Comments Add Comment

कागजमै बन्यो ९० लाखको पुल

१८ पुस, रौतहट । संघीय सरकारले पठाएको बजेटबाट गरुडा नगरपालिकामा निर्माण हुनुपर्ने तीन वटा पुलको भुक्तानी भइसक्यो तर, एउटा पनि पुल बनेको छैन ।

आर्थिक वर्ष ०७४/७५ मा वडा नम्वर १ र ६ मा साना पक्की पुल बनाउन नगरपालिकाले उपभोक्ता समितिहरुलाई ३० लाखका दरले भुक्तानी दिएको थियो । वडा नम्बर १ जयनगर टोलमा एउटा र वडा ६ को कार्यालय रहेको पोठीयाही र अमरपट्टी जाने सडकको नहरमा पुल बनाउन उभोक्ता समितिले भुक्तानी लिइसकेका छन् । तर, पुल बन्नुपर्ने ठाउँमा केही काम भएको छैन ।

सम्पन्न योजना निरीक्षणपछि मात्र भुक्तानी दिनु पर्नेमा नगर प्रमुख ईन्नु रायले आफू निकटहरुको उपभोक्ता समिति बनाएर सिधै रकम बाँडेको स्थानीयको आरोप छ । यसमा वडाध्यक्षहरुको पनि मिलिभगत रहेको उनीहरु बताउँछन् ।

उपमेयर रंगिला देवी जयसवालले काम नभएको योजनामा पुरै भुक्तानी दिनुले सिधै भ्रष्टाचार देखिएको बताइन् । उनका अनुसार, पुलको केही काम नभएको देख्दादेख्दै मेयर र प्रशासकीय अधिकृतले सुटुक्क रकम दिएका हुन् ।

उपमेयरले पोल खोलेपछि गरुडा नगरपालिका-६ को उपभोक्ता समितिले झिकिसकेको रकम बैंकमा दाखिला गरेको छ । उपमेयरले कागजमा पुल बनाएर भुक्तानी लिने/दिनेबारे सम्बन्धित निकायबाट अनुसन्धान गराउने बताइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले उपभोक्ता समितिहरुको खाता रोक्का गरिएको जानकारी दिए । ‘असार २७ मा सरकारले निकासा दिएको रकम नगरपालिकाले २९ गते उपभोक्ता समितिलाई भुक्तानी दिएको देखिन्छ,’ पन्थीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment