+

उच्च रक्तचाप : १४ भ्रम र सत्यता

२०८१ जेठ  ६ गते ११:१५ २०८१ जेठ ६ गते ११:१५
उच्च रक्तचाप : १४ भ्रम र सत्यता

उच्च रक्तचाप अहिले आम समस्या नै बनेको छ । हरेक पाँच जनामध्ये एकजनामा उच्च रक्तचापको औषधि सेवन गरिरहेका बिरामी भेटिन्छन् । बिरामीको संख्या बढेसँगै सम्बन्धी व्यक्तिपिच्छे राय पनि सुनिन्छ ।

कतिपय भन्छन्, उच्च रक्तचापका बिरामीले यो खान हुन्न, त्यो खानुपर्छ ? यस्ता व्यक्तिलाई छिटो रिस उठ्छ ? तीतो खानेकुरा जति खायो त्यति रक्तचाप नियन्त्रण गर्छ ? लगायत यावत् कुरा धेरै सुनिन्छ । तर यस्ता कुरामा कतिको सत्यता छ त ?

यस्तै, उच्च रक्तचापसम्बन्धी केही भ्रम छन्, जुन पहिलेदेखि सुनिंदै आएको छ ।

भ्रम : तीतो खानेकुराले उच्च रक्तचाप नियन्त्रण गर्छ ।

सत्य : तीतो खानेकुराले उच्च रक्तचाप नियन्त्रण गर्छ भन्ने एउटा भ्रम मात्र हो ।

किनभने तीतो खानेकुराले केही क्षणको लागि मात्रै काम गर्छ । तीतो खानेकुरामा पोटासियम र म्याग्नेसियम हुन्छ । पोटासियमले शरीरमा भएको सोडियमलाई पानीको माध्यमबाट पिसाब बनेर बाहिर निकाल्छ । शरीरमा रगतको मात्रा कम गराएर धमनीको भित्तामा हुने चापलाई कम गर्छ । जसको असर केही समयको लागि मात्र हुन्छ ।  तर रक्तचापका बिरामीलाई औषधिले जस्तो तीतो खानेकुराले २४ घण्टा रक्तचापलाई नियन्त्रण गरेर राख्न सक्दैन ।

भ्रम : आयुर्वेदिक औषधिले उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

सत्य : धेरैजसो उच्च रक्तचाप भएका व्यक्तिले खाइरहेको औषधि खान छाडेर आयुर्वेदिक औषधि खाएको भेटिन्छ । सबै कुरा खाएर हेर्न सकिन्छ । तर यस्ता औषधिमा विना जानकारी भर परेर मात्र खानु उचित हुँदैन । किनभने धेरैजसो औषधिमा अध्ययन तथा अनुसन्धान भएका छैनन् । कुनै औषधि निश्चित मात्रा भन्दा बढी खानु हुँदैन । त्यसैले रक्तचापको स्तर अनुसारको मात्रा उल्लेख भएको र प्रमाणित औषधि चिकित्सकको सल्लाहमा खानुपर्छ ।

भ्रम : रक्तचाप छ तर लक्षण नदेखिएसम्म औषधि खानुपर्दैन ।

सत्य : यो रक्तचापसम्बन्धी ठूलो भ्रम हो । रक्तचापलाई ‘साइलेन्ट किलर’को समस्या पनि भनिन्छ । यो अर्थ रक्तचाप बढ्नेबित्तिकै लक्षण देखिहाल्छ भन्ने हुँदैन । रक्तचाप बढ्ने ५० प्रतिशतमा मात्र लक्षण देखाउँछ । यस्तोमा लक्षणको आधारमा औषधि खाने कि नखाने भन्ने हुँदैन । औषधि खाने कुरा रक्तचापको स्तर कति छ त्यसअनुसार तय हुन्छ । त्यसैले लक्षण कुरेर बस्नु हुँदैन ।

भ्रम : उच्च रक्त चाप भएका व्यक्तिले व्यायाम गर्न हुँदैन ।

सत्य : उच्च रक्तचाप भएका व्यक्तिले पनि व्यायाम गर्न सक्छन् । एरोबिक व्यायामले उच्च रक्तचापको स्तर घटाउन मद्दत गर्छ । रक्तचाप नियन्त्रणमा भएका व्यक्तिले व्यायाम गर्दा कोलेस्टेरोलको स्तर पनि सन्तुलनमा आउँछ । तर उच्च रक्तचापको स्तर अत्याधिक मात्रामा बढिरहेको अवस्थामा शरीरलाई भार पर्ने खालका व्यायाम गरेमा नाकबाट रगत बग्नेदेखि अन्य मुटुसम्बन्धी समस्या आउन सक्छ ।

यस्ता व्यक्तिको लागि हिंड्ने, दौडिने र अन्य मध्यम खालका व्यायाम गर्नु उपयुक्त हुन्छ । तर जस्तोसुकै व्यायाम होस्, एकपटक चिकित्सकको सल्लाह भने लिनैपर्छ ।

भ्रम : दैनिक हल्का वाइन पिउँदा उच्च रक्तचाप नियन्त्रणमा सघाउँछ ।

सत्य : उच्च रक्तचाप नियन्त्रणका लागि वाइन औषधि हुन्छ भन्नु पनि भ्रम हो । वाइन एक मदिराजन्य पेय हो । अन्य मदिराले झैं यसले पनि असर गर्छ । वाइनले मुटुको धमिनी रहेको मांसपेशीलाई असर गरी साँघुरो बनाउँछ, जसले मुटुलाई पम्प गर्न कठिन पार्छ ।

भ्रम : उच्च रक्त चाप भएकालाई बढी रिस उठ्छ ।

सत्य : उच्च रक्तचाप भएकालाई मात्र बढी रिस उठ्छ भन्ने हुँदैन । यो व्यक्तिको स्वभावमा र वरपरको वातावरणमा भर पर्ने कुरा हो । कहिलेकाहीं रिस अन्य लक्षण जसरी रिस र आवेग पनि देखिन सक्छ । त्यस्तै व्यक्ति शान्त स्वभावको छ । उसमा कुनै प्रकारको आवेग देखिंदैन भने पनि अन्य जोखिम कारक तत्वले उच्च रक्तचाप हुनसक्छ ।

भ्रम : उमेर कम हुँदा उच्च रक्तचाप देखिंदैन ।

सत्य : धेरैमा कम उमेरमा उच्च रक्तचाप हुँदैन । यो बुढ्यौलीमा मात्र यसको जोखिम हुन्छ भन्ने भ्रम छ । उमेर ४० काटेपछि उच्च रक्तचापको जोखिम बढी हुन्छ । यसको मतलव युवा उमेरमा हुँदैन वा हुनसक्दैन भन्ने होइन ।  उच्च रक्तचापले उमेर भन्दैन । विलाशीलता,  वंशाणुगत कारण, कम उमेरमै मिर्गौलामा समस्या, हार्मोनमा समस्या र अन्य कारणले युवा उमेरमै रक्तचापको स्तर बढ्न सक्छ ।

भ्रम : औषधि आजीवन खानुपर्छ ।

सत्य : उच्च रक्तचाप भइसकेपछि आजीवन औषधि खानुपर्छ भन्ने धारणा छ । यस्तोमा कति त औषधि सुरु गरेपछि सधैं खानुपर्ने झन्झट हुन्छ भनेर उपचारमै नगएको पनि देखिन्छ । तर यी कुरामा पूर्ण सत्यता छैन । औषधि चलाउनुपर्ने हो ? कति मात्राको दिनुपर्ने हो ? भन्ने कुरा रक्त चाप स्तर कतिको छ, त्यसमा भर पर्छ । कतिपय अवस्थामा औषधिबीचमै रोक्न सकिने अवस्था पनि हुनसक्छ ।

उदारहणका लागि एक व्यक्ति सुरुवातमा अस्पतालमा आउँदा रक्तचाप उच्च छ, तौल अत्याधिक बढी छ,  खानपिनमा खासै नियन्त्रण छैन, यस्तोमा औषधि चलाइयो ।

तर समय बित्दै जाँदा खानपिन नियन्त्रणमा राख्यो, व्यायाम ठीक मात्रा भइरहेको छ, तौल घटेको छ भने औषधिको मात्रा घट्ने हुनसक्छ । त्यसमा पनि जीवनशैली परिवर्तन लगातार भइरहेमा औषधि नै रोक्न मिल्ने अवस्था समेत आउन सक्छ ।

भ्रम : बुवामा उच्च रक्तचाप भएपछि सन्तानमा पनि शतप्रतिशत हुनसक्छ ।

सत्य : रक्तचाप पक्कै पनि वंशाणुगत रुपमा देखिन सक्ने सम्भावना बोकेको समस्या हो । तर परिवारमा बाबुआमामा देखिएको छ भने उनीहरुको सन्तानमा शतप्रतिशत हुन्छ नै भन्ने हुँदैन । यसरी अनुमान गर्नुभन्दा पनि बेलाबखतमा रक्तचापको स्तर मापन भने गर्न सकिन्छ ।

भ्रम : उच्च रक्तचाप नियन्त्रण गर्न नुन मात्र कम गरे पुग्छ ।

सत्य : उच्च रक्तचाप भएकाले खानामा नुन कम खान्छन्, जुन राम्रो पक्ष हो । ज्यादा नुन खाँदा कसैलाई पनि हानि गर्दैन । तर उच्च रक्तचाप भएको व्यक्तिले खानामा नुन कम गरेर मात्र नियन्त्रण हुँदैन । त्यसका लागि चिकित्सकले सिफारिस गरेको औषधि र जीवनशैली परिवर्तन गर्नै ठूलो औषधि हो । त्यस्तै नुन कम गर्ने भनेर खानामा मात्र कम गरेर हुँदैन । नुन प्याकेटमा राखिएका धेरैजसो खानेकुरामा हुन्छ । यस्ता खानेकुरा खरिद गर्दा वा खाँदा नुनको मात्रा कम गर्नु आवश्यक छ ।

भ्रम : उच्च रक्तचापको औषधि सुरु गरेपछि मनलाग्दी गर्न मिल्छ ।

सत्य : रक्तचापको औषधि खाएपछि खानपिनमा ध्यान नदिंदा पनि हुन्छ । जे चाहे त्यो गर्न सक्छु भन्ने भान पनि धेरैमा देखिन्छ । जुन गलत हो । औषधिले मात्रै रक्तचाप नियन्त्रण गर्न सक्दैन । औषधिसँगै मनलाग्दी खाने, तनाव लिने र विलासी जीवन बिताउँदा थप रक्तचाप बढ्न सक्छ । र, औषधिको मात्रा पनि थप बढाउनुपर्ने हुनसक्छ । त्यसैले, चिकित्सकले सिफारिस गरेको औषधिसँगै  चिन्तारहित जीवन अपनाउनुपर्छ, सुपाच्य खानेकुरा खानुपर्छ, सक्रिय जीवन बिताउनुपर्छ ।

उच्च रक्तचाप निको पार्न सकिन्छ

सत्य : यो समस्या नियन्त्रण हुनसक्छ तर निको पार्न सकिंदैन । कतिपय अवस्थामा चिकित्सकको सल्लाहमा खानेकुराको मात्रा मिलाएर, व्यायाम, योगा गर्ने र तनाव व्यवस्थापन गरेर पनि उच्च रक्तचाप नियन्त्रण भई औषधिको मात्रा कम गर्न र रोक्न सकिन्छ ।

औषधि रोक्नुको अर्थ उच्च रक्तचाप नियन्त्रण भएको हो, मुक्त भएको होइन ।

उच्च रक्तचाप डा. रोशन रावत दीर्घरोग
डा. रोशन राउत
लेखक
डा. रोशन राउत
वरिष्ठ मुटुरोग तथा मुटुको चाल विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४६६३ अध्ययन : एमबीबीएस, एमडी, डीआरसी, सीपीएस्सी फेलोसिप इन कार्डियाक एलेक्ट्रोफिजियोलोजी क्यानडा क्यानेडियन बोर्ड सट्रिफाइड मुटुचालसम्बन्धी विशेषज्ञ, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका पूर्वमुटुरोग विशेषज्ञ, हाल काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालका विभागीय प्रमुखको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय