Comments Add Comment

सिन्धुपाल्चोकको पुरानो अड्डामा पहिलो पटक स्थानीय सरकार

१६ पुस, सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–७ का ८४ वर्षीय डिलबहादुर प्रधानले धेरै पछि गाउँमा सरकारी मान्छे भेटे ।

पहिला आफ्नै गाउँमा पुरानो अड्डा हुदा सरकारी प्रतिनिधि देखेका प्रधानले त्यसपछि गाउँमा सरकार देख्न लामो समय कुर्नुपर्‍यो ।

हुन पनि घुम्थाङबाट पुरानो सदरमुकाम विस्थापित भएपछि यहाँ देखिने गरी पहिलो पटक स्थानीय सरकारलाई गाउँमा नै पाउँदा खुसी थिए । गाउँमा एक पटक जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको घुम्ती शिविरमा नागरिकता बनाएका घुम्थाङकै सार्की तामाङले पहिलो पटक स्थानीय सरकारका प्रमुखले उनको हातमा नै सामाजिक सुरक्षा भत्ता थमाइदिए ।

जनप्रतिनिधिले घर आँगनामा नै आएर वृद्धा भत्ता दिँदा घुम्थाङकी ल्याक्सी तामाङ औधी खुशी भइन् । गाउँमा सरकार आउने थाहा पाएपछि नातीको सहारामा सरकारलाई भेट्न आएकी तामाङलाई बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दोसल्ला ओडाएर सम्मानमात्रै गरेनन् नगद २५ सय पनि थमाए ।

गाउँमा यसअघि संघ संस्थाका प्रतिनिधि आएर विभिन्न सहयोग गर्ने गरे पनि सरकारकै प्रतिनिधि भने गाउँमा नआएका घुम्थाङका गणेशबहादुर प्रधानले बताए । सरकार हेर्न लठ्ठी टेक्दै सिन्धुपाल्चोकको पुरानो सदरमुकाम घुम्थाङको टुँडिखेलमा आएका वृद्धा मिठु प्रधान बेलुकी अबेरसम्म बसिन् अनि आफूले जिताएर पठाएका जनप्रतिनिधिसँग भलाकुुुसारी समेत गरिन् ।

बाह्रविसे नगरपालिकाले पहिलो पटक नगरस्तरीय एकीकृत घुम्ती सेवालिएर सिन्धुपाल्चोकको पुरानो सदरमुकाम बाह्रविसे नगरपालिका–७ घुम्थाङमा पुगेको थियो ।

नगरपालिकाबाट प्रदान गरिने स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिका समाजिक सुरक्षा, प्राविधिक, न्यायिक समिति, प्रहरी, बैंक, विद्यालय र वडा कार्यालयबाट हुने सेवाहरु एकीकृत घुम्ती शिविरमा स्थानीयलाई प्रदान गरिएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

घुम्थाङको जोमखोर भन्ने ठाउँबाट भैसीको नाम्लेको औषधीलिनकालागि सुकुमाया श्रेष्ठ तीन घण्टा पैदल हिडेर शिविरमा आएकी थिइन् । पशु शाखाबाट निःशुल्क औषधी पाएपछि खुसी हुदै भनिन् ‘यति औषधी लिनका लागि दिन माया मारेर बाह्रविसे जानु पर्ने थियो, यही पाएँ खुसी छु ।’

एकीकृत शिवीरमा २ हजार बढी स्थानीयलाई नगरपालिकाबाट प्रद्यानगरिने विभिन्न सेवाहरु प्रद्यानगरिएको बाह्रविसे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

नगरस्तरीय एकीकृत शिविर लिएर घुम्थाङ पुगेको टोलीले घुम्थाङका छ जना वृद्धालाई नगदसहित सम्मान गरेको थियो । सम्मानित हुनेमा ९९ वर्षीया ल्याक्सी तामाङ, सार्की तामाङ, गणेशबहादुर प्रधान, मिठु श्रेष्ठ, रत्नबहादुर प्रधान र डिलबहादुर प्रधान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment