+
+

झापामा औद्योगिक ग्राम निर्माणका लागि जग्गा अधिग्रहण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १३ गते १५:०१

१३ पुस, विराटनगर । चिनियाँ लगानीमा झापामा निर्माण हुने औद्योगिक ग्रामका लागि जग्गा अधिग्रहण सुरु प्रक्रिया सुरु भएको छ । दमक नगरपालिका र कमल गाउँपाललिकामा पर्ने औद्योगिक ग्राम निर्माणका लागि व्यक्तिगत स्वामित्वको जग्गा अधिग्रहण सुरु गरिएको हो ।

दुई हजार दुई सय बिघा क्षेत्रफलमा निर्माण हुने औद्योगिक पार्कका लागि चार सय ११ बिघा जग्गाको मुआब्जा वितरण थालिएको छ । पहिलो चरणमा न्यूनतम् तीन कठ्ठादेखि बढीमा तीन बिघा १२ कठ्ठा १५ धुरसम्मको जमिनको मुआब्जा वितरण गर्न लागिएको हो ।

दमक नगरपालिका वडा नं. १० र कमल गाउँपालिकामा चीनले ३३३ अर्बको लगानीमा चीनले नेपाल औद्योगिक पार्क निर्माण गरिदिने सम्झौता यसअघि नै भएको थियो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले स्थानीयको नौ सय ४२ बिघा जग्गाको जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएको जानकारी दिए ।

व्यक्तिगत जग्गाको मुआब्जाका लागि ३२ करोड रुपैयाँ छुट्याइएको छ । पुरै चार सय ११ बिघा २ कट्ठा ४.२५ धुर जग्गाको मुआब्जा वितरणका लागि ४३ करोड रुपैयाँ आवश्यक हुन्छ ।

महाप्रबन्धक बस्नेतले भने ‘औद्योगिक पार्कका लागि जग्गा अधिग्रहण गर्ने काम प्रारम्भ भएको छ, अब औद्योगिक पार्क निर्माणले गति लिने छ ।’

जग्गाको दररेट कायम

जग्गा प्राप्ति ऐन अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नापी, मालपोतका अधिकृतसहितको सिफारिस समितिले जग्गालाई तीन किसिममा विभाजन गरी दररेट तोकेको छ ।

खेतीयोग्यका लागि प्रतिविघा २२ लाख रुपैयाँ, काँसघारीका लागि आठ लाख रुपैयाँ र खोला कुद्ने बगरका लागि दुई लाख रुपैयाँ प्रतिबिघा मूल्यांकन गरेको छ । प्रस्तावित पार्क निर्माणस्थलमा स्थानीयका २५ भन्दा बढी परिवारको घर र जग्गा परेको छ । उनीहरुलाई मुआब्जा दिएर त्यहाँबाट अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ ।

निर्माण हुने भनिएको औद्योगिक ग्राम रतुवा नदीको किनारमा रहेको छ । दमक, गौरादह र कमल गाउँपालिका क्षेत्र भएर बग्ने रतुवाधारको २३ सय विगाहा उकास जमिन रमा सामुदायिक वन क्षेत्रमा पर्छ ।

औद्योगिक पार्कका लागि नेपाल सरकारले जमिन, सडक, पुल पुलेसाको व्यवस्था गर्नुपर्नेछ भने बाँकी सबै काम चिनियाँ पक्षबाटै हुनेछ ।

औद्योगिक पार्कमा इलेक्ट्रोनिक, अटो मोवाइल्स, गार्मेन्ट, खाद्यान्न लगायतका उद्योगहरु स्थापना हुनेछन् ।

पार्कभित्रै स्कुल, बैंक, हस्पिटल, सपिङ मलसमेत रहने छन् । चीनले तेस्रो मुलुक निर्यातका लागि बहुराष्ट्रिय कम्पनी बनाएर नेपालमार्फत उत्पादित बस्तु निर्यात गर्ने तयारी गरेको छ ।

औद्योगिक ग्राम निर्माणले विदेशी लगानी आकर्षित गर्ने भन्दै दमक नगरपालिकाले १० वर्षसम्म कर नलिने घोषणा गरेको छ । योजना अनुसार दमकमा करिब एक सय उद्योग रहने छन्।

गत बर्ष नै अर्थात ०७४ साल वैशाखमा चीन र नेपालवीच झापामा औद्योगिक ग्राम निर्माण गर्ने सम्झौता भएको थियो । त्यसलगतै औद्योगिक ग्रामका लागि प्रक्रिया अगाडि बढेको थियो ।

औद्योगिक ग्राम निर्माण भए पश्चात त्यस क्षेत्रका झण्डै २ लाख मानिसलाई प्रत्यक्ष रोजगारी मिल्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?