Comments Add Comment

प्रदेशसभामा उठ्यो नाम र नामाकरणसँगै मलबीऊका मुद्दा

१९ पुस, बुटवल । प्रदेशसभा ५ का सांसदहरुले प्रदेशमा मलको अभाव भएको विषयदेखि राजधानीको नामाकरण र स्थायी राजधानी तोक्ने बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै सांसदहरुले प्रदेश ५ का जिल्लाहरुमा मलको हाहाकार रहेको, प्रदेशको राजधानीको नामाकरण र स्थायी मुकाम तोक्न ढिलाई भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकको शुरुमा विशेष समय लिएर बोल्दै नेकपाका सांसद इन्द्रप्रसाद खरेलले प्रदेशभर अहिले मलको अभाव रहेको भन्दै किसानले सहज रुपमा मलखाद पाउने ब्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

उनले प्रदेशका सबै जनतालाई पायक पर्ने ठाउमा स्थायी राजधानी तोकिनु पर्ने माग समेत गरे । सांसद रमा अर्यालले नदीजन्य पदार्थको ठेक्का लगाउन ढिलाइ हुँदा अबैध रुपमा त्यसको चोरी निकासी भएकोले राज्यलाई प्रत्यक्ष घाटा भएको भन्दै छिटो ठेक्का लगाउने ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

प्रदेश सरकारका मुख्यमन्त्रीले नीति तथा कार्यक्रममा मोनो रेलको परिकल्पना अगाडि सारेको स्मरण गराउदै सो योजना के भइरहेको छ भन्ने बिषयमा सदनलाई जानकारी गराउन माग गरिन् । अर्का सांसद कृष्णध्वज खड्काले प्रदेशमा अत्यधिक मात्रामा चुन ढुंगा लगायतका खानीहरु रहे पनि त्यसको ब्यवस्थित रुपमा उत्खनन र समुचित उपयोग हुन नसकेको भन्दै उचित ब्यवस्थापन गरेर लाभ लिने ब्यवस्था मिलाउन माग गरे ।

त्यसैगरी विशेष समयमा बोल्दै सांसद भुवनेश्वर चौधरीले बर्दीयाको चेपाङ बस्तीको अवस्था दयनीय रहेको भन्दै सो बस्तीमा कम्तिमा गोरेटो बाटो,प्राथमीक स्वास्थ्य सेवाको ब्यवस्था मिलाउन माग गरे ।

सांसद दिनेश पन्थीले नवलपरासीको सुस्तामा भारतीय पक्षले नेपाली भूमि मिच्ने र नेपाली जनतालाई दुख दिदै आएको भन्दै सीमा बिवाद समाधानका लागि संघीय सरकारसँग समन्वय गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । अर्का सांसद सन्तोशकुमार पाण्डेले प्रदेशको नामाकरण र स्थान तोक्न सुझाव दिन गठित बिशेष समितिको कामप्रति टीका टिप्पणी नगरी सो विषयको टुंगो छिटो लगाउनुपर्ने भन्दै प्रदेशको नाम लुम्बिनी र राजधानी रुपन्देही राख्न माग गरे ।

उनले समितिले टुंगो लगाउन नसके प्रदेशसभामा मतदान गराएर भए पनि छिटो निर्णय लिनुपर्ने बताए । त्यसैगरी सांसद अष्टभूजा पाठकले भारतीय पक्षले रुपन्देहीको सीमा क्षेत्र मर्चवारमा बनाएको सडकका कारण त्यस क्षेत्रका जनता डुवानको समस्यामा पर्ने भन्दै समस्या समाधानको पहल गर्न माग गरे । सांसद कल्पना पाण्डेले वजेट कार्यान्वयन बारे मन्त्रालयहरुको प्रगति विवरण सार्वजनिक गर्न माग गरिन् ।

बिहीबारको प्रदेशसभा बैठकमा भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पेश गरेको मल ब्यवस्थापन सम्बन्धमा ब्यवस्थापन गर्न बनेको विधेयकमाथीको सैद्धान्तिक छलफलमा सहभागी हुदै सांसदहरुले जतिबेला किसानलाई जुन मल आवश्यक पर्छ त्यतिबेला सो मलको कृत्रिम अभाव हुने गरेको भन्दै सहज रुपमा किशानहरुले मलखाद र बिउविजन पाउने ब्यवस्था गर्नुपर्नेमा जोड दिए ।

सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरु फकरुद्धिन खाँन, पुष्पा थरुनी, खड्कबहाखुर खत्री फौजिया खातुनले सहभागिता जनाएका थिए । प्रदेशसभाले प्रदेशका जिल्ला सभा र जिल्ला समन्वय समिति सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक दफावार छलपलका लागि संसदको प्रदेश मामिला तथा कानुन समितिमा पठाउने प्रस्ताव पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment