकसय ५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?