Comments Add Comment

एन्फा चुनावमा कर्माछिरिङले पैसा बाँडेको ‘प्रमाण’ सार्वजनिक

११ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावमा भ्रष्टाचार भएको दाबी गर्दै आएको मणि कुँवर समूहले ‘आर्थिक लेनदेनको अडियो’ सार्वजनिक गरेको छ । यससँगै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा गम्भीर विवादमा मुछिएका छन् ।

कुँवर निकट मानिएका काठमाडौं, ललितपुुर, भक्तपुर र धादिङका फुटबल संघका अध्यक्षाहरूले बुधबार पत्रकार सम्मेलन गरी अडियो सार्वजनिक गरेका हुन् ।

अडियोमा एन्फाका मानार्थ अध्यक्ष टासी घले, महासचिव इन्द्रमान तुलाधर, सदस्य मधुसुधन उपाध्याय, दिपक खाँती, दावा लामा र रविन्द्रमान जोशीबीचको संवाद रेकर्ड छ ।
अडियोको संवाद प्रष्टरुपमा आर्थिक लेनदेनमै केन्द्रित छ ।

टासी घले र दिपक खाति (मताधिकारप्राप्त धनुषा फुटबल संघका अध्यक्ष) बीचको संवाद

टासी घले: कसले दिएको हो ?

दिपक खाती: मसँग ७ लाख छ । मलाई दिइएकोमध्ये त्यसबेला १० लाख पठाएँ । त्यसबेला कर्माले ५ लाख समेत पठाएका थिए । सबै जोड्दा ११ लाख दिइएको थियो । झापा उपाध्यक्ष पंकजलाई ५ लाख ५० हजार दिइएको थियो । चुनावपछि ३ लाख ५० हजार दिइएको थियो । पुल्चोक क्लaका अध्यक्ष रविन्द्र जोशीलाई सुरुवातमा ४ लाख र त्यसपछि ९ लाख दिइएको थियो ।

पंकजले पनि उसलाई १ लाख र १० लाख दिएको थियो । १ लाख चाहिँ पंगजले बाटोमा खर्च गर्यो । पंकजले मलाई सिक्किमबाट फर्केपछि १५-१६ हजार दिएको थियो । मैले जम्मा ४ लाख ६० हजार फिर्ता पाएँ । कर्माले फेरि मलाई ३ लाख दिए । उनले मसँग पैसा फिर्ता समेत मागे ।

टासी घलेः कर्माले कसलाई पैसा दिन भने ?

दिपक खाती: पुल्चोक क्लवमा रविन्द्र र मधुसुदनलाई ३ लाख दिइएको थियो । झापाका उपाध्यक्ष पंकजले १० देखि २० हजार प्लेन टिकटका लागि खर्च गरे । मसँग ६० हजारको हिसाब छ ।

मधुसुधन र टासी घलेबीचको संवाद

मधुसुधन: हो मसँग प्रमाण छ । भैरहवा, पोखरा र चितवनका मानिसहरु हाम्रो सपोर्टमा यहाँ आएका छन् । सयौं मानिसले सयौंपटक भ्रमण गरे । कर्माले सबैका लागि हवाई टिकटको व्यवस्था गरे ।

टासीः तिमीले के माग गर्‍यौ ?

मधुसुधनः जो यहाँ आए, मैले उनीहरुलाई सक्दो मनोरञ्जन गराएँ । यतिबेला सबैले चुनाव जितेका छन् । त्यसबेलाको सबै खर्च कर्माले व्यहोरेका थिए । कर्माको आग्रहमा सबैलाई खुशी बनाएँ ।

टासीः कर्माले अहिलेसम्म तिमीलाई एक लाख मात्र दिएको हो ?

मधुसुधन: होइन, उनले मलाई तीन लाख दिइसकेका छन् । २ लाख अझै बाँकी छ ।

टासी घले र इन्द्रमानबीचको कुराकानी

इन्द्रमानः हो, दुई जनालाई दिइयो । एक जनालाई दिइएन । लक्ष्मण -निर्वाचन समितिका उपाध्यक्ष) लाई किन दिनुपर्‍यो ?

टासी: लक्ष्मण कि सुमन ?

इन्द्रमानः लक्ष्मण मणिको मान्छे हो । उसलाई दिनु आवश्यक छैन । अँ राजभाई -निर्वाचन समितिका उपाध्यक्ष) लाई दिइयो । १० हजार रुपैयाँ मैले आफ्नो खर्च गरेको छु ।

टासीः कर्माले दिएन त्यसो भए ?

इन्द्रमानः उसले ५० हजार दियो । ललितपुरमा मुद्दा दर्ता नगर्नु भनेर उसले ५ लाख दिएको थियो ।

टासीः ८ लाख कहाँ गयो त ?

इन्द्रमानः ८ लाख पुनरावेदनमा । त्यसपछि काठमाडौं जिल्ला अदालतमा अध्यक्ष बिराट -काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष) को मुद्दामा १२ लाख खर्च भएको छ ।

एन्फा चुनावमा कर्माको टिमले मणिको टिमलाई पराजित गरेको थियो । चुनावमा मतदातालाई प्रभावित पार्नका लागि यो सबै लेनदेन भएको कुँवर समुहको दाबी छ ।

पत्रकार सम्मेलनमा उपस्थित ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा भन्छन्, ‘हामीले प्रमाण भेटेपछि सार्वजनिक गरेका हौं । यो सुरुवात मात्रै हो ।’

यसबारे राखेप, युवा तथा खेलकुद मन्त्रालयका साथै फिफामा समेत जाने उनले बताए ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा निर्वाचन समिति, अदालतलाई र मताधिकारप्राप्त प्रतिनिधिलाई आर्थिक प्रलोभनमा पारेको आरोप लगाइएको छ ।

निर्वाचनभन्दा अगाडि मताधिकारप्राप्त व्यक्तिहरुलाई भारतका विभिन्न ठाउँमा लगेर क्लोज क्याम्प राख्ने, हवाई टिकट तथा अन्य अनियिमताका लागि ठूलो धनराशी खर्च गरेको आरोप लगाइएको छ । निर्वाचन समितिलाई ज्यान मार्ने धम्कीसमेत दिइएको समूहको दाबी छ ।

यसैगरी गैरनेपाली नागरिक नविन पाण्डेलाई नेपालको प्रतिनिधि बनाएर फिफाको कंग्रेसमा पठाइएको तथा रसियामा भएको विश्वकप २०१८ मा नेपालले पाएको टिकट विक्रीमा अनियमिता भएको विज्ञप्तिमा उल्लेख छ । ‘यस्तो अनियमितताबारे खेलकुद परिषदमा उजुरी गरे पनि हालसम्म त्यस विषयमा कुनै किसिमको अनुसन्धान तथा कारवाहीको प्रक्रिया अघि नबढाएकोमा हामी दुखी छौं,’ विज्ञप्तिमा भनिएको छ ।

के भन्छ एन्फा ?

अनियमितताबारे एन्फाका मानार्थ अध्यक्ष घलेसँग प्रश्न गर्दा उनले आफूले अडियो नसुनेको बताए । यद्यपि, एन्फाको चुनावका क्रममा ब्यापक अनियमितता भएको उनी स्वयम्को स्वकारोक्ति छ ।

एन्फाका अध्यक्ष कर्माछिरिङले भने यस विषयमा केही प्रतिक्रिया दिन चाहेनन् । महासचिव इन्द्रमान तुलाधरले पनि आफुले अडियो नसुनेको बताउँदै सुनेपछि मात्रै सबै कुरा थाहा हुने बताए । उनले भने, ‘मैले रेकर्ड सुनेको छैन । भएको हो भने हो भन्दिउँला । होइन भने होइन भन्दिउँला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment