Comments Add Comment

सौराहमा वनभोज खाएर रमाए ७९ हात्ती !

१२ पुस, चितवन । हिउँदको समयमा मानिसहरु प्राय फूर्सदिला हुने गर्दछन् । पिकनिक (वनभोज) जान होड नै चल्छ । नदी किनार, पार्क, सामुदायिक वन, वा खुल्ला क्षेत्रमा पिकनिक खान जाने र रमाउने गरेको पाइन्छ । तर, चितवनको सौराहामा भैरहेको हात्ती महोत्सवमा हात्तीहरुले वनभोज खाएर रमाएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका १८ हात्ती र सौराहाका व्यवसायीका ६१ हात्ती मिलेर पिकनिक खाएका हुन् । हरेक वर्ष सौराहामा हात्तीका लागि स्पेशल बनाएर आयोजना गरिने हात्ती महोत्सवमा हात्तीलाई सामुहिक पिकनिक खुवाउने गरिन्छ ।

अन्य समयमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पर्यटकहरुलाई बोकेर घुमाउन व्यस्त देखिने हात्तीहरु बिहीबार भने फूर्सदिला थिए । उनीलाई बिहीबार छुट्ट थियो, चाडपर्वमा विदा भए जस्तैं ।

यसपटकको हात्ती पिकनिक खान पहिलोपटक नयाँ ९ वटा हात्ती सहभागी भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

रत्ननगर नगरपालिकाका मेयर नारायण बनले हात्तीलाई सबैभन्दा मनपर्ने परिकार ‘कुची’ खुवाएर बनभोजको उद्घाटन गरेका थिए । त्यसपछि टाडमा लहरै बसेका हात्तीहरुले रमाउँदै मनपर्ने खानेकुराहरु खाए ।

हात्तीलाई मनपर्ने परिकारमा कुची, उखु, सखरखण्ड, वन्दा काउली, केरा सुन्तला खुवाए, महोत्सवमा सहभागीहरुले पनि ।

सयौंको संख्यामा हात्ती महोत्सव हेर्न आएका दर्शकले निकै रमाइलोसँग हात्तीहरुको बनभोज कार्यक्रम हेरेका थिए । विषेशगरी साना साना बालबालिकाहरु हात्तीको वनभोज देखेर उत्साही देखिन्थे ।

हात्ती बाथिङमा पूजाकली प्रथम

हात्ती महोत्सव अन्तर्गत आयोजना गरिएको हात्ती बाथिङ प्रतियोगितामा पूजाकली प्रथम भएको छ । गुलावकली द्धितीय र वसन्तीकली तृतीय भए ।

बाथिङ प्रतियोगितामा पाँच हात्तीको सहभागिता रहेको थियो । हात्तीले पानीमा बस्ने तरीका, उसको सुँडले पानी फाल्ने र पानीको बन्ने फोहोरा आदीको आधारमा बाथिङमा को उत्कृष्ट भयो भन्ने पत्ता लाग्ने महोत्सवका प्रवक्ता दीपक भट्टराईले जानकारी दिए ।

बिहीबार नै एनआरएन हंङकङ र युनाइटेड हात्ती सहकारी संघविच मैत्रीपूर्ण हात्तीपोलो खेल सम्पन्न भएको छ ।

महोत्सवमा भोलि शुक्रबार हात्ती छिटो हिँड्ने (हात्ती वाक) प्रतियोगिता, हात्तीको छावाको फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती शृङ्गार प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम रहने आयोजक क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

अंग्रेजी नयाँ वर्षको अवसर पारी आन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुनका लागि चितवन हात्ती महोत्सव आयोजना गरिएको हो । हात्ती महोत्सव पुष १५ सम्म चल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment